देश विकासको काम गर्न नदिन कांग्रेसले एमालेमाथि ‘स्यालहुइँया’ मच्चायो : ओली (भिडिओ) – Nepal Press

देश विकासको काम गर्न नदिन कांग्रेसले एमालेमाथि ‘स्यालहुइँया’ मच्चायो : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिन कांग्रेसले आक्रमण गरिरहेको बताए । पशुपतिमा १०८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरू कता गए ? भन्दै ओलीले प्रश्न गरे ।

अहिले गिरीबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको ओलीले जिकिर गरे । वैचारिक संघर्ष गर्न नसक्नेहरूले एमालेमाथि प्रहार गरिरहेको उनको टिप्पणी छ ।

अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको तर फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको प्रष्ट्याए ।

ओलीको भनाइ जस्ताको तस्तै

हामी देशको निर्णय गर्ने ठाउँमा, निर्णायक ढंगले राष्ट्रको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता, हाम्रो स्वतन्त्रता, हाम्रा राष्ट्रिय हितहरु, त्यसको रक्षा गर्नसक्ने गरी, देशमा सुशासन गर्नसक्ने गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनसक्ने गरी भिजिनरी, देशभक्त जनपक्षिय, जनताको शक्तिलाई राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न चाहन्छौं । यही कुरा हुन नदिनका लागि हाम्रो बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झूटो बोल्ने यस्ता काम भएका छन् । अनेकथरी, एकपछि अर्को निस्किन्छ । एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो । अर्को करायो एउटा । कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता ?

अहिले गिरीबन्धु टि स्टेट भनेर जानेका छन् । कराएका छन् । गिरीबन्धु टि स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानून, नियमविना बलजफ्ती बिक्री गरेर खाएका थिए । तीनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौं, कानून बनाएपछि नियम कानूनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन् । केपी ओलीले त्यो र यो गर्‍यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । देश बनाउने कसरी त्यो आइडिया छैन । अनि एमालेलाई बदनाम गर्ने । यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि ! एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर