सहमति नजुटेपछि गुल्मी एमाले नेतृत्वको लागि निर्वाचन सुरू – Nepal Press

सहमति नजुटेपछि गुल्मी एमाले नेतृत्वको लागि निर्वाचन सुरू

रुपन्देही । नेकपा एमाले गुल्मीको १२ औँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेताहरूले सर्वसम्मत बनाउने प्रयास सफल हुन नसकेपछि बिहीबार साँझ मतदान सुरू भएको छ ।

मङ्गलवार सुरू भएको अधिवेशन बुधवार बिहानै बन्द सत्र सकिए पनि बुधवार र बिहीबार दिनभर सहमतिका लागि प्रयास गरिए पनि सम्भव नभएपछि अहिले साँझबाट मतदान सुरु भएको हो ।

अध्यक्षका प्रत्याशी निवर्तमान अध्यक्ष बालसिंह काउछा र हिरा एसी दुवै जना सहमतिमा आउन नसकेपछि सबै पदमा निर्वाचन भएको हो ।

बुधवार दुवै जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए । अध्यक्षसँगै अन्य पदाधिकारीमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । ७ सय प्रतिनिधि सहभागी अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष काउछा दोहोरिने तयारी गरे पनि युवा नेता हिरा एसीले बलियो दाबेदारी गरेपछि सहमतिको प्रयास गरेका नेताहरूलाई समस्या परेको हो।

उपाध्यक्षमा गणेश श्रीपाली र जीवन खरेलबीच प्रतिस्पर्धा रहेको छ । बुधवार उपाध्यक्षमा उम्मेदवारी दिएका चेतन बस्नेतले फिर्ता लिएपछि दुई जनाको मात्रै प्रतिस्पर्धा भएको हो ।

सचिवमा धर्म विश्वकर्मा र पदम अर्यालबीच प्रतिस्पर्धा रहेको छ । यसअघि सोही पदमा उम्मेदवारी दिएका गोविन्द गौतम, फर्सु ज्ञवालीले फिर्ता लिएका हुन् । उपसचिवमा खुलामा ओमबहादुर कार्की र चक्रबन्धु भुसालबीच प्रतिस्पर्धा रहेको छ । महिला उपसचिवमा भने लक्ष्मीदेवी पन्त निर्विरोध भएकी छन् ।

गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृह जिल्ला भएकाले जिल्ला तहमा दुवैले आफू निकटस्थलाई नेतृत्वमा पठाउन चाहेका छन् । ज्ञवाली नेता काउछालाई पुनः नेतृत्वमा ल्याउन चाहन्छन् भने विष्ट एसीलाई अगाडि बढाउने पक्षमा छन् ।

यहाँबाट केन्द्रीय नेतृत्वमा रहेका दुई नेताहरूले अलग अलग पात्र रोजेपछि यहाँबाट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका नेताहरू पनि यसैगरी बाँडिएका छन् ।

बुधवार रातीसम्म बिहीबार दिनभर सहमतिका लागि एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल सहितका नेताहरूले सहमतिको प्रयास गरे पनि केही टुंगो नलागेपछि निर्वाचन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर