राजनीतिभन्दा फिल्ममा काम गर्न सजिलो : कंगना
काठमाडौं । कंगना रनौतले सन् २००६ मा फिल्म ‘ग्याङ्स्टर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । इन्डस्ट्रीमा १८ वर्ष पूरा गरेपछि कंगना राजनीतिमा प्रवेश गरिन् ।
हिमाचलको मण्डीबाट सांसद निर्वाचित कंगना रनौतले भर्खरै एक अन्तर्वार्तामा आफ्नो डेब्यू फिल्म ‘ग्याङ्गस्टर’ पछि राजनीतिमा आउने प्रस्ताव आएको खुलासा गरेकी छन् ।
हिमाचल पोडकास्टसँग कुरा गर्दै कंगनाले भनिन्, ‘मलाई राजनीतिमा आउन अप्रोच गरिएको यो पहिलो पटक होइन । मेरो डेब्यु फिल्म ‘ग्याङ्स्टर’ पछि मलाई टिकटको अफर आयो । मेरो परिवार पनि राजनीतिमा निकै सक्रिय छ ।’
उनले २०१९ मा पनि अप्रोच गरिएको बताइन् । ‘यदि म यसका लागि तयार नभएको भए यति धेरै समस्याको सामना गर्नुपर्दैनथ्यो । म यसलाई ब्रेकको रूपमा मात्र हेरिरहेको छैन। यो धेरै गाह्रो निर्णय थियो’, उनले भनिन् ।
मण्डीका जनताले मलाई यो अवसर दिएका छन् किनभने उनीहरूलाई भ्रष्टाचारीहरूबाट जोगाउने व्यक्ति चाहन्छन्। म तिनीहरूलाई निराश गर्नेछैन। कगंनाले भनिन् ।
राजनीति भन्दा चलचित्रमा काम गर्न सजिलो छ
राजनीति र अभिनयबीच सन्तुलन कायम गर्ने कुरा गर्दै कंगनाले भनिन्, ‘म आफ्नो प्यासन फलो गर्ने व्यक्ति हुँ। म फिल्म इन्डस्ट्रीमा अभिनेता, लेखक, निर्देशक र निर्माताको काम गरिसकेको छु । त्यसै गरी राजनीतिक करियरमा जे गर्न सकिन्छ त्यही गर्नेछु ।
उनले भनिन्, ‘राजनीति गर्नुभन्दा फिल्ममा काम गर्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ । यहाँ धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’
कंगनाले यसअघि नै राजनीतिको लागि फिल्म छाड्ने संकेत पनि गरिसकेकी छिन् । तर, कामको सन्दर्भमा उनको अर्को फिल्म ‘इमर्जेन्सी’ हो । यसमा उनी देशका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यो फिल्म कंगना आफैँले निर्देशन गरेकी हुन् ।