एमालेको एकमात्र महिला अध्यक्ष लक्ष्मी भन्छिन्- चिया गफमा प्रश्न उठाउँछन्, पार्टी कामले जवाफ दिनेछु – Nepal Press

एमालेको एकमात्र महिला अध्यक्ष लक्ष्मी भन्छिन्- चिया गफमा प्रश्न उठाउँछन्, पार्टी कामले जवाफ दिनेछु

नेकपा एमालेको जिल्ला अधिवेशन सक्किने चरणमा छ । ६० भन्दा बढी जिल्लामा नयाँ नेतृत्व आउँदा कञ्चनपुरमा मात्रै महिलाले अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी छन् । सर्वसम्मत अध्यक्ष चयन भएकी नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मी बुढाले नेपाल प्रेससँग आफ्नो योजना र चुनौतीबारे संक्षिप्त कुरा गरेकी छन् ।

लक्ष्मीको भनाइ उनकै शब्दमा

म २०५२ सालदेखि स्कूल कमिटीबाट नेकपा एमालेमा प्रवेश गरेको हुँ । पार्टीको सिद्धान्त बुझ्ने क्रममै थिएँ । २०५३ सालमा बिहे भयो । त्यसपछि परिवारको जिम्मेवारी पनि भयो । यद्यपि राजनीति भने छाडिनँ । एमालेकै महिला संगठन अखिल नेपाल महिला संघको गाउँ, इलाका, जिल्ला हुँदै केन्द्रीय कमिटीमा आवद्ध भएँ । अहिले पनि अनेमसंघ केन्द्रीय कमिटीको स्थायी कमिटी सदस्य हुँ ।

महिलाको कमिटीमा हुँदाहुँदै पनि विस्तारै जिल्ला कमिटीमा पनि सक्रिय हुन थालेँ । छैठौँ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्य भएँ । सातौँ जिल्ला अधिवेशनमा पनि जिल्ला कमिटी सदस्य र आठौँ जिल्ला अधिवेशनमा निर्वाचित जिल्ला उपाध्यक्ष भएँ ।

लगातार पार्टीको जिल्ला कमिटीमा काम गरेको र आफ्नो क्षमताको कारणले मेरो अहिले अध्यक्ष हुने पालो थियो । साथीहरूले स्वीकार गर्नुभयो र मलाई सर्वसम्मत अध्यक्षमा चयन गर्नुभयो । तर, सजिलै भने यो अवस्था आएको होइन । निकै मेहनतपछि उहाँहरुले मलाई जिल्लाको नेतृत्व दिन तयार हुनुभएको हो ।

जिल्ला अध्यक्ष चयन भएपछि चिया गफहरूमा अझ पनि यसले सक्छे त भनेर प्रश्न गरिरहेको थाहा पाउँछु । मेरो ठाउँमा पुरुष अध्यक्ष भएको भए सक्छे त भन्ने प्रश्न आउँदैन थियो, चिया गफमै उठेको भएपनि महिला भएकोले उठेको प्रश्न हो । यद्यपि, म मेरो पार्टीलाई यो कार्यकालभरी कस्तो बनाउने भन्नेमा प्रष्ट छु । अघिल्लो अधिवेशनमा आन्तरिक पार्टी चुनाव, नेकपापछि फुट लगायतका कारणले बाझिएको मन लामो समयसम्म मिल्न नसकेको कारण जिल्लामा हामी पहिलो पार्टी बन्न सकेनौँ । अब मेरो एउटामात्रै लक्ष्य छ, पार्टीले दिएको लक्ष्य पूरा गर्ने । पार्टी बनाउन लाग्नेहरूलाई सम्मान गर्ने र नयाँ सदस्यहरुलाई एमाले कस्तो पार्टी हो भनेर बुझाउने । एमाले संगठनमा विश्वास गर्ने पार्टी हो । म संगठन निर्माणमा नै लागेर पार्टी बनाउन मेरो कार्यकाल खर्च गर्नेछु ।

अहिले कञ्चनपुरमा १२० सदस्यीय कार्य समिति छौँ । हामी ९ वटा पालिका कमिटीको अधिवेशनमा पनि छौँ । ३ वटाको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकीको पनि अधिवेशन प्रकृया चल्ने क्रममा नै छ । अहिलेको निर्वाचनमा ५ हजार ७ सय ५६ जना संगठित सदस्य हुनुहुन्छ । म मेरो कार्यकालभरी जिल्लामा मतदाताको कम्तिमा ६ प्रतिशत सदस्य बनाउने भन्ने अभियानमा नै लाग्नेछु ।

तीन क्षेत्रमध्ये प्रतिनिधिसभामा एउटामा मात्रै एमालेले जितेको छ । ६ वटा प्रदेशमा पनि एउटामा मात्रै जितेको अवस्था अहिले हो । अब मेरो लक्ष्य थोरै थोरै मतले हारेका क्षेत्रहरुमा एमाले कस्तो पार्टी हो, यसले कसरी जनताको जीवनस्तर सुधार्न सक्छ भनेर थाहा दिने । पार्टी संगठन बलियो बनाएर जिल्लामा पहिलो पार्टी बनाउने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर