अमरेशले खोजे खानेपानी र सञ्चारमन्त्री, रमेशले भने- मन्त्री अनुपस्थित हुने माननीयले दु:ख पाउनुपर्ने ? (भिडिओ)
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अहिले सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ।
आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल चलिरहेको छ।
चार मन्त्रालयमाथि छलफल चलिरहेको भए पनि खानेपानी मन्त्री राजेन्द्रकुमार राई र सञ्चारमन्त्री रेखा शर्मा सदनमा अनुपस्थित भएपछि सांसद अमरेशकुमार सिंहले प्रश्न उठाए ।
उनले भने, ‘उहाँ खानेपानी र सञ्चार मन्त्री हुनुहुन्न कहाँ हुनुहुन्छ ? चार मन्त्रालयको छलफल छ दुईवटा मन्त्रालयको मात्रै गरौँ दुईको अर्को दिन गरौँ। बिनामन्त्री कसरी छलफल हुन्छ ।’
उनले छलफलमा मन्त्री खोजेपछि सभामुख देवराज घिमिरेले सिंहलाई रोक्न आग्रह गर्छन् ।
उनले भन्छन्, ‘मन्त्रीजीहरु यही परिसरभित्रै हुनुहुन्छ ? आइदिनुस् भन्छन् ।’
त्यसपछि कांग्रेसका रमेश लेखकले मन्त्री अनुपस्थित हुने सांसदले दु:ख पाउनुपर्ने भन्दै प्रश्न उठाउँछन् ।
उनले भन्छन्, ‘हामी ५/६ घण्टासम्म छलफलमा छौँ। मन्त्रीजीहरू पनि लगातार बस्न गाह्रो भएको छ। किन नियम संशोधन गर्नपर्यो। माननीय वक्तालाई अडाइराख्ने फेरि बेठिक हो। त्यो होइन। बरु मन्त्रीहरूलाई आलोपालो गर्नुपर्यो। मन्त्री अनुपस्थित हुने माननीयले दुख पाउनुपर्ने यो उल्टो भयो जस्तो लागेको छ। यो करेक्सन गर्नुपर्यो।’
त्यसपछि रोष्ट्रममा उभिएर मन्त्री खोजिरहेका सांसद सिंहले आफूले बोकेको समय मात्रै काट्न आग्रह गर्छन्।
लगत्तै सभामुखले यो परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको सदनलाई जानकारी गराउँछन्।
उनले भने, ‘यसलाई व्यवस्थित गर्नको लागि माननीय सदस्यहरू सबैले ध्यान केन्द्रित गर्नको लागि अनुरोध गर्छु। यो परिस्थिति आउन नदिन सबैलाई सहयोगको अपेक्षा गर्छु। मन्त्री आएपछि छलफल अगाडि बढ्छ।’
सदनमा सभामुखले ध्यानाकर्षण भएको जानकारी गराउँदै गर्दा मन्त्रीहरू छलफलमा प्रवेश गरेपछि बैठक अगाडि बढेको छ।