रविविरुद्ध दाइ हरिशरणको चर्को आक्रोश: उसले अमेरिकामा स्यान्डविच बेचेर ल्याएको लोकतन्त्र हो ? – Nepal Press
नेपाल टक

रविविरुद्ध दाइ हरिशरणको चर्को आक्रोश: उसले अमेरिकामा स्यान्डविच बेचेर ल्याएको लोकतन्त्र हो ?

‘उससित राजनीति गर्ने नैतिकता छ भने सरेन्डर गर्नुपर्छ, होइन भने पतन हुन्छ’

काठमाडौं । गृहमन्त्री रवि लामिछाने र उनका दाइ हरिशरण लामिछानेबीचको व्यक्तिगत सम्बन्ध फेरि तिक्ततापूर्ण बन्न पुगेको छ । रवि दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा बस्दा दाइ हरिशरण उनको कटु आलोचकका रुपमा प्रकट भएका छन् ।

हुन त रविको शपथग्रहण समारोहमा हरिशरण पनि सहभागी भएका थिए, तर त्यसयता रविले आफ्नो कुरा नसुनेको र आफूलाई वास्ता नगरेको भन्दै हरिशरण असन्तुष्ट बन्न थाले । अहिले भने असन्तुष्टिको पारो उत्कर्षमा पुगेर आक्रोशमा परिणत भएको छ । उनी रविको नामै सुन्दै भड्किने स्थितिमा पुगेका छन् ।

हरिशरणले आज बिहानै फेसबुकमा एउटा स्टाटस लेखेका थिए । त्यसमा उनले लेखेका छन्, ‘बालेन, हर्क, गोपी अनि हरिशरण, बन्नेछ एक दिन यो देशमा नयाँ र भव्य समीकरण ।’

यो स्टाटसबारे प्रष्ट्याउन उनलाई फोन गर्दा हरिशरण सीधै रविमाथि खनिए । उनले रविको पृष्ठभूमि, कार्यशैली, आचरणदेखि शैक्षिक योग्यतामा समेत प्रश्न उठाए ।

कडा शब्द प्रयोग गर्दै हरिशरणले भने, ‘मौका पाउँदा नागरिकता नै बेचेर जानेले के राष्ट्रियताको कुरा गर्ने ? यस्ता देश बेचुवालाई म भाइ पनि भन्न चाहन्न ।’

हरिशरण र रवि साख्खै दाजुभाइ हुन् । तीन दाजुभाइमा हरि जेठा र रवि कान्छा । अहिले धेरैले हरिलाई रविको दाजु भनेर चिने पनि सञ्चार क्षेत्रमा उनको आफ्नै नाम छ । उनी रेडियो नेपालका पुराना समाचारवाचक हुन् । ३५ वर्षदेखि रेडियो नेपालमा कार्यरत उनी असारबाट रिटायर्ड हुँदैछन् । अब राजनीतिमा होमिने उनको योजना देखिन्छ ।

त्यसो त हरिशरणले दुई वर्ष अगाडि नै ‘परिवर्तन सम्भव छ’ को नारा लिएर राजनीतिमा हाम्फाल्ने तयारी गरेका थिए । २०७८ सालको चुनावमा काठमाडौं ३ बाट उम्मेदवारी दिने उनले घोषणा पनि गरेका थिए, तर पछि ब्याक भए ।

याे पनि पढ्नुस् : हरिशरणले काठमाडौं-३ बाट उम्मेदवार दिने, दाजुभाइ नै बन्लान् प्रतिस्पर्धी ?

निकटस्थहरुका अनुसार हरि र रविबीच पहिलेदेखि नै न्यानो सम्बन्ध छैन । रवि अमेरिकाबाट फर्केर सञ्चार क्षेत्रमा लागेर छिट्टै लोकप्रियताको शिखरमा पुग्दा दाजुमा लघुताभासले डेरा जमाएको नजिकबाट चिन्नेहरु बताउँछन्, तर आपसी सम्बन्ध सुमधुर नहुनुको कारण योमात्र नहुन सक्छ ।

रविले टेलिभिजनको जागिर छोडेकोमा हरिशरण सन्तुष्ट थिएनन् । रवि राजनीतिमा आउने बेला भएको छैन भनेर उनले त्यसबेला अभिव्यक्ति दिएका थिए । रविले आफूलाई संसदीय चुनावमा सघाए हुन्थ्यो भन्ने हरिशरणको चाहना थियो, तर रवि आफैं पार्टी खोलेर चुनावमा होमिए । रविले राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण गरेपछि हरिशरण पनि एउटा महत्वपूर्ण जिम्मेवारी लिएर त्यसमा समावेश हुन इच्छुक थिए । उनले रविसँग आफ्नो इच्छा पनि राखे, तर रविले ‘परिवारवाद’ को आरोप लाग्ने भन्दै दाजुलाई पार्टीमा भित्र्याउनै इन्कार गरे ।

रास्वपामा आफूलाई ढोका बन्द गरिएपछि हरिशरण भाइसँग निकै चिढिए । त्यसपछि उनले धारावाहिक रुपमा फेसबुक स्टाटस र युट्यूबहरुमा अन्तर्वार्ता दिएर रविको आलोचना गरेका थिए ।

त्यसबेला उनले फेसबुकमा व्यंग्यात्मक टिप्पणी गर्दै लेखेका थिए, ‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला । पछि आपसी मायाप्रेममा परी बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुनसक्छ है । ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला ।’

याे पनि पढ्नुस् : रविले दल घोषणा गरेपछि दाइ हरिशरणको तीतो प्रतिक्रिया- आजीवन त्यसमा लाग्दिनँ

दाइले सार्वजनिक रुपमै बारम्बार आलोचना गर्न थालेपछि रविलाई चुनावमै प्रभाव पर्ने डर भयो । अन्ततः उनले दाइसँग संवाद गरेर सहमति जुटाए । हरिशरण आफ्नो उम्मेदवारी घोषणाबाट ब्याक हुन तयार भए । यद्यपि, उनी त्यसबेला रविको चुनावी अभियानमा भने सामेल भएनन् ।

रविविरुद्ध नागरिकताको विवाद र मुद्दा परेपछि दाजुभाइको सम्बन्धमा ट्विस्ट आयो । हरिशरणले खुलेर भाइलाई साथ दिए । अदालतको फैसलापछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन जाँदा दाजुभाइ सँगै देखिएका थिए । त्यसताका हरिशरणले भाइको समर्थन र बचाउमा थुप्रै स्टाटस लेखेका थिए ।

याे पनि पढ्नुस् : रविले नागरिकता लिएपछि दाइ हरिशरण भन्छन्- कानुनले दिए चितवन- २ को उपनिर्वाचनमा लड्छ

चितवनमा भएको उपनिर्वाचनमा हरि प्रचार अभियानमै संलग्न भए । रविले अघिल्लो चुनावमा भन्दा धेरै भोट ल्याएर चुनाव जितेका थिए ।

पछिल्लो पटक रवि गृहमन्त्री नियुक्त हुँदासम्म पनि दाजुभाइको सम्बन्ध राम्रै थियो । हरिशरण रविको शपथग्रहण समारोहमा सहभागी भएका थिए, तर के कति कारणले हो, एकाएक रविसँग हरिशरण विरक्तिएका छन् । नेपाल प्रेससँगको टेलिफोन कुराकानीमा उनले गगन थापाको भन्दा पनि चर्को स्वरमा रविको आलोचना गरे ।

हरिशरणसँग गरिएको संवाद

– तपाईंले आज लेख्नुभएको स्टाटसलाई अलिकति प्रष्ट्याइदिनुस् न, के बालेन-हर्कहरुसँग कुनै समझदारी भएको छ ?

मैले स्टाटस लेख्नैपर्ने भो, बोल्नैपर्ने भो । मैले अरुसँग समझदारी भएर चाहिँ होइन, आफ्नै हिसाबले लेख्या हो । स्वतन्त्र अभियानको आविष्कार गर्ने हामी हौं । यो कुरा पोलिटिकल्ली गयो ठीकै छ, नयाँ फोर्स आयो भनेका थियाैं, तर यो फोर्स चाहिँ काम न काजको र अर्थ न बर्थको भयो । यो फोर्सले परिवर्तनलाई अवरुद्ध गरिरहेको छ ।

– रास्वपा अध्यक्ष गृहमन्त्री रवि लामिछाने त तपाईंको आफ्नै भाइ हुनुहुन्छ । फेरि दाजुभाइको सम्बन्ध बिग्रिएको हो ?

सम्बन्ध सप्रिने र बिग्रिने सवाल होइन । यहाँ कुनै दाइभाइको कुरा छैन । एकपछि अर्को काण्ड, अनेक किसिमका लफडा, जालसाँझी, यस्ता कुरालाई राखेर कसैले गर्व गर्नु जरुरी छैन । म परिवारको सदस्य हो, तर मलाई गर्व होइन, लाज लागेको छ ।

– यसरी सार्वजनिक रुपमा तीतो पोख्नुभन्दा आफूलाई लागेको कुरा भेटेर सम्झाउँदा राम्रो हुन्थ्यो होला नि ?

के सम्झाउनु ? सम्झिने मान्छे हो र ? मेरो सम्झाउने हैसियत छ र ? ‘परिवारवाद नगर्ने’ भनेपछि म त्यहाँ जानुको कुनै तुक पनि छैन, नम्बर एक । मलाई उसको पार्टीमा बसेर कार्यकर्ता बन्ने चाहना पनि होइन । म जिन्दगीभर कहिले पनि जान्न भनेको छु त्यो पार्टीमा । जाँदै जान्न सक्किगो । एगेन एगेन कुरा गर्नै परेन ।

– तपाईंहरुको भेटघाट र कुराकानी हुँदैन ?

अहँ हुँदैन । मसित भेटियो कि तर्केर हिँड्छ । मसित तर्क गर्न सक्दैन । किनभने ऊ गलत छ ।

– गलत भन्नाले के कुरामा ?

यत्रो चिजहरु आइरहेको छ, मैले भन्नुपर्छ र ?

– सहकारी विवादको सन्दर्भ कि समग्रमै गलत भन्न खोज्नुभएको हो ?

म पहिलेदेखि नै स्वतन्त्र अभियानमा लागेको मान्छे हुँ । स्वतन्त्रको नाममा उसले खोलेको पार्टीले हाम्रो अभियानको सेन्टिमेन्टलाई सिज ग¥यो, तर डेलिभरी दिन सकेन । हावा गफ धेरै भयो । झूटको खेती धेरै भयो । नयाँ जेनरेसनलाई यही कुरा सिकाउने हो भने त्यो बहुतै गलत हुन्छ ।

अहिलेको प्रक्रिया, बाटो, काम गराइ केही पनि चित्तबुझ्दो छैन । जनतालाई सोध्दा हुन्छ । फेक नाममा सोसल मिडियामा आफ्ना पाल्तु कुकुरहरु पालेर १० किसिमका गाली गर्ने काम भएको छ । नेपाली सञ्चारमाध्यममाथि नचाहिँदो आवेश पोख्ने काम भएको छ । यसैका लागि लडेर ल्याएको हो लोकतन्त्र ? उसले ल्याएको हो डेमोक्रेसी ? स्यान्डविच बेचेर यो देशमा प्रजातन्त्र आएको हो ? जुन तत्वसँग पैंठाजोरी खेल्नुपर्थ्यो, जुन कुराको विरोध गर्नुपर्थ्यो, त्यसैका टाङमुनि छिर्ने कस्तो सिद्धान्त हो यो ? यस्तो सिद्धान्तलाई कसैले स्वीकार गर्नसक्छ ? म दाइभाइ भनेर स्वीकार गर्दिनँ । ल, म पनि परिवारवादको विरोधी । ऊसित मेरो लेनादेना छैन, तर प्रक्रियागत रुपमा नेपालीलाई अत्यन्त ठूलो धोका भइरहेको छ ।

मौका पाउँदा नागरिकता नै बेचेर जान सक्छ भने उसले के राष्ट्रियताको कुरा गर्ने ? शक्तिको आडमा आफ्नो सारा इभिडेन्सहरु लुकाउने र मेटाउने कुरा गर्छ भने ऊ कसरी राष्ट्रप्रेमी ? कानून सबैलाई बराबरी होइन ? नयाँ शक्ति आएको भनेर पब्लिकले सपोर्ट गरेको छ । हामी त कोही पनि होइनौं, गँवार हौं । एसएलसीभन्दा माथि सर्टिफिकेट देखाउन सक्छ कि सक्दैन हेर्नुस् एकचोटि । वेबसाइटमा राख्या छ कि छैन ? आईए पास गरेकोमा डाउट छ ।

अमेरिका गएर स्यान्डविच बेच्नेले देश हाँक्नसक्छ कि सक्दैन ? मान्छे अमेरिका जाँदैमा विद्वान हुने हो र ? के काम गर्‍यो ? कुन युनिभर्सिटीमा पढ्यो ? मेरो छोरो अमेरिकामा आईएमएफमा पीएचडी गरेको डाक्टर छ । यसरी मैले परिवारलाई हुर्काएको छु । धेरै माथिल्लो पोस्टमा बसेर काम गरेको छु, तर नेपालको नागरिकता छोडेको छैन । यस्ता देश बेचुवालाई म भाइ भन्न चाहन्नँ । आई डन्ट वान्ट ! टसल पर्छ भने परोस् । कुस्ती खेल्नुपर्ने होइन । विचारको द्वन्द्व हो । मेरो लजिकमा म एकदमै सही छु ।

– तपाईंहरुबीच भेटघाट र संवाद नभएको कति समय भयो ?

एक वर्ष भयो संवाद नभएको ।

– पछिल्लो भेट कहिले भएको थियो ?

भेट त बेलाबखत हुन्छ । भेट्दाखेरि यसो हेल्लोहाइ मात्र हुने हो । नेपालको सञ्चार क्षेत्रले जन्माएको होइन रवि लामिछाने ? हरि लामिछाने त्यही सञ्चार क्षेत्रको रिभोलुसन गरेर आएको व्यक्तित्व होइन ? मलाई दाइ पनि फटाहा भन्छन् । भाइले फट्याइ गर्‍यो भनेर पब्लिकले मलाई ठगको दाइ भनेर ट्याग गर्न मिल्छ ? के ठग्द्याछु मैले ? नेपाल सरकारमा ३५ वर्ष काम गरें । एक पैसा भ्रष्टाचार गरेको छैन । बरु ३ करोड ५० लाखभन्दा बढी त मेरो ऋण होला । कहाँ ठग्या छ ? कि त मान्छेलाई उद्धार गरेको छ ? कति इस्यू रेज गरेको छु ।

– पहिले पनि उहाँलाई चर्को गाली गर्नुभएको थियो । फेरि बीचमा मिल्नुभयो । अहिले फेरि के भयो ?

अहिले पनि साथ दिन्छु राम्रो कुरामा, तर गलत कुरामा किन दिने ? यो अहं र दम्भसँग म सम्झौता गर्दिनँ ।

– तपाईं अब आफैं राजनीतिमा आउन लाग्नुभएको हो ?

मे बी ! आइ डन्ट नो ! असारबाट रेडियो नेपालको जागिर सकिँदैछ । अब म एउटा फ्रिलान्स भएर बस्छु । यिनका पार्टीमा जान्नँ । जिन्दगीभरि जान्न भन्या छु । लेखेरै राखे हुन्छ ।

– अरु कुनै व्यक्तिगत कारणले दाजुभाइको सम्बन्ध बिग्रेर अहिले यति उत्तेजित बन्नुभएको त होइन ?

अरु कारण के छ र ! उसले उसको गरेर खाएको छ, मैले मेरो गरेर खाएको छु, तर मैले हरेक किसिमका प्रतिक्रिया र रेस्पोन्सहरु दिइरहनु परेको छ । भाइ मन्त्री छन्, दाइ यसो गरिदिनुपर्‍यो, उसो गरिदिनुपर्‍यो भनेर आउँछन् । मैले भनेको छु कि मेरोतर्फबाट केही पनि हुँदैन ।

– मन्त्री भएपछि एकचोटि पनि भेट्न जानुभएन ?

गएँ जान त ! अस्ति शपथग्रहणमा बोलाएको थियो । पारिवारिक हिसाबले सहभागी भएँ, तर मेरो र उसको पोलिटिकल कुरा मिल्दैन । म जे गर्न चाहिरहेको हुन्छु, ऊ चाहँदैन । किनभने उसको लाइन फरक छ, मेरो लाइन फरक छ । म अलिकति कडा छु । सैद्धान्तिक हिसाबले दृढ छु । ऊ कम्प्रोमाइज गर्छ । यो समीकरण र डर्टी पोलिटिक्स नभइद्या भए कुनै हैसियतले आउन सक्ने मान्छे हो ऊ ? आजीवन संघर्ष र जेलनेल गरेर बसेका मान्छे कहाँ छन् ?

– अहिले भाइले के गर्दा ठीक हुन्थ्यो जस्तो लाग्छ ?

उसले सरेन्डर गर्नुपर्छ पहिले ।

– भन्नाले पदबाट राजीनामा ?

त्योमात्र होइन, पुरै सरेन्डर । ममाथि छानबिन गर भनेर सबै छोड्नुप¥यो । म डेमोक्रेट हुँ भनेरमात्र हुन्छ ? व्यवहारमा उतार्न सक्नुपर्‍यो नि ! आफू बच्न जबरजस्ती रातारात समीकरणहरु बदलेर, जनतालाई झूटा आश्वासन दिएर, देशलाई गुमराहमा राखेर तिगडम गर्नु जरुरी छ ? अरु मान्छे छैनन् यहाँ ? यो तरिका भएन । समीकरण मिलाउने अंकगणितका लागि जन्मेको हो रास्वपा ? प्रचण्ड र ओलीको तेल लगाउन बनेको पार्टी हो ? जनताले म्यान्डेट त्यसैका लागि द्या हो ? सरासर धोकाधडी भइरहेको छ जनतालाई ।

– तपाईंले दिनुभएको सल्लाह उहाँले नमान्नुभएको हो ?

होइन, मेरो सल्लाह दिन त हैसियत नै छैन नि ! मलाई भेट्न आएर सल्लाह माग्यो भने पो दिने हो । होइन भने मैले भन्ने त मिडियाबाटै हो । फेसबुकबाटै हो ।

उसको नजरमा नेपालको सम्पूर्ण पत्रकारिता नै मेरो खुट्टामा आउनुपर्छ भन्ने छ त ! यस्तो अधिनायकवादी सोच कसले सिकायो ? अमेरिका जस्तो देशमा बसेर यहाँ मान्छेको डिमान्ड हुन्छ ? स्यान्डविच बेचेर गृहमन्त्री बन्न सकिन्छ ? यो देशका १७ हजार मानिस र १३ हजार वैदेशिक रोजगारमा गएका मान्छेको लागि प्रधानमन्त्री कार्यालयमा मैले प्रस्ताव हाल्या छु । यो कुरा मैले गोप्य राख्या थिएँ । हामीले यसरी भित्रभित्र काम गर्‍या छौं । अनि यो क्षमता बाहिर पब्लिकले थाहा पाउलान् भन्ने हिसालबले इग्नोर गर्दै जान खोजेको हो ।

म त घरायशी मान्छे । दुई पैसा भ्रष्टाचार गर्‍या छैन । पाउरोटी खाएर हुर्केको हुँ । यिनलाई पढाएँ । यिनी जस्ता पाँच जना मान्छेलार्ई घरबाट पढाएँ । गार्जियनसीप दिएँ । यहाँ त मतलबै छैन । हुन्छ नि सरोकार ! हुन्छ कि हुँदैन ? चिन्दै नचिनेको मान्छे मन्त्री बन्दा त थर मिल्यो भने लौन यसो भन्दिनु हुन्छ कि भन्छन् । मलाई भन्छन् नि मान्छेले । मैले त सबै एभोइड गरेको छु । तैपनि उनका छौंडाहरुले किन मलाई ठगको दाइ भन्या ? मैले ठगी गर्‍या हो ? बेइज्जत भएपछि बोल्नुपरेन ? मैले कसको के ठग्या छु ?

– तपाईं आफैंले भाइलाई ‘ठग’ भनिसकेपछि तपाईं ‘ठगको दाइ’ त भइहाल्नुभयो नि ? तपाईं आखिर दाइ नै हो ।

मैले ठग भन्या छैन । अरुले ठग भनिराख्या छन् भनेको । ठगी गर्‍यो कि गरेन भन्ने त छानबिनबाट देखिएला नि ! त्यत्रो सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा हाल्या होइन र ? ह्वाट इज त सोर्स अफ द मनी ? जीबी राईसँग पार्टनरसीप गरेकै हो नि ! मान्छेको अर्बौं रुपैयाँ डुबेको छ । जिम्मेवारी त लिनुपर्‍यो नि ! अमेरिकामा बसेर आएँ भन्दैमा नेपालको संविधान नलाग्ने हो र उसलाई ? उसले सरेन्डर गर्नुपर्छ । हि ह्याज टु सरेन्डर । उससित राजनीति गर्ने नैतिकता छ भने सरेन्डर गर्नुपर्छ, होइन भने पतन हुन्छ ।

उता लगानीकर्ताको विचल्ली, यता टेलिभिजनमा पत्रकार अलपत्र परेका छन् । अनि, उसलाई सलाम गरेर हिँड्नुपर्ने ? म सलाम गर्दिनँ । कि कसो हो तपाईं नै भन्नुस् न ?

– हो हुन त । तैपनि दाजुभाइ यसरी फुट्नु त राम्रो होइन नि ?

एक हातले ताली बज्दैन । के संकेत बुझ्नुपर्‍यो भने ए दाइ पनि अभियानमा लाग्या थियो, उसको पनि केही इन्ट्रेस्ट होला । यत्रो ३५ वर्षसम्म सिंहदरबारभित्र बस्दा मैले राजनीति नगरे पनि त्यो युनिभर्सिटीमा त मसित धेरै खजाना होला । भोलिका दिनमा देखिन्छ । विद इन वान मन्थ प्रेस मिट गर्छु । मेरा कुरा अझै स्पष्ट पार्छु । हु आई एम, मेरो क्षमता के हो देखाइदिन्छु ।

हिजो मान्छेहरु झुक्किए । ‘नो नट एगेन’ भनेर पुरानालाई पाखा लगाउलान् भन्ने सोचें, तर एउटाले अर्कोलाई दुश्मनी साँध्ने राजनीति हुन थाल्यो । इन्डियामा जस्तो बार्किङ जर्नालिज्म सुरु भयो । चिच्याउने, कराउने र माल झार्ने भनेर आएका छन् नि कुराहरु ! यस्तोलाई प्रश्रय दिने हो ?

आफूविरुद्ध लेख्यो भनेर प्रतिशोध साँध्न खोज्ने ? कैलाश (सिरोहिया)सित बहुत राम्रो दोस्ती छ । मैले दोस्ती गर्न पाउने कि नपाउने ?

– तपाईंलाई भाइको प्रगतिमा आरिस गरेको भनेर पनि सोच्छन् नि धेरैले ?

कसरी आरिस हुन्छ ? म न पार्टीमा छु न त मन्त्री बन्ने लाइनमा । न मलाई राजदूत चाहिएको छ न त प्रमोसन । उसले राम्रो गरेको भए मलाई त गर्व लाग्थ्यो होला नि ! यति छिट्टै किन पतित भो भनेर पो चिन्तित छु । मेरो पनि नाम जोडियो, बुवाको नाम जोडियो । कसले गर्दा ?
नयाँ नयाँ फन्डा देखाएरमात्र हुन्छ ? मापसे गर्नेलाई सडकमा ट्राफिकको काम लगाउन कुन कानूनले दिन्छ ? मन्त्री भएँ भन्दैमा आदेश दिएर चल्ने जंगबहादुरको समय हो ? बरु सक्छौ भने कु गरेर देखाउ । शासन हत्याउने मन छ भने प्रचण्डलाई थुनेर कु गर न ! अनि म मान्छु मेरो भाइलाई । आँट छ ? नैतिकता छ ?


प्रतिक्रिया

3 thoughts on “रविविरुद्ध दाइ हरिशरणको चर्को आक्रोश: उसले अमेरिकामा स्यान्डविच बेचेर ल्याएको लोकतन्त्र हो ?

  1. एउटै आमाका सन्तान भनेर कहाँ हुन्छ र ? सुनौं त कुरा मिस्टरका । शिरोहियाले भाइ विरूद्व युज गरेको जस्तो लाग्यो ।

  2. No way, this Harisharan is a stupid chap. Dai ko naam ma kalanka. Yesto dai samaj ko laagi ghatak. 100 percent Rabi le pariwarbad lai ignore garda ko result dekhincha.

  3. रवि सरले त्यत्रो अवसर र करिअर छोडेर देशको अवस्थाको कारण राजनीति समाल्ने चेष्टा गर्नुभएको छ। आफ्नै दाजु को बाट परिचालित भएर यस्तो कुरा गरेको होला !
    मन नपरे चुप लागेर आफ्नै काम गरे हुन्छ नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर