सत्तारुढ सांसद भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानको आपत्ति
काठमाडौं । एमाले सांसद भिम आचार्यले संसद बैठकमा बोलेको कुरालाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आपत्ति जनाएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले आंशिक सत्यता समेत नरहेको झुटो र कपोलकल्पित कुरा बोलेर सांसदले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।
संसद बैठकमा आक्कलझुक्कल मात्र बोल्ने आचार्यले गत बुधबार क्यानमाथि आर्थिक अनयिमितताको आरोप लगाउँदै छानबिन माग गरेका थिए । क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको दाबीसमेत उनको थियो ।
आचार्यले बोलेका कुरा यस्ता थिएः
अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशीघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् ।
जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हटाएर किन टीम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् ।
डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आईसीसीले अस्वीकार गर्यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठूलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैधरुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहीन ढंगले बिक्री गरी हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् ।
अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ । आईसीसी टी–ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुर्याउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।
आचार्यले बोलेको तीन दिनपछि वेस्ट इन्डिजमा रहेका क्यान अध्यक्ष चन्दले विज्ञप्ति जारी गरेका हन् । नेपालले दोस्रो पटक विश्वकप खेलिरहेको ऐतिहासिक क्षणमा खेलकुदसँग सम्बन्धित केही संस्था, व्यक्ति तथा मिडियाले भ्रम सिर्जना गर्ने प्रयास गरेको उनको गुनासो छ ।
‘यहाँसम्म कि कुनै पनि आंशिक समेत सत्यता नभएको झुटो र कपोलकल्पित बुँदाहरु नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमराहमा राख्नुका साथै आफुले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ’, चन्दले भनेका छन् ।
नेपाल क्रिकेट संघको नाममा कोही कसैले क्रिकेटको हकहित विरुद्ध कुनै गैरकानूनी काम कारबाही गरेमा कानूनबमोजिम सजाय हुने उनले बताएका छन् । तर हुँदै नभएको झुटा तथा कपोलकल्पि कुरा गरीमामय सदनमा सांसदले उठाउँदा सम्मानित सदन, सांसद स्वयम् तथा नेपाली क्रिकेटको गरिमा घटाएको उनको टिप्पणी छ ।
‘नेपाली क्रिकेटप्रति सम्पूर्ण नेपालीहरूको माया र विश्वासले नेपाल क्रिकेट टिमले भावी दिनहरूमा अझ धेरै प्रगति गर्दै जानेछ र यस्ता भ्रामक तथा कपोलकल्पित कुराहरूले नेपाल क्रिकेट संघ तथा खेलाडीहरू विचलित नहुने जानकारी गराउँदछौं’, चन्दले भनेका छन् ।
हेर्नुस विज्ञप्तिः