रुसी फौजले किभ कब्जा गर्न चाहेको होइन: पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजले युक्रेनको राजधानी किभ कब्जा गर्न कहिल्यै नचाहेको उल्लेख गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार सन् २०२२ फेब्रुअरीमा किभ नजिकै रुसी सेना आउनुको कारण चैँ युक्रेनी राष्ट्रपतिलाई वार्तामा ल्याउन भएको पुटिनले तर्क गरेका छन् ।
शुक्रबार रुसका शीर्ष कूटनीतिज्ञहरुसँगको कुराकानीमा पुटिनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘विचार नहुनेहरुले जे भने तापनि ३० लाख जनसंख्या भएको शहर (किभ)मा हमला गर्ने कुनै राजनीतिक योजना बनेको थिएन ।’
सन् २०२२ मार्च २९ मा रुसी फौजलाई किभबाट फिर्ता बोलाउनुको राजनीतिक कारण भएको पुटिनले बताए ।
उनले पश्चिमा देशहरुले टाउकोमा गन राखेर राजनीतिक वार्ता नहुने भनेपछि राजनीतिक समाधानको लागि सेना फिर्ता गरिएको उनले तर्क गरेका छन् । तर, यसलाई मस्कोले गरेको राजनीतिक सहुलियत नभएर रुस युद्धमा हारेर भागेको अर्थ पश्चिमा देशहरुले लगाएको पुटिनले बताएका छन् ।