‘म्यानमारको जुन्ता सरकारले युवालाई समाउँदै सैनिक बनाउँछ, दर्जनौं नेपाली भाषीको ‘हत्या’ भइसकेको छ’ – Nepal Press
नेपाल टक

‘म्यानमारको जुन्ता सरकारले युवालाई समाउँदै सैनिक बनाउँछ, दर्जनौं नेपाली भाषीको ‘हत्या’ भइसकेको छ’

म्यानमारकी सुधा भन्छिन्- सर्वस्व गुम्दा पनि नेपाली भाषा र संस्कृति जोगाइराखेका छौं

काठमाडौं । उनी नेपाली नागरिक होइनन्, तर नेपालका बारेमा जानकार छिन् । उनको राष्ट्रियता नेपाली होइन, तर उनको मातृभाषा नेपाली हो । उनी हुन् म्यानमारकी सुधा ।

युद्धको जानकारी दिने गरी सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नेमध्ये एक हुन्, सुधा आत्री। नेपाली भाषी बर्मेली महिला विद्रोही आत्रीको वास्तविक नाम अर्कै छ, उनी यही नाममा सामाजिक सञ्जालमा सक्रिय छिन्।

साहित्यमा कोमल देखिने उनी म्यानमारको सेनाले सत्ता कब्जा गरेर जनतालाई दुःख दिन थालेपछि भने धारिला पोस्ट थर्न थालेकी छन् । सुधा सामाजिक अभियानमा पनि जुटेकी छन्, त्यसैले आफ्नो पूरा परिचय खुलाउन चाहँदैनन् उनी ।

नेपाल प्रेससँग अडिओ र इमेल कुराकानी गरेकी सुधा सबै प्रश्नको उत्तर दिन तयार भइन्, आफ्नो म्यानमारको जागिर र थर ठेगाना भन्न तयार भइनन् । भनिन्, ‘सबै कुरा खुलाउन मिल्दैन ।’

सुधाले म्यानमारका नेपाली भाषी नागरिकको समुदायबाट उठेको भाषा र संस्कृतिप्रेम, म्यानमारबाट थाइल्याण्डमा सरेको नेपाली पहिचान, म्यानमारको सेनाले गरेको कू र त्यसमा उठेको नागरिक प्रतिरोधको कुरा खुलेर गरेकी छन् । उनै सुधा अत्रीसँग नेपालप्रेसले गरेको कुराकानी नेपालटकमा

– तपाईं म्यानमारको नेपाली मातृभाषी हुनुहुन्छ । नेपाली म्यानमारको सरकारी भाषा होइन । यसको विद्यालय तहमा पढाइ पनि हुन्न । तपाईंले नेपाली भाषा कहाँ सिक्नुभयो ?

दशकौंअघि गाँस, बास र सुख-सुविधा खोज्दै नेपालीहरू उबेलाको बर्मा अर्थात् हालको म्यान्मा देशमा आएका थिए । म्यान्मा पनि नेपाल जस्तै उर्बर छ । अनेकौं पीडा खप्दै म्यान्मा छिरेका नेपालीहरूले जंगल फाँड्दै, पहाड खन्दै, गाईभैंसी पाल्दै, मन्दिर बनाउँदै सानो नेपाल स्थापना गरेको सग्लो इतिहास छ ।

अर्को कुरा हाम्रा पुर्खाहरू आफूमात्रै म्यान्मा आएका थिएनन्, उनीहरूले सँगसँगै नेपाली सभ्यता पनि ल्याएका थिए । मातृभाषा नेपाली र सनातनी संस्कृति मेटिए, नेपाली जाति मेटिन्छ । हाम्रा भावी सन्ततिहरू विश्वको दाँजोमा कमजोर हुनेछन्, पहिचानविहीन हुनेछन् भन्ने डर थियो, तर शिक्षाको आवश्यकता, जागरुकता र नयाँ चेतना फैलाउन जापानीकाल पर्खिनुपर्‍यो । सन् १९४२ वा १९४३ देखि म्यान्माको कचिन र श्यान राज्यका विभिन्न स्थानमा प्राथमिक तहका नेपाली पाठशालाहरू खोलिए । नेपालीसहित अंग्रेजी भाषा पढाइन्थ्यो । श्यान राज्यमा माध्यमिक तहको पाठशाला खोलियो । कचिनको ताचाङ, मोगोकको बर्नाडमा संस्कृत पनि पढाइन्थ्यो ।

सन् १९६२ मा म्यान्माको सैन्य सरकारले पहिलो पटक ‘कू’ गरेपछि त्यो काम बीचमै रोकियो । क्रूर सेनाले सरकारी स्कूलबाहेक अन्य कुनै पनि जातीय पाठशालामा पढाउन नपाइने निर्णय लियो । जुन्ताको बर्मा भाषालाई मात्र मान्यता दिने सरकारी निर्णयले एकाएक हाम्रा सपनाहरूलाई लथालिंग बनायो, तर हाम्रा अग्रजहरूले हिम्मत हार्नुभएन । भाषा मेटिए, जाति मेटिन्छ भन्ने नारा लिएर घरघरमा नेपाली भाषा बोल्नैपर्ने उर्दी जारी गरियो । भाषा बचाउन घरघरबाट नै शिक्षा दिइन्थ्यो । घरमा पढाउन नसके बालबालिकालाई घर नजिकैको मन्दिर वा पण्डितकहाँ पठाउँथे ।

म्यान्माको पहिलो पुस्ताले छोरीहरूलाई गीता, नीति श्लोक, छोरीलाई अर्ती जस्ता पुस्तकहरू कण्ठस्त गराउँथे । छोरालाई रुद्री, ज्योतिष, गीता, नीति श्लोकहरू कण्ठ गराउँथे । विवाहमा दोहोरी श्लोक मनोरञ्जनात्मक प्रतियोगिताहरू राखि नेपाली भाषालाई बचाएका हुन् । पूजाआजामा भजनकीर्तनको प्रतियोगिता अहिले पनि कायमै छ ।

राजनीतिक रुपमा सैन्य परिषद् क्रूर भए तापनि धार्मिक मान्यता चाहिँ दिन्थ्यो । त्योबेला निष्पट्ट अँध्यारो, निराशामा आशाको किरण देखाप¥यो । फलतः सन् १९६८ पछि म्यान्माभर साना-ठूला मन्दिरहरू निर्माण हुँदै गरियो । सेनाले दिएको छुटलाई सदुपयोग गर्दै शैक्षिक कार्यहरू मन्दिरको प्रांगणबाट पूरा हुँदै आए । यसरी सन् १९६६ मा नाउँछो नगर लोखुमा रामेश्वर विद्यापीठ, सन् १९६७ मा मखान्तिस्थित श्री राधाकृष्ण विद्यापीठ, सन् १९७० मा यक्सकस्थित सरस्वती संस्कृत विद्यापीठ नामले संस्कृत विद्यालय खोलियो । यो कार्यले म्यान्माको नेपाली जीवनमा साहित्यिक जग पनि बसाल्यो ।

सन् १९७० को दशकअघि संस्कृत पाठशालालाई छोडेर हेर्ने हो भने नेपाली पाठ्यपुस्तकहरूको सर्वथा अभाव भयो । नेपाली जनमानसले फेरि अर्को डरको सामना गर्नुप¥यो, तर सन् १९७४ वा १९७५ मा श्यान राज्यका युवाहरू जागरुक भई नेपाली समाजको उत्थानमा लाग्नुभयो । सन् १९७८ मा म्येम्योको प्रतिनिधि धर्मसभाले नेपाली शिक्षा बाँड्ने कार्यलाई देशव्यापी बनाउनू भनेर निर्णय गरेपछि नवयुवाहरूले त्यो कदमलाई साथ दिए ।

अब रह्यो शैक्षिक जागरणको कुरा ! म्यान्मामा माटो र पानीसँग सुहाउनेगरी धर्म र धर्ममा आधारित सामग्री राखेर साउँ अक्षरदेखि कक्षागत रुपमा कक्षा दशसम्मका पुस्तकहरू तयार गरियो । यो सशक्त अभियानलाई युवाहरूको सहयोगमा पण्डित ठाकुरप्रसाद गुरागाईंले अगुवाइ गर्नुभयो । उहाँको जोडतोड मेहनतद्वारा सम्पादित नेपाली हिन्दू धर्म शिक्षा नामको पाठ्यपुस्तक बनाइएको थियो । त्यसैबेला म्यान्माको नेपाली समाजले अर्को एउटा उपलब्धि पनि हासिल गर्‍यो । त्यो के भने सन् १९८२ मा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धामिक संघ नामक नेपालीहरूको भरपर्दो छत्रछायाँ सरकारले रजिष्टर गरिदियो । अर्को छुटाउनै नहुने कुरा हो, दुबसुको । सन् १९९५ पछि म्यान्माका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले म्यान्माका नेपालीलाई नेपालको साहित्य जगतसँग जोड्न सेतुको काम गर्नुभएको छ ।

म्यान्माको सरकारी स्कूलमा वर्षको ९ महिना लगातार अध्यापन हुन्छ । नयाँ शैक्षिक सत्रमा चाहिँ तीन महिना बिदा हुन्छ । त्यो वसन्तकालीन समय भने नेपाली पाठशालाको समय हो । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धामिक संघले सन् १९९१ देखि म्यान्माको सरकारी स्कुल बिदा भएको (मार्च, एप्रिल र मे) तीन महिनालाई सदुपयोग गरेर नेपाली भाषा पढाउँदै आएको हो ।

संघअन्तर्गत शिक्षा विभागले कक्षा १ देखि १० सम्मको नेपाली पाठ्यपुस्तकको सम्पूर्ण जिम्मेवारी लिएको छ । विभागले देशव्यापी आवश्यक पाठ्यपुस्तक निःशुल्क वितरण गर्दैआएको छ । म्यान्मामा छरिएर बाँचिरहेका प्रत्येक नेपाली बालबालिकाले लगभग तीन दशकदेखि नै नेपाली भाषा, साहित्य, धार्मिक, सामाजिक, नैतिक शिक्षाहरूलाई मन्दिर प्रागणमा पढ्दै आएका छन् ।

नेपाली साहित्य पठनपाठनमा मात्र सीमित छैन । छापाखानाको अभाव हुँदा पनि हस्तलिखित एकल पत्रिकाले समेत इतिहास रचेको छ । अखिल म्यान्मा हिन्दू धर्म सेवक संघको माध्यमबाट वार्षिक दृष्टि पत्रिका, अखिल म्यान्मा हिन्दू धामिक संघको छत्रछायामा नेपाली समाजमाझ विभिन्न कालखण्डमा धर्मवाणी, ऐरावती, धर्मोदय जस्ता धार्मिक र साहित्यिक त्रैमासिक पत्रिका प्रकाशित भएका छन् ।

संस्कृत पाठशालाको संयोजनमा प्रज्ञादीपिका साहित्यिक पुस्तिका, मोगोकबाट कोसेली पत्रिका, टमूबाट गोमा नदीको छेउ र सूर्यमुखी जस्ता साहित्यिक पत्रिका निस्किनुलाई म्यान्माको नेपाली समाजले ठूलो उपलब्धिको रुपमा लिएको छ । टमू क्षेत्रको दिवा पाठशाला, मोगोक, मचिना र प्यींउल्वींमा पनि नेपाली साहित्य डिप्लोमा तहसम्म पढाउँदै आएका छौं । म्यान्माका नेपालीहरूले दशकौंदेखि धर्मशिक्षाको नाउँमा नेपाली भाषा, साहित्य, धर्म-संस्कृति, सामाजिक र व्यवहारिक शिक्षा मन्दिरको प्रांगणबाट लिँदैआएका छौं ।

– तपाईंले जस्तै म्यानमारमा कति नेपालीहरू नेपाली पढ्न र लेख्न सक्नुहुन्छ ?

सदियौंदेखि म्यान्माको भूमिमा बसोबास गर्दैआएका म्यान्माली ७० प्रतिशत नेपालीले सामान्य नेपाली भाषा बोल्न, पढ्न र लेख्न सक्छौं । जातीय संघसंस्थाहरू नहुँदैदेखि नै नेपाली भाषाको अध्यापन हुन्थ्यो । त्यो समय नेपाली भाषा व्यवस्थित ढंगले अध्यापन नभए पनि कखरा र सामान्य पाठ अध्यापन हुन्थ्यो नै । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धामिक संघअन्तर्गतको केन्द्रीय शिक्षा विभागको तथ्याङ्कअनुसार वसन्त पाठशालामा एक सालमा १५ हजार विद्यार्थीलाई नेपाली साहित्य अध्ययन गर्छन् । जति विद्यार्थीहरू माध्यमिक र उच्च माध्यमिक तहमा पुग्छन्, त्यति नै विद्यार्थीको संख्यामा कमी पक्कै आएको छ ।

म्यान्मामा प्रकाशित हुने नेपाली पत्रपत्रिकाका अनुसार नियमित साहित्य रचना गर्ने व्यक्ति लगभग सयको हाराहारीमा हुनुहुन्छ, तर अन्तर्राष्ट्रिय र नेपालको नेपाली समुदायको दाँजोमा म्यान्माको प्रतिनिधिको रुपमा चिनिएका साहित्यकारहरू भने हातका औंलामा गन्न सकिन्छ ।

देशको पछिल्लो अवस्थाले पनि हाम्रो ठूलो युवा जमात थाइल्याण्डतिर पलायन भइरहेको छ । त्यहाँ पनि नेपाली साहित्यले आशा लिइरहेको छ । थाइल्याण्डको नेपाली साहित्य म्यान्माबाटै सरेको भन्दा फरक पर्दैन । कतिपय युुवाहरू विद्यार्थी जीवनमा साहित्य रचनामा लागे पनि विस्तारै हराउँदै गइरहेको भान भइरहेको भने छ । आफ्नो घरपरिवारको जिम्मेवारीको कारणले हो वा अन्य कुनै करकापले हो, उहाँहरू नेपाली साहित्य रचनाबाट टाढिँदै गए जस्तो लाग्दैछ । अझ भन्ने हो भने नारीहरू विवाहको बन्धनमा बाँधिएपछि साहित्य रचना क्षेत्रबाट टाढिएको महसुस गर्दै आएका छौं । हिजोआजका नवकलमहरूले पनि सामाजिक सञ्जालको सदुपयोग गरेर विभिन अनलाइन पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरेका छन् ।

– म्यानमारमा नेपाली भाषा मातृभाषा हुनेहरुको जनसंख्या कति छ ?

म्यान्माको सरकारी तथ्यांक ठ्याक्कै हात परेको चाहिँ छैन । सन् २०१४ को सरकारी तथ्यांकका अनुसार म्यान्मामा तीन लाख नेपाली गोर्खाली छन् । त्यसो त ठूलो युवाको संख्या थाइल्याण्डतिर सरिरहेको छ ।

– म्यानमारलाई तपाईं म्यान्मा लेख्नुहुन्छ । पहिले बर्मा नाम पनि प्रयोग हुन्थ्यो । म्यानमार र म्यान्मामा किन फरक फरक उच्चाहरण भएको हो ?

बर्मीका धेरै शब्दहरू भाषा (कथ्य) र लिपि (लेखन)मा फरक जस्तै लाग्छ । लिपिमा म्यानमार नै छ, तर भाषामा चाहिँ हामीहरू म्यान्मा भन्छौं । यस मानेमा पनि म्यान्मा नै हो । कतिपय बर्मी नाउँलाई अंग्रेजी भाषामा उच्चारण गर्न नसक्नु वा लवजअनुरुप शब्द बनावटमा फरक पर्न गएको हो । मलाई पनि यसबारेमा पूरै ज्ञान छैन ।

जस्तैः हामी राष्ट्रमातालाई आउँसान सुची भन्छौं, उहाँको वास्तविक नाम नै आउँसान सुची हो, तर विदेशी मिडिया वा अंग्रेजहरूले आङ सान सुकी वा आङ सान सुची भन्छन् । त्यस्तै, अर्को चाहिँ हामी जुन्ता भन्छौं, कतिपय हुन्ता पनि भन्छन् । यसरी नै हामीहरू म्यान्मा भन्छौं, विश्वभर म्यानमार नै भनिन्छ ।

हो, पहिले म्यान्मालाई बर्मा भनिन्थ्यो । खासमा बर्मा एक जातिको पहिचान हो, यसलाई बामर पनि भनिन्छ । यो संख्या म्यान्मारको मूल भागमा अलिक बढी नै छ । यसले एक जातिलाई मात्र प्रतिनिधित्व गर्छ । त्यसैले पनि होला बर्मा शब्दलाई हटाएर सन् १९८९ मा म्यान्मा बनाइयो ।

– तपाई म्यानमारको सेनाले कू गरेर सत्ता लिएको कुरा सामाजिक सञ्जालमा राखिरहनु भएको हुन्छ । मृत्यु भएका तथा विस्थापितहरुको संख्या लेखिरहनुभएको हुन्छ । अहिलेसम्म कति नागरिकको हत्या भयो ? त्यसमा नेपाली भाषीहरुको संख्या कति छ ?

सेनाले कू गरेको १ हजार २२६ दिनको अन्तरालमा ५ हजार २४३ जना निर्दोष नागरिकको हत्या भएको छ । नाम र पहिचान पुष्टि गर्न नसकिएका १ हजार ७०० भन्दा बढीको सूची छुट्टै छ । यो पंक्तिमा दुई दर्जनभन्दा बढी नेपाली पनि छन् । यसपालिको गृहयुद्धले धेरै नेपालीको ज्यान लिएको छ । कतिपय नेपाली परिवारका सदस्यहरूको हत्या हुँदा पनि चुपचाप छन् । नेपाली समाजमा पनि सेनाको एकखाले डर छ ।

अहिले पनि म्यान्मामा उस्तै छ सेनाको आतंक । प्रत्येक दिन ४ जनाको दरमा निर्दोष नागरिकको हत्या भइरहेको छ । मैले अघि उल्लेख गरेको मृतकको संख्या सेनाको हवाई आक्रमण वा युद्ध मैदानमा भएको होइन । यो आँकडा सेनाको यातनाबाट मरिएकाहरूको हो, तर क्रूर सेनाका कारण गृहयुद्धमा हजारौंहजार नागरिकले ज्यान गुमाइरहेका छन् । मानिसहरू गाउँमा कम र जंगलमा बढी भेटिन्छन् । बालबालिकाको अवस्था दयनीय छ ।

सैन्य जुन्ताले सबै पक्षको मुख थुनेपछि म्यान्मामा एक हिसाबले भन्नुपर्दा नागरिक पत्रकारिता फस्टाउँदैछ । विभिन्न स्थानमा विद्रोहीको तर्फबाट सूचना सम्पर्क विभाग खटाइएको छ । हाम्रो सञ्जाल जंगलदेखि शहरसम्मै फैलिएको छ । यो विभागको मुख्य काम एक ठाउँको सूचना अर्को ठाउँमा पुर्‍याउने हो ।

– तपाईंले म्यानमार सेनाले जबरजस्ती सैनिकमा भर्ना लिन थालेकोदेखि युवाहरुको थाइल्याण्ड पलायनसम्मको कुरा भन्नुभएको थियो । यसबारेमा अझ विस्तृतमा बताउनुस् न ?

सन् २०२१ को फेब्रुअरीदेखि म्यान्मा अशान्त छ । प्रजातन्त्र र स्वतन्त्रताका लागि देशमा रगतको नदी बगिरहेको छ । नागरिक सरकारको मातहतमा रहेको पिपुल्स डिफेन्स फोर्स पीडीएफ, युवा विद्यार्थीहरुको विद्रोही दस्ता र दशकौंदेखि राज्यसँग लड्दै आएका दर्जनौं जातीय सशस्त्र विद्रोही समूहहरु सरकारी जुन्ता सेनासँग भिडिरहेका छन् ।

पछिल्लो एक वर्षयता भारी मात्रा सरकारी सेनाले पराजय भोगिरहेको छ । थाइल्याण्ड र चीनसँग सीमा जोडिएका कतिपय सीमावर्ती क्षेत्रमा विद्रोहीले कब्जा जमाएका छन् । लडाइँका क्रममा विद्रोहीभन्दा ठूलो संख्यामा सरकारी सेना मारिएको दाबी सही छ । क्रूर सेना युद्ध मैदानमा पराजित हुँदै आएको छ ।

तीन वर्षदेखि लगातार हुँदै आएको युद्धले सेनाको मनोबल क्षीण हुँदैछ । श्यान राज्यस्थित मुख्य बटालियनका १ हजार ५०० सेनाले एकैसाथ विद्रोहीसामु आत्मसर्मपण गरेको म्यान्माको इतिहासमा यो पहिलो घटना हो । लडिरहेका सैनिकहरू इण्डिया, बंगलादेश, थाइल्याण्डतिर भाग्न थालेपछि सेनाको नेतृत्व आफ्नो साख जोगाउन रक्षापंक्तिमा उभिएको छ ।

म्यान्मामा सेनाको बेग्लै रवैया छ, रित्तिँदै गरेका गाउँबस्तीमा भेटिएका मानिसलाई च्याप्पै समातेर लैजान्छ । त्यसरी समातिएकाहरूलाई बन्दुक बोकाएर लड्न पठाउँछ कि हत्या गर्छन् या घुस लिएरमात्रै छोडिदिन्छ । बस्न सक्ने स्थिति नै नरहेपछि म्यान्माका गाउँबस्ती रित्तिरहेका छन् । सेनाले म्यान्माका ३५ वर्षमुनिका युवक र २७ वर्षमुनिका हरेक युवायुवती सेनामा भर्ना हुनुपर्ने, सैनिक सेवा दिनुपर्ने नियम गत फेब्रुअरी १० देखि लागू गरेको छ । यही कारण पनि युवा देशबाट पलायन हुँदैछन् । देशको सिमाना रहेको थाइल्याण्डतिरै वैध अवैध रुपमा पलायन छन् ।

– म्यानमारको विश्वले चिनेको नेता सन् १९९१ को नोबेल शान्ति पुरस्कार पाएकी आङ सान सुकी हुन्, तर अहिले कूको विपक्षमा भएको विद्रोहको ताँती हेर्दा उनको नेतृत्व भन्दा परका गुट उपगुटहरु आएका छन् । अहिले बन्दुक बोकेका विभिन्न जातीय समुदायहरुलाई एकतामा बाँध्ने सूत्रधार वा नेतृत्व को छ म्यानमारमा ?

सन् २०२१ फेब्रुअरी १ मा म्यान्माको सेनाले निवार्चित लोकतान्त्रिक सत्ता हत्यायो । स्टेट काउन्सिलर आउँसान सुची, राष्ट्रपतिलगायत दर्जनौं बर्मेली नेताहरूलाई गिरफ्तार गर्‍यो । लगत्तै प्रजातन्त्रवादी नागरिकहरू प्रदर्शनमा उत्रिए । सबैतिरबाट सेनाको विरोध भयो ।

सेनाले कूविरुद्ध शुरु भएको नागरिक आन्दोलन निकै दबायो । हजारौं व्यक्तिलाई गिरफ्तार गरियो । आन्दोलनकारीको हत्या गरियो । त्यसपछि सेनाले गरेको चर्को दमनलाई हटाउने एकमात्र विकल्प युद्ध नै रह्यो । जनता हतियार उठाउन बाध्य भयौं । अहिले क्रूर सेनासँग लड्न सबैजसो घर बाहिर निस्किएका छौं ।

र, कुरा रह्यो विद्रोही जातीय समुदायको । म्यान्मामा बामरभन्दा हेपिएका, पेलिएका वा थिचिएका जनजातिहरुको ठूलो संख्या छ । सदियौंदेखि राज्यविरुद्ध लड्दै आएका जातीय सशस्त्र समूह पनि सेनाको रवैयाबाट आजित छन् । त्यसो त उनीहरु राज्यसँग नै असन्तुष्ट छन् । त्यसलाई बेग्लै सारमा चर्चा गर्न सकिन्छ, तर यो अवस्थामा ती सबै जंगलमै रहेका जातीय समूहहरु यतिबेला मूलधारको राजनीतिमै मिसिएका छन् । उनीहरु लडाइँको अग्रमोर्चामा खटिएका छन् । राष्ट्रिय एकता सरकार ‘एनयूजी’सँग मिलेर क्रूर सेनालाई हटाउने कुरामा प्रतिबन्धित राजनीतिक दल, जनता, विद्रोही जातीय समूह एक ठाउँमा उभिएका छन् ।

कचिन जातीय सशस्त्र सेना केआईएले युद्धको पहिलो चरणदेखि नै राष्ट्रिय एकता सरकारसँग हातेमालो गरेर कार्य गर्दै आएको छ । कतिपय जातीय सशस्त्र समूह केआईएकै ब्रदरहुड एलायन्समार्फत एनयूजीमा जोडिएका छन् ।

अहिले सबै जातीय समूहहरुको चर्चा नगरिए पनि यसलाई कसरी बुझ्न सकिन्छ भने म्यान्माको प्रजातान्त्रिक आन्दोलनमा जनता नै अग्रभागमा छन् हिजो, आज वा भोलि । यसकारण पनि जनताको चाहनाले नै यी सबै विद्रोही शक्तिलाई एकतामा बाँध्न सक्छ । स्वाभाविक रुपमा अहिलेको आन्दोलनको नेतृत्व राष्ट्रिय एकता सरकार एनयूजीले गरेको छ ।

– कू भएको तीन वर्ष लागेको छ । अब कति समय कू जाला, के भन्छन् म्यानमारका नागरिकहरु ?

म्यान्माको तानाशाही सेनाको सत्ता हातमा लिएको यो पहिलो पटक भने होइन । स्वतन्त्रतापछिको म्यान्मा वा बर्मा लामो समयदेखि सेनाकै हातमा छ । म्यान्माली जनताले कू पचाइसकेका छन्, तर सन् २०२१ को सैन्य कूबाट एउटा पक्षले विश्राम लिनैपर्ने छ । हाम्रो दाबी छ, त्यो सेना नै हो ।

तीन वर्षमा कतिपय जनताले आफ्नो सर्वस्व नै गुमाउँदा पनि कुनै गुनासो गरेनन् । जति समय लागे पनि केही छैन, क्रूर सेनाको सत्तालाई चाहिँ जरैबाट उखेल्छौं भन्ने कसम खाएका छन् । म्यान्माली जनता हतास वा निराश देखिँदैनन् । प्रजातन्त्र समर्थक जनता विद्रोही सुरक्षाकर्मीलाई चाहिने हतियारहरू किन्न आफूले रगत पसिनाले सिंचेको पैसा, आफूले लगाएका गरगहनाहरू खोलिदिन्छन् । हाम्रो अनुमान छ कि सन् २०२४ को अन्त्यतिर एउटा स्पष्ट सीन देखिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर