स्थायी संरचना निर्माण प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सङ्घीय सरकारले जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि नबढाउँदा प्रदेशको स्थायी संरचना बनाउन समस्या भएको बताएका छन् ।
पत्रकारसँग आज कुरा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको प्राथमिकता स्थायी संरचना निर्माण गर्नु भए पनि जग्गाको समस्या भएको बताए । उनले एक वर्ष अगाडि नै कोशी प्रोजेक्टको जग्गा प्रदेशलाई हस्तान्तरण गर्न माग गरिएको भए पनि अहिले सम्म सङ्घीय सरकारले जग्गा हस्तान्तरणको प्रक्रिया समेत अगाडि नबढाइएको बताए ।
उनले भने, ‘अहिले सम्म जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढेको छैन । सो जग्गाको हस्तान्तरण भए प्रदेश सरकारले स्थायी संरचना निर्माणको काम सुरु गर्छ । प्रदेशको स्थायी संरचना बृहत्तर विराट क्षेत्र भित्र रहने निर्णय भएको छ । ’ प्रदेशको स्थायी संरचना नभएका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएको भन्दै स्थायी संरचना आवश्यक रहेको बताए ।
उनले मुख्यमन्त्रीको निवास रहेको कोशी प्रोजेक्टको जग्गा पूर्वाधार निर्माणका लागि उपयुक्त हुने बताए । उनले आफू नेतृत्वको सरकार प्रदेशको कृषि र पर्यटनको विकासमा लागेको बताए । उनले यही अनुसारको बजेट आउने समेत बताए ।