शेखरको आरोप- गिरीबन्धुको कुरा निकालेको भोलिपल्ट बालेनलाई तह लगाउन भन्दै तीन नेता बालुवाटारमा बसे (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन् ।
जनकपुरमा आयोजित स्थानीय तहमा कानूनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-इस्टेटको कुरा बाहिर ल्याएपछि तीन नेता बसेको आरोप लगाए ।
उनले भने, ‘भ्रष्टाचार बढेको बढेयै छ । कहीँकतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँकतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकाल्दिनुभो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभो, बालेनलाई कसरी तह लगाउने भनेर ।’
बालेनले गिरीबन्धु टीइस्टेटको जग्गा प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड अपचलन गरेको आरोप लगाएका थिए ।