कसले बोलिदिने होला तिनीहरुको लागि ?
लगभग एक हजार वर्षभन्दा बढी समयसम्म चीनको धेरैजसो राज्यहरुमा महिलाले आफ्ना खुट्टालाई कमलको फूल जस्तो देखाउन फलामले बाँध्ने प्रचलन चलिरह्यो । उक्त प्रचलनमा सानै उमेरमा (५-६ वर्षको उमेरबाटै) फलामको कसिलो खोलमा हालेर १४-१५ वर्षसम्म खुट्टा बाँध्नुपर्थ्यो । यदि त्यसो नगरेमा खुट्टा ठूलो हुने र कमलको फूल जस्तो नदेखिन गइ महिलाहरुले अल्छिनी र कुरूपताको प्रतिविम्ब हुनुपर्थ्यो । उनीहरुको विवाहसमेत हुँदैनथ्यो, तर यसले गर्दा प्रायःजसो महिलाको खुट्टाले पछि काम गर्न सक्दैनथ्यो । उनीहरुको खुट्टाको हड्डी कुप्रिने, हाडजोर्नी कमजोर हुने, हड्डी कुहिएर पाक्ने, घाउ हुने हुन्थ्यो भने ती महिलाहरुले जीवनभर आफ्ना खुट्टाले राम्रोसँग टेकेर हिँड्न सक्दैनथे । अझ धनी महिलाहरुले यो अनिवार्य नै गर्नुपर्थ्यो र कुनै कुनै राज्यमा त जुन महिला आफ्ना खुट्टाले टेकेर उभिन वा चल्न सक्दैनथे, उनीहरु धनी परिवारको भनेर सजिलै चिनिन्थ्यो । यति क्रूर र अमानवीय परम्परा हजारौं वर्षसम्म त्यो पनि अस्ति बीसौं शताब्दीको पहिलो प्रहरसम्म चलिरह्यो । त्यसैले मानिस जातिको बेवकुफीको सीमा अनन्तसम्म छ भन्दा अतिसयोक्ति हुँदैन ।
ओशो कतै आफ्नो प्रवचनमा भन्छन्- हामी चुरोटले हानि गर्छ भन्ने जान्दाजान्दै पनि चुरोट पिउँछौं । अनि बिमार पर्छौं र डाक्टर भेट्न जान्छौं । के यस्तो चलन सधैं रहिरहला ? चीनमा फलामे जुत्ताको चलन हटाएर करोडौं महिलाले स्वतन्त्र र स्वस्थ जीवन पाए जस्तै एक दिन पक्कै कुनै यस्तो पुस्ता आउनेछ र त्यसले उसका पुर्खाहरुको बेवकुफीको बारेमा अर्को एउटा चर्चा गर्नेछ । भन्ने छ कि हाम्रा पितापुर्खाहरु हानि गर्छ भन्ने जान्दाजान्दै पनि धूवाँ पिउने र त्यही धूवाँ फाल्ने गरिरहन्थे रे ! अनि एक दिन उनीहरु बिरामी पर्थे र डाक्टरलाई भेट्न जान्थे रे ! डाक्टरले पनि कि चुरोट छोड नत्र भने दम, ब्रोंकाइटिस र क्यान्सर हुने खतरा छ भनेर सम्झाउँथे रे ! बिरामी गइसकेपछि डाक्टर आफैं त्यही चुरोट पिउन लाग्थे रे ! कस्तो रमाइलो है !
यो प्रवचनमा ओशोले थप सुसंस्कृत र थप मानवीय संवेदना भएको समाजको परिकल्पना गरेका छन् । यसकै आधारमा यो पनि भन्न सकिन्छ कि एक दिन मानिसले सूर्तीजन्य वस्तुको सेवन छोड्नेछ । त्यसपछि विस्तारै मदिराजन्य र मांसजन्य आहार पनि छोड्नेछ । मानव सबै प्राणीको पीडा बुझ्ने एउटा प्रेमिल मनको साथमा अभिभावकीय भूमिकामा बस्नेछ । त्यो बेलामा कम्तीमा त्यो स्तरका बुद्धिजीवी हुने छैनन्, जसले मान्छेले मासु खाएन भने ती जनावरहरुले यो पृथ्वी ढाकेर हामी बस्ने ठाउँ नै रहनेछैन भन्नेसम्मका तर्कहरु पेश गरुन् । किन बाघ, भालु, चराहरु, अन्य वन्यजन्तुहरुले यो पृथ्वी नढाकेको त, सबैलाई त मान्छेले खाँदैन भन्ने पनि छ । एक थरि मासु नखाएर कम बुद्धि भएकाहरु, तर बुद्धिमानहरुले किन सुन्ने त्यस्ता ‘घाँस वर्ग’ (कतै कतै मासु नखानेहरुलाई ‘घाँस वर्ग’ वा ‘घाँस खाने’हरु भन्ने गरेको पनि सुनियो)हरुका कुरा ? उनीहरुले त कुनै अपरिभाषित भविष्यकालको लागि पूर्वघोषणा गरिदिएका हुन् नि !
हाम्रा पितापुर्खाहरु हानि गर्छ भन्ने जान्दाजान्दै पनि धूवाँ पिउने र त्यही धूवाँ फाल्ने गरिरहन्थे रे ! अनि एक दिन उनीहरु बिरामी पर्थे र डाक्टरलाई भेट्न जान्थे रे ! डाक्टरले पनि कि चुरोट छोड नत्र भने दम, ब्रोंकाइटिस र क्यान्सर हुने खतरा छ भनेर सम्झाउँथे रे ! बिरामी गइसकेपछि डाक्टर आफैं त्यही चुरोट पिउन लाग्थे रे ! कस्तो रमाइलो है !
मेरो बासस्थानसँगै खसीहरुको अस्थायी बासस्थान छ, तिनीहरु थोरै दिनमात्र त्यहाँ बस्न आउँछन् । तिनीहरुलाई त्यही मारिन्छ र पर पसलमा लगेर तिनीहरुको शरीर बेचिन्छ । शुक्रबार बेलुका त्यहाँ तिनीहरु ठूलो संख्यामा हुन्छन् र शनिबार मिर्मिरेमै तिनीहरुका पीडा र त्रासका आवाज बढी सुन्नुपर्छ । मन भित्रभित्रै गुम्सिन्छ । यो शहर नै जनावरहरुको पीडा र चित्कारले गुम्सिएको, बाफिएको एउटा भट्टी जस्तो लाग्छ । जता जानुस्, थोरै तीखा कान र संवेदनशील मन छ भने पीडा, छटपटाहट र करुण ध्वनिले मन विह्वल हुन्छ, छिया छिया हुन्छ । यदि हामी मासु नखाइ बाँच्नै नसक्ने हौं भने पशुहरुलाई एउटा निश्चित ठाउँमा, कसैले नदेख्ने र नसुन्ने गरी अनि सकेसम्म कम तड्पिनुपर्ने गरी मारौं न ! एउटा व्यवस्थित गोसखाना त बनाऔं ए समाज ! यस्ता खालका अमानवीय र निर्मम दृश्यले बालबालिकाको कलिलो दिमागलाई विक्षिप्त बनाउने कुरा प्रमाणित भैसकेको छ ।
त्यसैले यस्ता नृसंश दृश्यबाट टाढा राख्न सक्यौं भने हाम्रै सन्तानको मनोवृत्ति सग्लो रहने हो । आज पशुको पीडाले हामीलाई दुख्दैन भने भोलि मानिसको पीडाले पनि दुख्दैन र पर्सि आफ्नै बाबाआमा वा सन्तानको पीडाले पनि दुख्दैन । विस्तारै हामी संवेदनहीन र खुँखार बन्दै जानेछौं, मानवताको बाटोबाट झन् झन् टाढा !
धेरैजसो मासु पसलमा कुखुरालाई जिउँदै तातोपानीमा गुम्स्याएर मारिन्छ । बिहानबिहानै कुखुराहरुको अत्यासपूर्ण आवाज सुन्दा आफूले जिउदै नर्क भोगिराखेको आभास हुन्छ । एक पटक दोलखाबाट फर्कंदै थिएँ, पाखालिती बजारको बाटोमा एउटा मानिस ठूलो भालेको मुन्टो दोब्र्याउँदै थियो । दृश्यले मेरो मन डराउन लागिसकेको थियो, त्यत्तिकैमा उसले सानो चक्कुले त्यो भालेको दोब्रिएको गर्दनमा सानो घाउमात्रै लगायो र त्यहाँबाट रगत बग्न लाग्यो । त्यो भालेको असीम पीडा र त्यो मुटु नभएको मानिसको असीम रोमाञ्चकताको बीचमा आँखाबाट कतिखेर आँसु खसे थाहै भएन । पीडालाई जानाजान लम्ब्याइएको थियो, विषाक्त रोमाञ्चकतालाई लम्ब्याउन ।
मेरो अफिसको बाहिरपट्टि एउटा कुकुर मलाई खुबै पच्छ्याउँछ । मलाई विस्तारै भान भयो कि उसलाई पानीको तिर्खा लागेको हुनसक्छ । फेरि को छ र यहाँ सडकका कुकुरलाई खोजीखोजी पिउन पानी दिने ? विशेषगरी यो गर्मी मौसममा धेरै पशुपन्छीहरु पानी पिउन नपाएर आहत भइराखेका हुन्छन् । त्यसैले मैले बाहिरै ल्याएर पानी दिने गरें, तर पानी राखिदिएर म पर नपुग्दासम्म ऊ पानी पिउन आउँदैन । किनकि उसको जीजीविषाले मान्छे भन्ने जातका मस्तीका तरिकाहरुलाई बुझेको छ । कुकुरको टाउकोमा ताक्नेगरी ढुंगाले हान्न र कुकुर पीडाले रन्थनिँदै कुइँकन लाग्दा मानिसलाई युद्ध जितेको सिपाही जस्तै मज्जा आउँछ ।
महात्मा गान्धीले कतै भन्नुभएको छ कि समाज कति उन्नत र सभ्य छ भन्ने कुरा उसले जनावरलाई गर्ने व्यवहारलाई हेरेर थाहा पाउन सकिन्छ । घोडा र हात्तीलाई सधाउन गर्ने ज्यादतीका कुरा सबै वर्णन गर्ने हो भने एउटा किताब तयार हुन्छ । बैशाख-जेठको गर्मीमा बीसौं घण्टा लगाएर बुढा र रुग्ण भैंसीलाई मम र सेकुवाको लागि नाक च्यातिने गरी बाँधेर र पानी पनि खान नदिई काठमाडौं भित्र्याउन सक्ने हामी मानिसको मन केले बनेको होला ? सात वर्षको बालकको टाउको ताकेर गोली हान्ने इजरायली सेना र बलिको नाममा ब्लेडले छालामात्र खुर्केर घन्टौं लगाएर अबोध पशुको निर्मम हत्या गर्नेमध्ये को बढी आततायी ? के तिनै पशु सृजना गर्ने भगवानले आफ्ना सन्तानलाई त्यस्तो अत्याचार गरेको स्वीकार गर्नुहुन्छ होला ?
बैशाख-जेठको गर्मीमा बीसौं घण्टा लगाएर बुढा र रुग्ण भैंसीलाई मम र सेकुवाको लागि नाक च्यातिने गरी बाँधेर र पानी पनि खान नदिई काठमाडौं भित्र्याउन सक्ने हामी मानिसको मन केले बनेको होला ? सात वर्षको बालकको टाउको ताकेर गोली हान्ने इजरायली सेना र बलिको नाममा ब्लेडले छालामात्र खुर्केर घन्टौं लगाएर अबोध पशुको निर्मम हत्या गर्नेमध्ये को बढी आततायी ?
हामीले परिकल्पना गरेको विकास कस्तो छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको कार्यान्वयन गर्न यसका योजनाहरु के कसरी बुनिए र कसरी प्रतिफल दिन्छन् ? यो कुरा खोज्ने ल्याकत हामी नेपाली जनताको पक्कै छैन । अब झोलुंगे साँघुमा च्यापिएर मारिने अबोध जनावरहरुको अधिकारको त झन के कुरा गर्नु ? धेरैलाई लागेको होला, त्यस घटनामा ज्यान गुमाउने खच्चर अभागी हुन्, तर तिनीहरु निकै कम अभागी वा भाग्यमानी खच्चर हुन् । किनकि जो त्यो त्रासदीपूर्ण घटनामा बाँचेका छन्, हो, तिनीहरु ज्यादा अभागी छन् । तिनीहरुले जिउभरि तारहरुले घोपेका घाउ र लठ्ठाले च्यापेका बांगा हड्डी लिएर जीवनभर शरीरले नधान्ने भारी लिएर उकालीओराली गरिरहनु पर्छ । कति दिन भोकै, तिर्खै, कति दिन जिउ पिल्सिने गर्मी, कति दिन मुटु कमाउने जाडो ? उनीहरुको बिमार, अशक्तता र उमेरको त के मतलब भयो र ?
भर्खरै एउटा कुनै खच्चरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उसलाई यति धेरै फलामका डन्डी बोकाइएको छ कि, उसले न यो लोड थेग्न सकेको छ, न उभिन सकेको छ, न बाटो देखेको छ न त ठाडो उकालो बाटो हिँड्न सक्ने अवस्था छ । हिमाली भेगमा जनजीवन गुजाराको लागि खच्चर आजसम्म अनिवार्य नै छ । वास्तवमा भन्नुपर्दा खच्चरले हिमाली जनजीवनलाई कठोर प्रकृतिसँग जुधेर बाँच्न जति सघाएको छ, त्यति त मान्छेलाई अरु कसैले पनि सघाएको छैन, तर त्यही मानिसले आफ्नो सबभन्दा ठूलो सहयोगीलाई गुण तिर्न कस्तो व्यवहार गरेको छ भन्ने कुरा कसलाई थाहा होला ?
युरोपमा हिटलरकालीन बर्बरताको युग समाप्त भएको ७५ वर्ष नागिसकेछ, तर त्यहाँको बर्बरताको साक्षी भएका त्यहाँका पुराना दरबार, पहाड, खोला, किल्ला वा निर्दोष मानिसहरुको रगतले सिञ्चित जमिनलाई गएर सोध्ने हो भने थाहा हुने छ कि हिजोको दिनमा हिटलरको अगुवाइमा एउटा मानिसले अर्को मानिसमाथि गरेको सपनामा पनि कल्पना गर्न नसकिने बर्बरताहरु । कन्सन्ट्रेसन क्याम्पमा बाबुआमाको अगाडि कलिला छोराछोरीको शरीरबाट भोका कुकुरले मासुका चोक्टाहरु निकाल्न लगाएको दृश्य हामीलाई आज कल्पना गर्दा पनि असह्य छ । महिनौंसम्म एक टुक्रा पाउरोटीमात्र खाना दिएर काम लगाउँदा जब सोही पाउरोटी बराबरको श्रम पनि गर्न सक्दैन, त्यो बाउलाई छोरा आफैंले बोकेर चिकित्सकहरुको अनुसन्धान गर्ने ठाउँमा जिउँदै लगेर लडाइदिनु पर्थ्यो र हातखुट्टा बाँधिदिनु पर्थ्यो । डाक्टरहरुले त्यो अशक्त मानिसलाई जिउँदै चिरेर भित्रका मुटु-कलेजो जस्ता अंगहरुको अध्ययन गर्थे ।
५ वर्षका २ जना जिउज जुम्ल्याहा दाजुभाइमा आँखाको रंग परिवर्तन गर्न सीधै केमिकल प्रयोग गरेको अनुसन्धान पनि अहिलेसम्मकै सबैभन्दा क्रूर र अमानवीय वैज्ञानिक प्रयोग हुनुपर्छ । उनीहरुको ज्यान पीडाको छटपटाहटको बीचमै गयो । लगभग ६० लाख त जिउजलाई मात्रै (जसमा ५० प्रतिशतभन्दा बढी त बुढाबुढी र बालबालिका थिए) क्याम्पभित्र मास शुटिङ, होलोकास्ट (आगोमा हालेर मार्ने काम), विषालु ग्यास सुँघाएर मारिएको थियो ।
‘विन्टर अफ द वल्र्ड’ भन्ने किताबमा कसरी सोभियतको जंगलमा हजारौंहजार सोभियत गाउँलेहरुलाई ल्याएर सीधारेखामा उभ्याएर गोली हानिन्थ्यो भन्ने कुराको चर्चा गरिएको छ । त्यसमा १२ जनाको २ सिफ्टले २४ घण्टा नै गोली हानेको हानेकै गर्नुपर्थ्यो । सो किताबमा केन फोलियट कतै लेख्छन्- ‘गोली हान्ने अन्तिम प्रहरमा एक आमा आफ्नो ६ वर्षको छोरोलाई आफूतिरै तानेर अंगालो हाल्छिन्, जसले गर्दा गोली सो बालकको ढाड छेडेर आमाको कम्मरमा लाग्छ । धन्न एसएसका जवानले अर्को गोलीको लोभ गर्दैनन् र उनको छातीमा अर्को गोली लागेर आमाको प्राण पखेरु अलि सजिलै निस्कन्छ ।’
हजारौं खुँखार कर्महरु, जुन हिटलरले नाजीजम वा नस्लवादको भेषमा गरे । पाठकलाई निवेदन गर्न चाहन्छु, आज हामीले भन्ने गरेको बाहुनवाद, जातिवाद, ढाकाटोपी राष्ट्रवाद, मंगोलवाद आदि जस्ता ‘वाद’हरु पनि यस्तै नस्लवाद उमार्नसक्ने धारणाहरु हुन् ।
त्यस्ता हजारौं खुँखार कर्महरु, जुन हिटलरले नाजीजम वा नस्लवादको भेषमा गरे । पाठकलाई निवेदन गर्न चाहन्छु, आज हामीले भन्ने गरेको बाहुनवाद, जातिवाद, ढाकाटोपी राष्ट्रवाद, मंगोलवाद आदि जस्ता ‘वाद’हरु पनि यस्तै नस्लवाद उमार्नसक्ने धारणाहरु हुन् । यद्यपि यो तर्कलाई पिछडिएको वर्ग, महिला वा जातजातिलाई राज्यले गर्नुपर्ने सकारात्मक विभेदविरुद्ध भनेर नबुझी दिनुहोला । किनकि कतिपय अवस्थामा समाजको समतामूलक विकासको लागि सकारात्मक विभेद चाहिन्छ । जे होस्, हिटलरले यी सारा काम आफ्नो राज्य सत्ताको प्रयोग गरेर निमुखा र कमजोरमाथि गरे । करोडौं मानिसको जीवनसहित परिवार, समाज र देश नै समाप्त पारिदिए, तर के आजको दिनमा हामीले पनि त्यसैगरी सक्नेले नसक्नेलाई त्यतिकै र पीडादायी जीवन र पीडादायी मृत्यु दिएका छैनौं र ? कतै युब्हल नोभा हरारीले भन्नुभएको छ- ‘हामीले जनावरलाई कस्तो मृत्युभन्दा पनि कस्तो जीवन दियौं भन्ने कुरा बढी महत्वपूर्ण हो । एकथरी विद्वानले तर्क गर्छन् कि के कारखानाको धारिलो ब्लेडमा काटिनुभन्दा जंगलमा बाघ वा सिंह जस्ता जनावरको हिंस्रक आक्रमणमा मारिनु कम पीडादायी हो ?’
जनावरलाई फार्ममा राखियो भने समयमा खाना, उपचार, छहारी र एउटा पूर्ण जीवन प्राप्त हुन्छ । त्यसैले फार्ममा उनीहरुले बढी सहज र गुणस्तरीय जीवन पाउँछन्, तर के तिनीहरुले स्वतन्त्र र परिवारमैत्री सामाजिक जीवन पाउँछन् ? जनावरहरु स्वभावैले सामाजिक हुन्छन् । लाखौं वर्ष जंगलमा बिताएका सबै प्राणीहरुले आफूमैत्री समूहमा बस्न पाउनु सबैभन्दा पहिलो पूर्वसर्त हो । जन्मन नपाइ आमाबाट बच्चालाई छुटाइन्छ र बच्चाबाट आमालाई । हामी त्यसैगरी छुट्टिएको कल्पना गरौं त ! त्यो कल्पना कति विक्षिप्त बनाउने खालको छ ? अनि अरुको सन्तानलाई चाहिँ हामी कसरी हुन्छ बढी पीडा दिएर मार्नमा मजा लिन्छौं र उसको शरीरले आफ्नो भोक र चाहना पूर्ति गर्छौं । हामीले सुँगुर वा बंगुरलाई कसरी मार्छौं, सोचौं त ! अझ ठूल्ठूला फार्ममा त उसलाई वर्किफर्की गर्न पनि नसक्ने गरी साना पिंजडाभित्र अड्काएर राख्छौं, मासु नघटोस् अनि रसिलो पनि होस् भन्नलाई । के हामीले भन्ने गरेको बृहत्तर मानवता (एक्स्टेण्डेड ह्युमानिटी) यही हो ?
पछिल्लो ६०-७० हजार वर्ष अगाडिसम्मको इतिहास हेर्दा मानिस पनि अरु जनावर जस्तै ‘फूड चेनपिरामिड’ ( खाद्य श्रृंखला सोपान)को निकै तल रहन्थ्यो । त्यति यदि उसले अरुको शिकार गरेर आफ्नो ज्यान पाल्थ्यो भने अरु जनावरले पनि उसको शिकार गर्थे, तर संवेगात्मक विकासको क्रान्तिकारी छलांगपछि मानिस शक्तिशाली बन्दै गयो । उसले अब वनस्पति वा शाकाहारबाट पनि मानिसको गुजारा हुन सक्ने कुरा बुझ्यो, तर मानिसले आफ्नो तीक्ष्ण दिमागको प्रयोग गरेर आफूलाई विस्तारै ‘फूड चेनपिरामिड’को माथितिर धकेल्न लाग्यो । उसले मासुलाई ताकत र विलाशिताको लागि नभई नहुने खानामा राख्यो । मानिस जति जति बुद्धिमान हुँदै गयो, आफ्नो सातिर दिमागको प्रयोग गरेर अन्य प्राणी र जनावरलाई मारेर आफ्नो पेट भर्न लाग्यो, कज्याएर आफ्नो काम लगाउन लाग्यो । हो, बाघ र सिंह जस्ता जनावरहरुले पनि अरुलाई मारेर आफ्नो पेट भर्छन्, तर यो कुरा उनीहरुको जिउनलाई हो, आवश्यकताको सिद्धान्तमा आधारित छ । त्यसो त उनीहरुलाई आफूले शिकार गरिराखेको प्राणीलाई दुख्छ भन्ने पनि त थाहा हुँदैन नि ! तर हामीलाई त थाहा छ नि उसलाई पनि हामीलाई जस्तै गरि दुख्छ भन्ने कुरा ।
यहाँनेर एउटा भ्रम पर्न सक्छ कि मासु खानु वा प्राणी हत्या गर्नु मात्रै हिंसा हो र भन्ने ? त्यस्तो पक्कै होइन, किनकि मासु नखानेहरुको पाखण्ड पनि मासु खानेको भन्दा हिंसापूर्ण देखिएको छ कतिपय अवस्थामा । कतिपय अवस्थामा प्राणी हत्या गर्दा एकछिनको पिडा मात्र त्यो प्राणीले बेहोर्नुपर्ने तर त्यसलाई पाल्दा हरेक पल मर्दै जिउनु परेको पनि छ । खासमा हामीले अहिलेसम्मको इतिहासलाई नियाल्यौं भने पशुलाई मासु खानभन्दा श्रम गराउनमा नै बढी हिंसा गरिराखेको पाउँछौ । हामीले खाने बजारको अण्डाको कथा हेर्यौं भने त्यसमा मासुमा भन्दा बढी हिंसा मिसिएको छ । अन्डा पार्ने कुखुराबाट हरेक दिन अन्डा झार्न, गाइबाट हरेक दिन धेरै दुध झार्न, ब्रोइलर कुखुराबाट ३०/४० दिनमै उच्चतम मासु पाउन मानिसले जे-जे गर्न जानेको छ त्यो सब बुझ्ने हो भने त्यहाँ हिंसाको पराकाष्टा भेटिन्छ । अझ ठुलो हिंसाका ठेकेदारहरु त तिनीहरु हुन्, जसले यो पशुको मासु खानु हुन्छ, यसको पशु बली चढ्छ, यो मासु खानेहरु उपल्ला जातका र यसको मासु खानेहरु ‘मासिन्या’ वा तल्लो जातका हुन् भनेर परिभाषित गर्छन्, किनकि उनीहरुले त पशुमा मात्र होइन, मानिस-मानिस बीचमा पनि हिंसाको विषाक्त तगारो लगाउँछन् ।
जन्मन नपाइ आमाबाट बच्चालाई छुटाइन्छ र बच्चाबाट आमालाई । हामी त्यसैगरी छुट्टिएको कल्पना गरौं त ! त्यो कल्पना कति विक्षिप्त बनाउने खालको छ ? अनि अरुको सन्तानलाई चाहिँ हामी कसरी हुन्छ बढी पीडा दिएर मार्नमा मजा लिन्छौं र उसको शरीरले आफ्नो भोक र चाहना पूर्ति गर्छौं ।
प्रकाश अजात, मेरो एक जना सामाजिक सञ्जालको साथी । हामी एक-अर्कालाई व्यक्तिगत रुपमा त चिन्दैनौं, तर उहाँको जनावरप्रतिको संवेदनशीलता अर्कै स्तरको छ । केही समय अगाडि एक जना नाम चलेका सम्पादक, ‘जो आफ्नो गाउँमा प्राकृतिक खालका पोखरीहरु बनाउँदै हुनुहुन्छ’- लाई अजातजीले पोखरीमा पानी पिउन आउने जनावरहरु पोखरीमा डुबेर नमरुन् भन्ने कुराको हेक्का राखेरमात्र पोखरीहरुको निर्माण गर्न सुझाउँदै हुनुहुन्थ्यो । के उहाँको चेतनाको स्तर माथिल्लो स्तरको छैन त ? उहाँका पोस्टहरु प्रायःजसो बृहत्तर मानवता बोकेका हुन्छन् । उहाँको दृष्टान्त राख्नुको एउटा मात्र कारण यही हो कि अरुको लागि उच्चस्तरको चेतना र समवेदना देखाउने मानव पनि हामीहरुको बीचमा निकै छन् ।
संवेदना र समवेदनामा तात्विक फरक त नहुनु पर्ने हो, तर मेरो एक जना मित्रले भनेअनुसार यी दुई कोमल शब्दहरुमा एउटा झिनो अन्तर छ । संवेदना भन्नाले भावुकता वा रिस, प्रेम, माया, दुख, पीडा जस्ता कुराहरुको महसुस गर्नसक्ने क्षमता वा अवस्था हो भने समवेदना भन्नाले समं वेदना अर्थात अरुको पीडालाई पनि आफ्नो जत्तिकै बराबर गरेर बुझ्न सक्ने चेतनाको तह हो । यसरी शब्दको अन्तर्यबाट हेर्दाखेरि माथिल्लो चेतनाको स्तर दिएर प्रकृतिले मानिसलाई अरु प्राणीको सुख र दुःखको बारेमा पनि ध्यान देओस् भनेर बढी जिम्मेवारी दिएको प्रस्ट देखिन्छ । यसैले आजको दिनमा मानिस अरु प्राणीहरुको अभिभावक नै हो । अनि के अभिभावकले आफ्ना सन्तानहरुलाई निर्ममतापूर्वक मार्न र खान मिल्छ ?
नेपालले पनि पशुपन्छीको विषयमा कुनै काम नै नगरेको भने होइन । पशु सेवा ऐन २०५५, पशु सेवा नियमावली २०५६, पशु सेवा निर्देशिका २०७३ जस्ता कानूनमा हाम्रो परिप्रेक्ष्यमा वास्तवमै राम्रो व्यवस्था गरिएको देखिन्छ । पशुहरुलाई कसरी ओसारपसार गरिनुपर्छ, कसरी आराम, दानापानी, राख्ने ठाउँ, औसधोपचार जस्ता कुराहरुको व्यवस्था गरिनु पर्छ भन्नेमात्र होइन कि बढी भार बोकाउन नहुने, शरीरसँग मिल्ने खालको भार बोकाउनुपर्ने, उमेर र स्वास्थ्यको ख्याल गरेरमात्र काम लगाउनु पर्ने तथा बच्चाले आमाको दूध खाँदासम्म बच्चा र माउ छुट्याउन नहुने जस्ता ऐन-कानून बनिसकेको छ, तर हाम्रो देशको कानूनको कार्वान्वयनको बारेमा कुरै नगरौं होला ।
जे होस, कालो बादलमा चाँदीको घेरा भएजस्तै, हामीले महिलालाई फलामको जुत्ता लगाइदिएर अपाङ्ग बनाउन छोड्यौं, महिलाहरुले लडेर भए पनि आफ्नो राजनीतिक, सामाजीक र आर्थिक हक-अधिकार स्थापना गर्दैछन्, कयौं मानवतावादी मानिसहरु समग्र प्राणीमा (मानिस, पशु र अरु प्राणीमा समेत) हुने हिंसा विरुद्धमा विभिन्न माध्यमबाट आवाज उठाइराखेका छन्, स्विट्जरल्याण्डको अदालतले केही वर्ष अगाडि टोकेर मानिसलाई रेविज सारेकोमा मार्न लागिएको कुकुरलाई मार्न नमिल्ने फैसला गरेर यो पृथ्वी अरु प्राणीको पनि साझा घर हो भन्ने सन्देश दियो । अझ कतिपय मानिसहरु बोटबिरुवा अथवा वनस्पतिलाई पनि पीडा हुन्छ वा उनीहरुमाथि हुने हिंसाको बारेमा पनि चर्चा गर्न आवश्यक देख्दै छन्, भलै अहिलेसम्म विज्ञानले बनस्पतीमा पीडाकाे महसुस गर्नका लागि स्नायु प्रणाली नै छैन भनेको होस् । यस्ता कयौं उदाहरणहरु हेर्दा एक दिन अवश्य हामी सबैले परिकल्पना गरेको हिंसामुक्त समाजको निर्माण हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ, जहाँ कुनै पनि प्राणीले अर्काे प्राणीलाई कुनै पनि आधारमा हिंसा वा भेदभाव गर्ने छैन, मुख्यतया: मानिसले ।