डोटीका ६ पालिकाकाे गाडी मर्मत खर्च २ करोड २० लाख
डोटी । जिल्लाका ६ पालिकाले एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै २ करोड २० लाख ६३ हजार २५७ रुपैयाँ खर्च गरेका छन् ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनअनुसार दिपायल सिलगढी नगरपालिकाले एक वर्षमा ८२ लाख ५५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ ।
नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा सवारी मर्मत शीर्षकअन्तर्गत एम्बुलेन्स, डोजर, जीप, ट्याक्टर, दमकल र मोटरसाइकल मर्मतमा उक्त रकम खर्च भएको हो ।
प्रतिवेदनमा कुन साधनमा कति रकम खर्च भयो भन्ने छुट्याइएको छैन । यस शीर्षकबाट नगरपालिकाले सञ्चालन गरेका नगर बसको मर्मत भए नभएको प्रतिवेदनमा उल्लेख छैन ।
सवारीसाधन मर्मतमा बढी रकम खर्चिनेमा आदर्श गाउँपालिका दोस्रो स्थानमा देखिएको छ । आदर्शले आर्थिक वर्ष २०७९/०८० मा सवारीसाधन मर्मतमा ३९ लाख ८७ हजार ७०४ रुपैयाँ खर्च गरेको देखिएको छ । लेखापरीक्षण प्रतिवेदनमा गाउँपालिकाको जीप मर्मतमा ८ लाख १८ हजार ८०८, डोजरमा ८ लाख ५३ हजार ७२५, एम्बुलेन्समा २ लाख ८५ हजार ५३, ट्याक्टरमा ६० हजार १७५ र गाउँपालिकाको नाममा रहेका सबै मोटरसाइकलमा १९ लाख ६९ हजार ९०३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।
यस्तै सायल गाउँपालिकाले एक वर्षमा २७ लाख ३६ हजार ४६१ रुपैयाँ खर्चेको छ । यस गाउँपालिकाले जीप मर्मतमा १४ लाख ५३ हजार २१, एक्साभेटर ४ लाख ९७ हजार ४८२, एम्बुलेन्समा २ लाख ४१ हजार २ र गाउँपालिकाको नाममा रहेका १६ मोटरसाइकलमा ५ लाख ८१ हजार ८५६ रुपैयाँ खर्च गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
जोरायल गाउँपालिकाले सो शीर्षकमा एक वर्षको अवधिमा २५ लाख ११ हजार ४२६ रुपैयाँ खर्चिएको प्रतिवेदनमा उल्लेख छ । यस गाउँपालिकाको प्रतिवेदनमा कुन कुन सवारीसाधन मर्मत भए र कुन साधनमा कति रुपैयाँ खर्च भयो भन्ने उल्लेख छैन ।
बडीकेदार गाउँपालिकाले सवारीसाधन मर्मतमा एक वर्षमा २२ लाख ९९ हजार ७१७ रुपैयाँ खर्च गरेको पाइएको छ । लेखापरीक्षण प्रतिवेदनमा पालिकाले उक्त रकम एम्बुलेन्स, एक्साभेटर, जीप र मोटरसाइकल मर्मतमा खर्च गरेको भए पनि कुन साधनका लागि कति रकम खर्च भयो भन्ने उल्लेख छैन ।
शिखर नगरपालिकाले एक वर्षमा सवारीसाधनमा २२ लाख ७२ हजार २१५ रुपैयाँ खर्च गरेको छ । प्रतिवेदनअनुसार एम्बुलेन्स मर्मतमा ९ लाख ८८ हजार १५५, टिपर ८५ हजार ८९, नगरपालिकाले सञ्चालन गरेका २ बसको मर्मतमा २ लाख १७ हजार ९३२ र पिकअप मर्मतमा ९ लाख ८१ हजार ३९ रुपैयाँ खर्च गरिएको छ ।
प्रतिवेदनमा एउटै साधन एक वर्षमा पटक पटक मर्मत हुने गरेको उल्लेख छ । यसरी पटक पटक मर्मत गर्नुपर्ने कारण पुष्टि नभएको लेखापरीक्षण प्रतिवेदनले औंल्याएको छ ।
अन्य तीन पालिकाको प्रतिवेदनमा भने सवारी मर्मतको विषय उल्लेख भएको छैन ।