लुम्बिनीको बजेटमा नारैनारा, प्राथमिकतामा टुक्रे आयोजना
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा नारैनारा समेटिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभाको चौथो अधिवेशनको तेह्रौं बैठकमा पेश गरेको बजेटमा हरेक शीर्षकमा नारा जोडिएको छ ।
शीर्षकअनुसारका नारामा बनाइएको बजेट प्रस्तुतिमा आर्थिक मामिलामन्त्री आचार्य बीचबीचमा अकमकिरहेका थिए । चालू आवभन्दा करिब डेढ अर्ब सानो बजेट ल्याएका उनले यसअघि करिब १० अर्ब बजेट कम आउने बताइरहे पनि अन्तिममा चौतर्फी दबाबले बजेट बढाएका छन् ।
आन्तरिक स्रोतको कमी, संघबाट पाउने विभिन्न अनुदानमा कमी भएको स्वीकार गरे पनि उनले चाहे जसरी बजेटको आकार सानो बनाउन नसकेको यसअघि उनको भनाइले पनि प्रमाणित गरेको छ । बजेटमा ठूला आयोजनाभन्दा पनि सांसदहरुको सिफारिसमा परेका ससाना योजना समेटिएको केही बजेट शीर्षक र रकमले देखाउँछ । यद्यपि यसको सबै विवरण आइसकेको छैन ।
यस्ता छन् बजेटमा समेटिएका प्रमुख नारा
- समृद्ध लुम्बिनी ,आत्मनिर्भर प्रदेश
- किसानको हात, प्रदेशको साथ
- स्वस्थ्य जीवनको साथ, माटोको सुधार
- मेरो स्वास्थ्य सुधार, मेरो जिम्मेवारी
- शैक्षिक गुणस्तरमा सुधार, भविष्यको आधार
- पर्यटनसँग वन समृद्धिको आधार
- ब्याक टु कल्चर, ब्याक टु नेचर
- एक वडा, एक पोखरी
- नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
- वन्यजन्तु पीडितसँग प्रदेश सरकार
- एक घर एक धारा, जनतासँग प्रदेश सरकार
- कृषिको आधार, सिंचाइमा सुधार
- खेतबारीका गरा, सधैं हराभरा
- उज्यालो प्रदेश, लुम्बिनी प्रदेश
- स्वच्छ भान्सा, सबैलाई आनन्द
- प्रविधिमैत्री लुम्बिनी अहिलेको आवश्यकता
- भ्रष्टाचार नियन्त्रणमा शून्य सहभागिता
यस्ता छन् बजेटका प्रमुख विशेषता
लुम्बिनी सरकारले नयाँ योजनाभन्दा अधिकांश पुराना र साना योजनालाई प्राथमिकता दिएको छ । सरकारले चालू आर्थिक वर्षमा भन्दा डेढ अर्ब कम ३८ अर्ब ९५ करोडको बजेट ल्याएको हो । आर्थिक मामिलामन्त्री आचार्यले कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट बढाउन नसकेको मन्त्री आचार्यको भनाइ छ ।
- ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजना
- प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीको अभिलेखीकरण गरी व्यवस्थापन
- स्थानीय तहको जनशक्ति व्यवस्थापन गर्न कानून बनाइ कार्यान्वयन गरिने
- प्रदेश लोकसेवालाई आवश्यक बजेट व्यवस्थापन
- बसाइसराइ रोक्न पहाडमा विशेष योजना
- स्थायी राजधानीमा संरचना निर्माण चालू वर्षमै सकिने
- लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
- रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पर्यटन प्रवर्द्धन गर्ने योजना
- लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब ८० करोड
- जिल्ला समन्वयलाई क्रियाशील बनाउन ५ लाख
- प्रदेश पूर्वाधार प्राधिकरणलाई विशेष प्राथमिकता
- नवप्रवर्द्धन साझेदारी कार्यक्रम निरन्तरता
- प्रदेश सुशासन केन्द्रलाई विशेष प्राथमिकता
- राप्तीमा कर्मचारीलाई शुक्रबार र आइतबार निःशुल्क बस सेवा
- कर्मचारीलाई आन्तरिक पर्यटन काजलाई निरन्तरता
- सबै आन्दोलनमा शहीद, घाइतेको अभिलेखीकरणका लागि ५ करोड
- साइबर सुरक्षाका लागि विशेष योजना
- स्थानीय तहमा विपद व्यवस्थापन योजना
- प्रदेश प्रहरी ऐनअनुसार अघि बढाउने विशेष योजना
- भारतसँग सीमा जोडिएका ६ जिल्लामा बीओपी भवन निर्माण र स्तरोन्नति
- रुकुमपूर्वका ७ वटा वडामा सडक ट्याक खोलिने
- सिंचाइका लागि थप १४ सय हेक्टरमा व्यवस्था गरिने
- थप २५ सय हेक्टरमा १२ महिना व्यवस्थापन
- दुर्घटना रोक्न चालक सचेतना
- रामपुर-जिनावाङ सडक पूरा गर्न विशेष प्राथमिकता
- चरंगे-झुम्सा सडक स्तरोन्नति
- १७ वटा मुख्य सडकको स्तरवृद्धि योजना
- पर्यटन पहुँचमार्ग विस्तार योजना
- घरबास सबलीकरण योजना
- सांस्कृतिक डबलीकरण स्थानीय तहलाई हस्तान्तरण
- विदेशमा सिकेकाहरुको सीप परीक्षणसहितको तालिम
- सुरक्षित आप्रवासन कार्यक्रम सबै जिल्लामा
- सहकारी समस्या समाधान गर्न सहकारी ज्ञान अगाडि
- वन सम्पदालाई राजस्वको प्रमुख स्रोत
- बन जोगाउने विशेष अभियान
- नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
- लुम्बिनी प्रादेशिक र राप्ती प्रादेशिक अस्पताललाई विशेष प्राथमिकता
- विपन्न नागरिकलाई दम तथा ब्रोन्काइटिस्टमा उपचार
- मृगौला रोगीलाई डायलाइसिस सेवा दिइने
- आँखाको नानी निःशुल्क
- आयुर्वेद उपचारका लागि प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवा र पञ्चकर्म
- लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई ९ करोड
- पर्यटक तान्न हिल स्टेशन
- स्वर्गद्वारी, सुपादेउराली, रेसुंगालाई विशेष प्राथमिकता
- अन्तरप्रदेश पर्यटन विस्तार
- शालिग्राम पर्यटन गर्ने योजना
- जडीबुटी खेतीलाई विशेष प्राथमिकता
- वन्यजन्तुबाट पीडितसँग प्रदेश सरकार
- एक घर एक धाराका लागि १ अर्ब ३० करोड
- कृषि, शिक्षालाई विशेष प्राथमिकता