गायिका सङ्गीता मस्राङ्गी मगर र गायक पदम राईको ‘सेवा झोर्ले’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका सङ्गीता मस्राङ्गी मगर र गायक पदम राईको ‘सेवा झोर्ले’ गीत सार्वजनिक भएको छ । गीतमा राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकालाई सँगै सुन्न सकिन्छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत तथा सङ्कलनको काम पनि विजय मगरले नै गरेका हुन् ।
गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा मूख्यगरी याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुमले अभिनय तथा नृत्य गरेका छन् । भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ ।
गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले जनाएको छ । त्यसो त गीतमा राई समुदायको मौलिक तथा सामुदायिक शब्द सेवा र मगर समुदायको झोर्लेलाई जोडिएको छ । जसले दुई समुदायलाई एकसाथ महसुस गर्न सकिने निर्माण टोलीको दाबी छ ।