एमालेले गण्डकीका सांसद गुरुङलाई सोध्यो स्पष्टीकरण
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको छ ।
संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै शनिबार गुरुङलाई स्पष्टीकरण सोधिएको एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको प्रमुख सचेतक नेपालीले बताए ।
‘शुक्रबार बजेटको नीति तथा कार्यक्रम पारित हुने दिन थियो । हामीले विपक्षीमा मतदान गर्न ह्विप जारी गरेका थियौं । उहाँ आएर बोलेर जानुभयो । हाम्रो गु्रपमा पनि ह्विप जारी गरेको जानकारी गराएका थियौं । पछि फोन सम्पर्क पनि गर्यौं । अरु सबै उपस्थित हुनुभयो । उहाँ आउनुभएन,’ उनले भने, ‘त्यसैले पार्टीको विधानअनुसार नै उहाँलाई स्पष्टिकरण सोधेका छौं ।’
पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनिएको नेपालीले बताए । ‘उहाँलाई के कति कारणले उपस्थित हुुनुभएन । पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनेका छौं । त्यसपछि थप प्रक्रिया अगाडि बढ्छ ।’
सांसद गुरुङले आफुले ह्विपबारे जानकारी नपाएको प्रतिक्रिया दिए । ‘मैले हिजो मोबाइल घरमै बिर्सेर गएछु । संसद बैठक बस्नुअघि दलको बैठक बस्थ्यो । हिजो बसेन । जनाउ घण्टी बजेपछि म भित्र गएँ । नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ,’ उनले भने ।
उनले थपे, ‘मेरो व्यक्तिगत काम परेर म निस्किनु थियो । साढे दुई बजेतिर म निस्किएँ । १ बजेर १ मिनेट जाँदा ह्वीप लगाएको म्यासेज आएको रहेछ । संसदभित्र हुँदा ह्वीपको म्यासेज पठाउने हो र रु त्यतिबेला त मोबाइल साइलेन्टमा राख्नपर्छ ।’