दयाहाङ र मिरुनाले टुँडिखेलबाट सुरु गरे ‘घरज्वाइँ’ को प्रचार
काठमाडौं । असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घर ज्वाइँ’ निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको छ ।
शनिवार टुँडिखेलमा सुरु भएको मगरहरूको महान् पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।
शनिवार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घर ज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।
सिनेमाको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए ।
आफू भोजपुरमा जन्मिएको राईको छोरो भए पनि पूर्वी रुकुमको एक मगर युवाको जीवन सिनेमामा बाँच्न पाएको र आफूले यो क्यारेक्टरलाई न्याय दिने दिलोज्यान लगाएकाले सबैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए ।
सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगरले मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न ‘घर ज्वाइँ’ले आफूलाई यो अवसर जुराएको भन्दा निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद दिइन् ।
यस्तै भूमे पर्वमा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
असार २८ गते प्रदर्शनमा आउने ‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।