तेलुगु सुपरस्टार पवन- सतप्रतिशत चुनावी सफलतासँगै भारतीय सत्ता राजनीतिमा ‘किङ मेकर’ – Nepal Press

तेलुगु सुपरस्टार पवन- सतप्रतिशत चुनावी सफलतासँगै भारतीय सत्ता राजनीतिमा ‘किङ मेकर’

काठमाडौं । छिमेकी मुलुक भारतको तेलुगु फ्लिम इन्डस्ट्रीमा कुनै समय पावर स्टारको रूपमा परिचित नाम हो पवन कल्यान । भारतमा सिनेमाका अभिनेताहरूलाई कुन रूपमा अनुशरण गरिन्छ भन्ने कुराको उदाहरणको रूपमा हामीले चर्चित सुपरस्टार अमिताभ बच्चन, रजनीकान्त, सिनियर एन्टिआरलगायतका नायकहरूको मन्दिर नै स्थापना गरेको प्रसंगले आँकलन गर्न सक्छौं भने पवन कल्याण पनि मन्दिर बनाइएर पुजिने नायकहरूको सूचीमा अटाएका अभिनेता हुन भनिसकेपछि उनको प्रसिद्दीलाई अनुमान लगाउने आधार तय हुन्छ ।

बुवा प्रहरी हवलदार र आमा गृहणी रहेको सामान्य परिवारमा जन्मेका पवन कल्याणका दाई चिरञ्जीवी पनि तेलुगु फ्लिम इन्डस्ट्रीका सुपरस्टार हुन् । पवन कल्याण ८ वर्षको रहँदानै उनका दाइ चिरञ्जीवी फ्लिम क्षेत्रमा लागिसकेका थिए भने पवन हुर्किँदै गर्दा उनलाई उनकै दाइ चिरञ्जीवी दाँजेर अनेकन टिका-टिप्पणी हुने गर्थ्यो । यसबाहेक कलेज पढ्दाताका केही साथीहरूले उनका दाइको चलचित्रको मजाक बनाउन थालेपछि उनले उनीहरूलाई जवाफ फर्काउन कराते सिक्ने निधो गरे । कारण जे सुकै होस्, तर अन्तत उनको सोही कराते कौशल उनको लागि “टिकेट टु फ्लिम इन्डस्ट्री’ स्थापित हुन पुग्यो र यसका लागि उनका ‘गड फादर’ बने उनकै दाइ चिरञ्जीवी ।

सन् १९९६ मा ‘ अकडा माई ईकडाबाई ‘ नामक तेलुगु फ्लिममा छिरेका उनले हालसम्म २८ वटा चलचित्रमा अभिनय गरेका छन् । यसो त राजनीतिमा पनि उनले दाइले सन् २००८ मा स्थापना गरेको प्रजा राज्यम पार्टीबाट ‘डेब्यु’ गरेका थिए तर सो पार्टी स्थापना भएको तीन वर्षमा नै भारतीय कंग्रेससँग समायोजन भयो । दाइको पार्टी भारतीय कंग्रेसमा समाहित भएपछि उनी केही समय राजनीतिभन्दा टाढा बसे र सन् २०१४ मा आफ्नै नेतृत्वमा जनसेना पार्टीको स्थापना गरे ।

पार्टी स्थापना भएको एक दशकपछि उनको पार्टीले भारतको आन्द्र प्रदेशमा २१ विधानसभा र २ लोकसभा सीटमा जित निकाल्न सफल भएको छ । यो उनको पार्टीको शत प्रतिशत नतिजा हो । भारतीय सत्तागठबन्धनसँग मिलेर चुनावमा होमिएको पवनको जनकल्याण पार्टीको यो जीतले उनलाई क्षेत्रीय राजनीतिमा त स्थापित गरायो नै तर त्यो भन्दा पनि भाजपा नेता नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालका लागि स्थापित गराउनका लागि पनि अहम भूमिका निर्वाह गर्‍यो । यद्यपि पवनका लागि उनको सिनेम्याटिक क्रेजलाई वास्तविक भोटमा परिणत गराउने कार्य त्यति सजिलो भने थिएन ।

पवनले विभिन्न चलचित्रमा समाजमा परिवर्तन ल्याउनका निमित्त अहोरात्र खट्ने पात्रको भूमिका निर्वाह गरेका छन् । सिनेमाका पर्दाहरूमा सत्तालाई प्रश्न गर्ने पात्रको रुपमा पनि उनलाई औधी रुचाइएको छ । विशेषगरी महिला र युवावर्गमा उनको ‘क्रेज’ थामिनसक्नु छ । सन् २०१४ मा पार्टी स्थापना गरेपछि पवनले आफ्नो रिल क्यारेक्टरलाई रियल क्यारेक्टरको रुपमा स्थापित गराउन भरसक प्रयास गरे । उनले सत्तासिन पार्टीको खुलेर विरोध गरे । मिर्गौलासम्बन्धी रोगको मुद्दा लिएर सडकमा उत्रिए , किसानहरूको मुद्दालाई लिएर अगाडि बढे, अवैध उत्खननको विरोध गरे ।

उनले उठाएका मुद्दाहरुमा कदम चाल्न आन्द्रा प्रदेश सरकार बाध्य भयो, मिर्गौला रोगीहरूको लागि डायलायसीस सेन्टर खोलियो, रोगीहरूलाई पेन्सनको व्यवस्था भयो । धेरै ठाउँमा अवैध उत्खनन् रोकियो ।

पार्टी स्थापनाको वर्षमा चुनावमा भाग नै नलिएका पवनलाई जनतामाझ काम गरेको कारण २०१९ को लोकसभामा सफलता हात पर्ने लागेको थियो । तर, उनलाई जनताले पत्याएनन्, राजनीतीमा हार व्यहोरेपछि उनी पुन: सिनेमाको पर्दामा फर्किए, सन् २०२१ मा उनको नयाँ फ्लिम ‘वकिल साब’ रिलिज भयो । उक्त फिल्लमले एक सातामा १०० करोडको व्यापार पनि गर्‍यो । वकिल साबको सफलता र चुनावको विफलताको कारण अब उनी फेरि राजनितीमा नफर्किने अड्कल समेत काटियो ।

तर, पवनले मिडियामा आएर स्पष्टीकरण दिए- कुनै पनि हार अन्त्य होइन , सुरूवात हो । यही स्पष्टिकरणको केही समयपछि उनले जनवाणी नामक कार्यक्रम सुरू गरे । जसमा उनी आम मानिसको समस्या सुनेर ती समस्या समाधान गर्ने प्रयास गर्थे । सोही समयमा उनलाई एक होटलमा नजरबन्द समेत गरियो । नजरबन्दको उक्त समयलाई सदुपयोग गर्दै पवनले आन्द्रा प्रदेशका पूर्वमुख्यमन्त्री तथा टीडीपी नेता सीबी नाइडुसँग समबन्ध विस्तार गरे । उनी बिजेपी , जेएसपी र टीडीपीको गठबन्धन बनाएर २०२४ को चुनावमा भाग लिन चाहन्थे, तर तत्कालीन समयसम्म बीजेपी यस प्रस्तावमा पूर्ण विश्वस्त थिएन ।

यसैबीच भ्रष्टाचार मुद्दामा सीबी नाइडुलाई पक्राउ गरियो । लोकप्रिय नेता भएकैले सीबी पक्राउको बाबजुत उनलाई आम जनाताले साथ दिइरहेका थिए । पवनले सो कुरा बुझेर सीबी नाइडुलाई जेलमै भेट्न पुगे र आगामी चुनावमा टीडिपी र जेएसपी संयुक्त रूपमा चुनाव लड्ने घोषणा गरे । उनको यो घोषणापश्चात नरेन्द्र मोदीको बिजेपी पनि गठबन्धनमा सहभागी भयो र अन्तत: २०२४ को चुनावपछि उनी भारतीय राजनितीका किङ मेकर र आन्द्र प्रदेशका डेप्युटी सीएमको रूपमा स्थापित हुन पुगे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर