श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिनको कामको फेहरिस्त (पूर्णपाठ) – Nepal Press

श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिनको कामको फेहरिस्त (पूर्णपाठ)

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन् ।

मन्त्री अर्यालले प्राप्त नतिजा तथा प्रभावलाई ४ वटा बुँदामा राखेका छन् । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको, श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह चुस्त र र प्रभावकारी भएको, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढेको र श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको प्रगति विवरणमा उल्लेख छ ।

साउन १ गतेदेखि विदेशी नियोगहरुमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने उनले बताए । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगमा सुरुवात गरिने जानकारीसमेत गराए ।

अहिलेसम्म प्रमुख श्रम गन्तव्यमा अनलाइन प्रणालीको विकास नहुँदा रोजगारदाता कम्पनीले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्ने जस्ता गुनासा आएकाले त्यसलाई अनलाइन प्रमाणीकरण गर्ने कार्य दुबईमा सुरूवात गरिउको उनको भनाइ छ ।

डिग्री पास अंग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएरमात्रै जान पाउने विवादास्पद कार्यविधि खारेज गरिएको उनले बताए । जापान, कोरिया र इजरायलमा कामदार भिसाका श्रमिक पठाउने विषयमा अध्ययन भन्दै उनले यसमा छिटो निर्णयमा पुग्ने बताए ।

श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएको पनि सुनाए । उनका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने गरी गृहकार्य भइरहेको छ ।

सरकारले प्रयास जतिसक्दो चाँडो देश बस्न लायक बनाउने रहेको उनको भनाइ छ ।

यस्तो छ मन्त्री अर्यालले सार्वजनिक गरेको १०० दिनको कामको फेहरिस्त


प्रतिक्रिया

One thought on “श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिनको कामको फेहरिस्त (पूर्णपाठ)

  1. श्रममन्त्रीले एक सय दिनमा गरेको प्रगती १५ पेँज लामो बिबरण प्रस्तुत गर्नु भएको छ । यो बिबरण हेर्दा लाग्छ मन्त्रीले गजवको उपलब्धी हासिल गर्नु भएकै हो । यति राम्रो उपलब्धी विगतमा सायदै भएको थियो होला । हेरौँ त वहाँले हात पार्नु भएको केही उपलब्धीहरु यस्ताछन् । वहाँको प्रतिवेदनको दफा नं हुन यी ।
    ५.३ श्रम कानूनको परिपालनका सम्बन्धमा ११२२ वटा प्रतिष्ठानहरुको निरीक्षण गरिएको,
    ५.४ ११८७ प्रतिष्ठान बाट श्रम अडिट प्रतिवेदन प्राप्त भएको,
    ५.५ १०४२ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण सम्पन्न भएको ।
    ५.६ “श्रमिकसँग श्रममन्त्री अभियान”लाई नेपालगञ्ज औद्योगिक क्षेत्रबाट शुरु गरिएको ।
    न्युनतम पारिश्रमिक कार्यान्वयन नभएको पनि फेला पार्नु भएन छ ।
    विदेश पठाउने नाममा नेपाल मै ठगीमा परेर विगत पाँच महिनादेखि श्रमिक वैदेशिक रोजगार विभागमा धाइ रहेको पनि देख्नु भएन छ ।
    श्रमिकलाइ दुइ महिना काम गराएपछि एक महिनाको मात्र पारिश्रमिक दिने प्रतिष्ठान पनि देख्नु भएन छ । तै पनि यति धेरै उपलब्धी अझ आगामी कामको प्रस्ताव हेर्दा त लाग्छ अब चाँही नेपाली यूवा काम गर्न भनेर विदेश फितिक्कै जाने छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर