आईसीसी ! नेपालको भिडिओ हालेर भ्युजमात्रै बटुल्ने कि अवसर पनि दिने ?
काठमाडौं । नेपालले १० वर्षपछि दोस्रो पटक टी-२० विश्वकपमा भाग लिँदै गर्दा विश्व क्रिकेट जगतको ध्यानाकर्षण गर्न सफल भएको छ । हिजो भएको खेलमा साउथ अफ्रिकालाई झण्डैले जितेपछि नेपालको वाहवाही गर्न कोही पनि पछि परिरहेका छैनन् ।
विश्व क्रिकेटका थुप्रै महारथीहरुले सामाजिक सञ्जालमा नेपाली टीमलाई सहानुभूति र हौसला दिँदै स्टाटस लेखे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)देखि इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाइजसम्मले नेपाली टीमको गुणगानमा शब्द खर्चिरहेका छन् । सर्वत्र वाहवाही सुनेर भावविभोर भइरहेका छन् नेपाली समर्थक । तर, प्रश्न यो उठ्छ कि नेपालप्रति दर्शाइएको यो प्रेम र सहानुभूतिको आयु कति लामो होला ? सबैले नेपाली क्रिकेटलाई मनैदेखि समर्थन गरेका हुन् वा सामाजिक सञ्जालमा फलोअर्स बढाउने र भ्यूज कमाउने चक्करमात्र हो ? उनीहरुबाट भविष्यमा नेपाली क्रिकेटको उत्थानमा कुनै सहयोगको अपेक्षा गर्न सकिएला कि नसकिएला ?
यो विश्वकपमा अहिलेसम्म आईसीसीले नेपालको जति उत्साहपूर्वक अरु टीमबारे सायदै सामाजिक सञ्जालमा पोस्टहरु गरेको होला । नेपालसँग सम्बन्धित कुनै पनि पोस्टमा हुने इंगेजमेन्टले आईसीसीलाई पक्कै आल्हादित तुल्याएको हुनुपर्छ । नेपाली टीम र खेलाडीबारेका कुनै पनि पोस्टहरु ह्वारह्वार्ती सेयर हुन्छन् । लाइक र कमेन्टको वर्षा हुन्छ । नेपालको खेल लाइभ गर्दा र अरुको खेल लाइभ गर्दाको भ्युजको फरक पनि आईसीसीले विश्लेषण गरेको होला । आईसीसीले मात्र होइन, नेपालको प्रशंसामा पोस्ट गर्ने सबैले त्यसमा कति कमेन्ट आए र कति फलोअर्स थपिए भनेर हिसाबकिताब गरिरहेकै होलान् ।
नेपालमा क्रिकेटप्रतिको उग्र प्यासन अहिलेमात्रै प्रकट भएको होइन । अन्तर्राष्ट्रिय क्रिकेट समुदायले वाहवाही गरेको पनि पहिलो पटक होइन । एसियन गेम्समा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाउँदा होस् वा एसिया कपमा भारतलाई आच्छु आच्छु पार्दा, सबैले मुक्तकण्ठले प्रशंसा गरेकै हुन् । समर्थकहरु रुखमा झुण्डिएर खेल हेरेको तस्वीर सेयर गर्दै नेपालीको असामान्य क्रिकेट मोहप्रति क्रिकेट जगत नतमस्तक बनेकै हो । तर, यो सबै चर्चा र वाहवाही बच्चाले राम्रो नाच्दा ठूलाबडाले ताली बजाएर फुर्क्याए जस्तोमात्र भइरहेको छ ।
हामीलाई अब फोस्रो प्रशंसामात्र होइन, यहाँभन्दा अगाडि बढ्न अन्तर्राष्ट्रिय समुदायको साथ र ठोस सहयोग चाहिएको छ । नेपालको गुणगान गाएर नथाकेका डेल स्टेनले नेपालसँग साउथ अफ्रिकाले क्रिकेट सिरिज आयोजना गर्न त्यहाँको बोर्डलाई घच्घच्याउन सक्छन् ? अबको १० वर्ष नेपाल एउटा हेर्नुपर्ने टीम हुनेछ भनेर ट्वीट लेख्ने भारतीय विश्लेषक सञ्जय मान्जरेकरले आईपीएल फ्रेन्चाइजहरुमा नेपाली खेलाडीलाई स्थान दिइयोस् भनेर अर्को ट्वीट गर्न सक्छन् ?
हामीलाई यो डर छ कि विश्वकपपछि सबैले नेपाल बिर्सिनेछन् । जसरी सन् २०१४ को विश्वकपपछि बिर्सिएका थिए । नेपाललाई फेरि विश्वस्तरीय प्रतियोगितामा फर्किन १० वर्ष लाग्यो । अब फेरि कति वर्ष लाग्छ ठेगान छैन । ‘ठूला’ टीमसँग फेरि कहिले प्रतिस्पर्धा गर्न पाउँछ निधो छैन । विश्व महाशक्तिहरुलाई टक्कर दिने हैसियत बनाएको नेपाल अझै पनि मंगोलिया र कतारलगायतसँग प्रतिस्पर्धा गर्न अभिशप्त छ । नेदरल्यान्ड्स, यूएईदेखि हङकङसम्मले टेस्ट राष्ट्रहरुसँग सिरिज खेलिसकेका छन् । तर, हामीलाई अझै पनि यो अवसर मिलेन । हाम्रै वरिपरि क्रिकेटका महाशक्तिहरु छन् । भारत हाम्रो साँध जोडिएको छिमेकी हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान छेउछाउमै छन् । तर, अहिलेसम्म यी कुनै पनि राष्ट्रसँग नेपालले सिरिज खेल्न पाएको छैन ।
नेपालमा गतिलो रंगशाला नहुनुको दुःख आफ्नो ठाउँमा छ । तर, आईसीसी र सम्बन्धित देशको बोर्डले चाहेमा रंगशालाले अड्किँदैन । ती देशले नै नेपाली टीमलाई भ्रमणमा निम्त्याउन सक्छन् । अथवा तटस्थ मैदानका रुपमा तेस्रो देशमा आयोजना गर्न सकिन्छ । पटक पटक आफ्नो क्षमता प्रमाणित गरिसक्दा पनि खोइ त नेपाली टीमलाई त्यो अवसर ?
आईसीसीले आजसम्म नेपाली क्रिकेटलाई माथि उठाउन कति सहयोग गर्यो भन्ने प्रश्नको जवाफ खोज्दा निराशा हात पर्छ । नेपालका प्यासनेट फ्यानहरुको तस्वीर र भिडिओ हालेर प्रशंसाको गीत गाउनेबाहेक आईसीसीबाट नेपालप्रति सायदै कुनै सदासयता देखाइएको छ । नेपालमा क्रिकेटको लोकप्रियता संसारलाई देखाउन पाए आईसीसीलाई पुग्यो । चाहेको खण्डमा आईसीसीले नेपाली क्रिकेटलाई मलजल गर्ने धेरै ठाउँहरु छन् । नेपाललाई दिने अनुदान बढाउन सक्छ । टेस्ट राष्ट्रहरुसँग सिरिज मिलाइदिन सक्छ । चाँडै टेस्ट मान्यताका लागि रोडम्याप बनाइदिन सक्छ ।
त्यसो त आईसीसी आफैं कति स्वछन्द छ भन्ने प्रश्न पनि उठ्छ । धेरैले आईसीसीलाई भारतीय क्रिकेट बोर्ड बीसीसीआईको ‘छोटे भाइ’का रुपमा चित्रण गर्छन् । बीसीसीआई संसारकै सबैभन्दा धनी र शक्तिशाली क्रिकेट बोर्ड हो । तर, छिमेकी देश नेपालको क्रिकेटप्रति कहिल्यै उसले सहयोगी व्यवहार देखाएन । नेपालले बीसीसीआईसँग एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा सहयोग गर्न प्रस्ताव गरेको पनि धेरै भइसक्यो । तर, बीसीसीआई यो प्रस्तावमा कहिले पनि सकारात्मक भएन ।
नेपालमा क्रिकेटले सफलताको खुड्किलो चढ्न थालेपछि यसको जस लिन भारतले विभिन्न ‘नाटक’ चाहिँ सुरु गरेको छ । भारतीय विदेशमन्त्री नेपाल आउँदा राष्ट्रिय टीमका खेलाडीलाई बोलाएर भेटे । भारतीय एम्बेसीले ठूलो हल्लाखल्लासहित खेलाडीहरुलाई एकएक वटा ब्याट बाँड्यो । विश्वकपअघि नेपाली टीमलाई अभ्यास खेलाउने भन्दै भारतले निम्त्यायो । तर, अपमानजनक तरिकाले लोकल क्लवहरुसँग खेलायो । अहिलेसम्म भारतको राष्ट्रिय टीम त के ‘ए’ टीमलाई पनि नेपालसँग खेलाउन बीसीसीआई तयार छैन ।
नेपाल र दक्षिण अफ्रिकाको म्याचपछि भारतीय क्रिकेट लिग आईपीएलका अधिकांश फ्रेन्चाइजहरुले नेपाली टोलीको प्रशंसामा शब्द खर्चिंदै सामाजिक सञ्जालमा पोस्ट गरे । तर, यी फ्रेन्चाइजीहरुले कहिल्यै नेपाली खेलाडीलाई आफ्नो टीममा मौका दिन चाहेका छैनन् । सन्दीप लामिछानेपछि कुनै नेपाली खेलाडीले आईपीएल खेल्न पाएका छैनन् । हरेक पटक थुप्रै खेलाडीले नाम दर्ता गराउँछन् । तर, उनीहरुलाई अक्सनमा समेत राखिँदैन । अन्य देशका चर्चित लिगहरुमा पनि नेपाली खेलाडीहरुलाई विश्वास गरिएको छैन ।
समस्याको चुरो भने हामी आफैंभित्र छ । क्रिकेटले यत्रो लोकप्रियता पाइरहँदा, दुई पटक विश्वकप खेलिसक्दा पनि नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला छैन । योभन्दा लज्जास्पद के हुन्छ ? अहिले नेपाल जहाँ छ, त्यो केवल खेलाडीको प्रतिभा र मेहनतले सम्भव भएको हो । यसमा राज्यको योगदान शून्यप्रायः छ भन्दा पनि हुन्छ । प्रतियोगिता जितेपछि नगद पुरस्कार बाँड्नुलाई नै हरेक सरकारले ठूलो उपलब्धि सम्झिए । घरेलु क्रिकेटको संरचना बलियो बनाएर नयाँ खेलाडीहरु उत्पादन गर्ने, खेलाडीको भविष्य सुनिश्चित गर्ने, राष्ट्रिय टीमको अन्तर्राष्ट्रिय एक्सपोजर बढाउनेतर्फ कुनै काम भएन । यद्यपि, अहिले क्रिकेट संघमा पारस खड्का आएपछि केही कामहरु अघि बढेका छन् ।
नेपालका नेताहरुलाई त नेपाली टीमलाई बधाई दिने नैतिक बल पनि नहुनुपर्ने हो । पटक पटक सरकारमा बसेर एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला पनि बनाउन नसक्नेले कुन मुखले शुभकामना र बधाई दिइरहेको छन् ?
लेखकको उचित बिचालाई सम्मान छ!🫡
सहि बिस्लेसण र बिचारको लागि धन्यवाद सर।