पेट्रोलियम पदार्थ ढुवानीमा हड्ताल गरेपछि ट्यांकर चालकका नेतालाई मन्त्रालय बोलाइयो
काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरूमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हड्ताल गर्न बर्जित छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
‘आन्दोलनरत पक्षसँग छलफल थालेका छौं । आज बेलुकासम्ममा केही निष्कर्ष आउला’, उनले भने ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको संघले जनाएको छ ।
पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् ।
संघले गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै ७ बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरूपमा काम छोडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।