मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिल गए मेयर बालेन – Nepal Press

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिल गए मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका छन् ।

यही असार ५-६ गते (जुन १९-२०) मा ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ । आज बिहान सवा २ बजेको उडानबाट मेयर शाह ब्राजिल गएका हुन् । उनको साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् ।

मेयर शाहलाई प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए ।

मेट्रोपोलिस विश्वका ठूला महानगरका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय संस्था हो ।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा प्रमुख शाहले प्यानलिष्टका रूपमा धारणा राख्ने छन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति बहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।

बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।

शाह यही असार ८ मा स्वदेश फर्किने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *