संसद सचिवालयका कर्मचारीकाे मागबारे बैठक सकारात्मक, भोलि अर्थमन्त्रीसँग बस्ने (भिडिओ) – Nepal Press

संसद सचिवालयका कर्मचारीकाे मागबारे बैठक सकारात्मक, भोलि अर्थमन्त्रीसँग बस्ने (भिडिओ)

काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सकारात्मक भएको छ ।

राज्यव्यवस्था समितिको हलमा बसेको बैठकले कर्मचारीको न्यायोचित माग सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्छ । माग पूरा गर्नको सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेछ । यो मागबारे सकारात्मक छौं । भोलि नै अर्थमन्त्रीसँग छलफल गरेर कर्मचारीलाई आन्दोलनको तहमा नपुर्‍याउने सहमति भएको छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कर्मचारीले गरेको श्रमअनुसारको सेवा सुविधा पाउनुपर्छ भन्नेमा सबै एकमत रहेको बताए ।

उनले भने, ‘संसद सञ्चालन गर्नको लागि सरकारले आवश्यक अर्थको व्यवस्था गर्नुपर्छ । ससद्ले पनि मितव्ययी ढंगले खर्च गर्नुपर्छ ।’

बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी थिए । संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन् ।

कर्मचारीहरूले भने आजको प्रारम्भिक छलफलमात्रै भएकाले कुनै ठोस सहमति नभएको बताएका छन् । अर्थमन्त्रीसँग छलफल गरेर जवाफ दिन्छु भनेपनि आफूहरूको आन्दोलन फिर्ता नभएको एक कर्मचारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर