पेट्रोलियम पदार्थका विषयमा देखिएको समस्या समाधान गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
कृत्रिम अभाव गराउनेविरुद्ध जो कोहीलाई कानून बमोजिम कारबाही गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रूपमा प्रयोग गर्न पाउने हकबाट बञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न माग गरेका हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा आम सर्वसाधारण उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट बञ्चित भई बजारमा नागरिकहरु आतंकित बनेको हुँदा तत्काल आपूर्ति व्यवस्था सहज गराई वार्ता र संवादमार्फत समस्याको समाधान गर्न नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग जोडदार माग गर्दछौं ।’
बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरुमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानून बमोजिम कारबाही गर्न माग गरेको छ ।
विधिको शासन र कानूनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रद्धत उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनको लागि सरकारसँग आग्रह गरेको छ ।