कृषि तथा पशु सेवा प्राविधिकको पारिश्रमिकको लागि ३२ करोड निकासा
काठमाडौं । संघीय सरकारले ६१४ पालिकामा कार्यरत १ हजार ८६२ कृषि तथा पशु सेवा प्राविधिकका लागि ३२ करोड रकम निकासा गरेको छ ।
संघीय सरकारअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गाविस एक कृषि तथा पशु सेवा प्राविधिक’को पारिश्रमिकस्वरुप ३२ करोड २ लाख ६४ हजार रकम साबिकको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक सहायक पदमा करारमा नियुक्त भएर काम गरिरहेका कर्मचारीका लागि निकासा गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ को ‘एक गाविस एक कृषि तथा पशु सेवा प्राविधिक कार्यक्रमअनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ तथा एक गाउँ एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ अनुसार प्राविधिक कर्मचारी कार्यरत थिए । राज्य पुनर्संरचनासँगै साविकका गाविस अहिलेको जुन स्थानीय तहमा पर्छ, सोही स्थानीय तहमा कामकाज गर्ने गरी व्यवस्थापन भइरहेका छन् ।
मन्त्रालयमा अध्यावधिक तथ्यांकअनुसार अहिले ६१४ स्थानीय तहमा कृषि तथा पशु सेवातर्फ गरी जम्मा १ हजार ८६२ जना प्राविधिक कार्यरत छन् । ती प्राविधिक साविक जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट नियुक्त भई सेवा निरन्तरता गरिरहेको सन्दर्भमा आर्थिक वर्ष २०८१/०८२ को लागि मन्त्रालयलाई सशर्त अनुदानमा प्राप्त बजेट सिलिङको अधिनमा रहेर बजेट विनियोजन गर्दा मन्त्रालयले प्रतिप्राविधिक १ लाख ७२ हजारमात्र स्थानीय तहलाई उपलब्ध गराएको हो ।
आव २०७२/७३ देखि करार सेवामा नियुक्त भई निरन्तर प्राविधिक सेवा पुर्याइरहेका प्राविधिकको निरन्तरताबाट स्थानीय तहको प्राविधिक सेवा प्रवाहमा थप टेवा पुग्ने भन्दै सम्बन्धित प्राविधिकको कार्यसम्पादनका आधारमा चालू आव २०८१८२ मा पनि सेवालाई निरन्तरता दिन मन्त्रालयले परिपत्रमा भनेको छ, तर बाँकी आवश्यक बजेट सम्बन्धित स्थानीय तहबाटै व्यवस्था गर्न गत जेठ ३१ गतेको सचिवस्तर निर्णय भएको परिपत्रमा उल्लेख छ ।