एमाले सांसद पन्तको प्रश्न- देशको अर्थतन्त्र संसदको पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयका कर्मचारीले ओभरटाइम काम गरेको सेवा सुविधा कानूनअनुसार पाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा बस्नु सुखद् नभएको बताए ।
उनले भने, ‘संसदका कर्मचारीले कोभिडपछिको कुनै पनि भत्ता पाउनुभएको छैन । उहाँहरूले ओभरटाइम काम गरेको भत्ता अहिले पनि नपाउने भन्ने त अन्याय हो नि ! अर्थमन्त्रालय र अन्तका कर्मचारीले पाउने, अनि संसदका कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौं सभामुखलाई सहयोग गर्न बस्ने कर्मचारीहरु हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसद्मा यो दृष्य उपस्थित हुनु आफैंमा दुखद् कुरा हो ।’
उनले सांसदहरूका लागि संसदमा ल्याइने पत्रिका समेत कटौती भएको बताए ।
उनले थपे, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरंलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र ?’