उपत्यकामा पेट्रोलियम पदार्थ बिक्री सहज बन्दै
काठमाडौं । हिजो दिनभर पेट्रोलियम पदार्थ अभाव झेलेका ग्राहकलाई आज सहज भएको छ । राजधानीका पम्पहरूमा अहिले विस्तारै इन्धन भर्नेको चाप घटेको छ । ट्यांकर चालक र निगमबीच हिजो सहमतिसँगै ढुवानी थालिएको थियो ।
नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिले काठमाडौंको पम्पहरूमा सहज रूपमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको बताए ।
उनले भने, ‘अहिले पेट्रोलिय पदार्थ ढुवानी सहज भएपछि पम्पले इन्धन दिरहेका छन् । निगमले हिजो राती अबेरसम्म इन्धन विक्री गरेकाले पनि अहिले सहज भएको हो । निगमसँग सम्झौता गरेका पेट्रोल ढुवानी गर्ने २६०, डिजेल ढुवानी गर्ने १५० र पम्पहरूले ढुवानीका लागि राखेका ७० वटा ट्यांकर इन्धन ढुवानी गरिरहेका छन् ।’
पेट्रोल भारतको बरनी र डिजेल अमलेखगञ्जबाट ढुवानी हुने गरेको छ ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरुले आवश्यक सेवा सुविधा विना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।