सोचे झैं जिन्दगी रैनछ ! गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि समस्याग्रस्त
टिकटक लाइभमा रुँदै भनिन्- पेटमा बच्चा छ, श्रीमानको टर्चर सहन गाह्रो भो
काठमाडौं । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको निजी जीवनमा पनि सोचे झैं केही भइरहेको छैन । पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् ।
मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् ।
यद्यपि, मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन्। उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घाेषणा गरिसकेकी थिइन्।
अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।
अष्ट्रेलिया पुगेपछि मधु र छोरी दुवैले जागीर गरिरहेका थिए । तर, केही समयपछि श्रीमान-श्रीमतीको सम्बन्धमा तनाव सुरु भयो । दुवैले एक-अर्काप्रति शंका गर्न थालेका थिए । आफूसँग बिहेपछि पनि श्रीमान अरुसँग सम्बन्धमा रहेको मधुको शंका थियो भने सुरेशले पनि पत्नीप्रति यस्तै शंका गर्थे । यही कारणले उनीहरूबीच तिक्तता बढेको निकट स्रोत बताउँछ ।
मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटक-पटक दुर्व्यवहार गरेका थिए । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेको उनको गुनासो छ । अन्ततः मधु श्रीमानसँग बस्नै नसक्ने अवस्थामा पुगिन् । करिब तीन महिनाअगाडि उनी छोरीलाई लिएर सुटुक्क घरबाट निस्किइन् । त्यसपछि एउटा रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्न थाले ।
श्रीमती घरबाट निस्किएपछि सुरेशले खोजीनीति गरे र फेला पार्न पनि सफल भए । मधुलाई रेस्क्यू सेन्टरमा भेटेर उनले माफी मागेका थिए । त्यसपछि बुवाआमालाई सँगै नराख्ने शर्तमा मधु घर फर्किन तयार भइन् । त्यसपछि सुरेशका आमाबुवा अष्ट्रेलियामा नै बस्ने अर्को छोरासँग बस्न थाले ।
केही दिनसम्म राम्रै चल्यो । मधु गर्भवती भइन् । मधुका अनुसार उनले बच्चा जन्माउन नचाहेको भए पनि श्रीमानको चाहनाका कारण एबोर्सन नगराएकी हुन् । तर, फेरि उनीहरूबीच खटपट सुरु भयो । यसबीचमा श्रीमानले कुटपिटसमेत गरेको आरोप मधुले लगाएकी छन् ।
उनी भन्छिन्, ‘हुनुपर्ने छ भने केही गरे पनि जाँदो रहेनछ । श्रीमानसँग सम्बन्ध राम्रो छैन, पैसा छैन, के बच्चा पाउनु भन्ने लागेको थियो । तर, कुटपिट भएपछि बच्चा गएनछ । पिरियड रोकिएपछि किट ल्याएर चेक गर्दा पोजिटिभ देखायो । फेरि अर्को मनमा श्रीमानसँग जेसुकै भए पनि यो उमेरमा आमा हुन पाएको छु भनेर चित्त बुझाएँ ।’
अन्ततः उनले टिकटक र फेसबुकबाटै आफ्नो धरापमा परेको वैवाहिक सम्वन्धबारे खुलासा गरिन् । उनले फेसबुकमा स्टाटस लेखेर श्रीमानमाथि तथानाम गाली गरेकी छन् । यो प्रकरणमा मधुका श्रीमान सुरेशको साइडबाट कुनै पनि भनाइ आएको छैन । यद्यपि, उनले फेसबुकमा प्रतिक्रिया लेख्दै एकजनाको कुरा मात्र सुनेर आफूलाई गाली नगर्न अपिल गरेका छन् ।
लुगा फेरे झै विवाह फेर्ने सबैको यस्तै गति हुनुपर्छ !
महिलाको मात्रै एकतर्फी कुरा सुनेर यस्तो समाचार लेख्नु कत्तिको जायज हो?