सुदूरपश्चिम माओवादीमा दलको नेता फेर्न फेरि गृहकार्य, बालुवाटार पुगेका ११ सांसदलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’
कैलाली । सुदूरपश्चिम प्रदेशमा फेरि माओवादी संसदीय दलको नेता फेरिने भएको छ । आज माओवादीका ११ सांसदहरूलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा यस विषयमा छलफल भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई मन्त्री नियुक्तिमा निवेदन नै हालेर विरोध जनाएका थिए ।
तर, ओमविक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी विक नियुक्त भए । आज पनि ती विषयमा छलफल भएको एक सांसदले बताए । उनकाअनुसार प्रधानमन्त्रीले आफूले मन्त्री पठाउने विषयमा निर्देशन नदिएको बताएका थिए ।
‘सरकारमा सहभागी हुँदा प्रधानमन्त्रीबाट नाम आएको भन्दै हिँड्नुभएको थियो तर, अहिले त्यो कुरा पनि प्रस्ट भयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘पार्टी अध्यक्षको निर्देशनविना सरकारमा सहभागी गराइएको आज प्रस्ट भयो ।’
बिहान ९ः३० देखि १२ः३० बजेसम्म भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले तत्काल दलको बैठक राखेर संसदीय दलको नेता परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बतायो ।
अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफूसँग बहुमत रहेको र बहुमतको आधारमा विधिअनुसार संसदीय दलको नेता भएको बताएका थिए । जवाफमा प्रचण्डले खगराज भट्टको पक्षमा पनि पाँच सांसद रहेको, सभामुखलाई निष्पक्ष हुँदा दुबै पक्षमा बराबर रहेको र तत्काल भट्टलाई नै दलको नेता बनाउनुपर्ने बताएका थिए ।
तीन घण्टासम्म भएको छलफलमा सभामुखसहित सुदूरपश्चिम प्रदेशका सबै माओवादी सांसद, पार्टी इन्चार्ज गिरीराजमणि पोखरेल, सह इन्चार्ज विना मगर र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ सहभागी थिए । उनीहरूकै अगाडि प्रचण्डले दलको नेता परिवर्तन गर्नुपर्ने बताए ।
मन्त्रीहरू भर्खरै सरकारमा सहभागी भएको हुँदा अहिले मन्त्रीलाई फिर्ता नबोलाउने तर, दलको नेता परिवर्तन गर्ने निर्देशन दिएको बैठकमा सहभागी अर्का सांसदले नेपाल प्रेसलाई बताए ।
संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५-५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।
धामी पक्षमा एक सांसदले पनि प्रधानमन्त्रीसँग छलफल भएको तर, तत्काल संसदीय दलको नेता परिवर्तनको सम्भावना नरहेको बताउँछन् ।
‘छलफल भएको हो । मानबहादुर धामीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो । दलको बैठक राख्ने कुरा भएको छ । उक्त बैठकमा धामीकै बहुमत भए दलको नेता परिवर्तन हुँदैन’, धामी पक्षमा सांसदले भने ।