३९ वर्षको उमेरमा युरो कप खेल्दै रोनाल्डो, तोड्नेछन् आफ्नै धेरै कीर्तिमान
काठमाडौं । पोर्चुगलले चेक गणतन्त्रसँग खेल्दै मंगलबार युरो कप फुटबल यात्रा सुरु गर्दा फुटबलका एक ‘महान’ खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि विश्व फुटबलको नजर पर्नेछ ।
रोनाल्डो कप्तान भएकाले उनले सुरुवाती टोलीमै ठाउँ बनाउन सक्नेछन् । रोनाल्डो कीर्तिमानी छैटौं पटक युरो कप संस्करण खेल्दैछन् । उनले अघिल्लो पटक खेल्दै युरो कपको सर्वाधिक संस्करण खेल्ने कीर्तिमान बनाएका थिए ।
हरेक वर्ष आफ्नै उमेरलाई चुनौती दिइरहेका उनी अहिले पनि उत्तिकै तेज देखिन्छन् । रोनाल्डोले साउदी अरबको प्रो लिग क्लब अल नासरका लागि पछिल्ला ३१ लिग खेलमा ३५ गोल गरेका छन् । सन् २०१६ मा रोनाल्डोले युरो कप जितेका थिए । फाइनलमा केही समयपछि उनी घाइते भए पनि पोर्चुगलले फ्रान्सलाई हराएर पहिलो पटक युरो कप जितेको थियो । अघिल्लो संस्करणमा भने पोर्चुगल प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
रोनाल्डोको नाममा थुप्रै विश्व कीर्तिमान छन् । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १३० गोल गरेका छन् । उनी सन् २००३ देखि लगातार सिनियर राष्ट्रिय टोलीमा छन् । सन् २००४ मा आयोजित युरो कपमा पोर्चुगल फाइनलसम्म पुगेको थियो । सन् २००८ को संस्करणमा क्वाटरफाइनल र २०१२ मा सेमिफाइनलसम्म पुगेको थियो ।
उनी युरो कपका सर्वाधिक गोलकर्ता पनि हुन् । रोनाल्डोको नाममा १४ गोल र ७ असिस्ट छ । दोस्रो स्थानमा रहेका फ्रान्सका पूर्वखेलाडी मिचेल प्लाटिनीको नाममा ९ गोल अंकित छ ।
रोनाल्डोले हालसम्म युरो कपमा २५ खेल खेलेका छन्, जसमध्ये १२ खेल जितेका छन् । यो कुनै पनि खेलाडीले युरो कपमा हात पारेको सर्वाधिक जीत हो ।
यस्तै रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कपका १६ खेल खेलेको छ, जुन युरो कपमा कुनै पनि खेलाडीले सर्वाधिक खेलमा कप्तानी गरेको सर्वाधिक संख्या हो । चेक रिपब्लिकसँगको खेलअघि रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छ, मैले फुटबल खेल्न अब धेरै वर्ष बाँकी छैन । एकपछि अर्को वर्ष फुटबल खेल्नु उपहार हो । ३५ वर्षपछि (अघिल्लो पटक खेल्दा) अहिले ३९ वर्षको भएँ । हरेक वर्ष म आनन्द लिइरहेको छु ।’
यस पटकको युरो कपमा पोर्चुगलले पहिलो चरणमा टर्की र जर्जियासँग पनि खेल्नेछ । एक साताअघि भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले आयरल्यान्डलाई ३-० गोलले हराउँदा रोनाल्डोले २ गोल गरेका थिए । त्यसको चार दिनअघि क्रोएसियासँग २-१ गोलले पराजित भएको थियो ।
पोर्चुगलको टोलीमा ४१ वर्षीय डिफेन्डर पेपे र ३६ वर्षीय गोलकिपर रुई पेट्रिसियो पनि छन् । लिभरपुलका लागि खेलिरहेका डिएगो जोता, एसी मिलानका राफायल लियो, बार्सिलोनाका जोवा फेलिक्स, पेरिस सेन्ट जर्मनका गोन्कालो रामोस, ड्यानिलो पेरेइरा, नुनो मेन्डेस र भिटिन्हा, म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भा र रुबेन डियास पनि पोर्चुगलको टोलीमा छन् । म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका डिएगो दालोत पोर्चुगलको रक्षापंक्तिमा रहनेछन् ।