शिक्षामा राजनीतीकरणको अन्त्य शुरु, ८२५ शिक्षकले दलको सदस्यता त्यागे: शिक्षामन्त्री श्रेष्ठ – Nepal Press

शिक्षामा राजनीतीकरणको अन्त्य शुरु, ८२५ शिक्षकले दलको सदस्यता त्यागे: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतीकरणको अन्त्य शुरु भएको भन्दै ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन् ।

मन्त्री भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैउनले अहिलेसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक सार्वजनिक गरिन् ।

उनले आफू मन्त्री भएपछि ४५ शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जनासँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको जानकारी दिइन् । त्यस्तै २० शिक्षकले राजीनामा दिएको उनले बताइन् ।

मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता जनाएकी छन् । उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने सुनाइन् ।

यस क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि शुरुवात भएको उनले उल्लेख गरिन् । शिक्षामन्त्री श्रेष्ठले सरकारले मात्रै गर्नेभन्दा पनि सबैको सहयोग आवश्यक रहेको बताइन् ।

उनले सबैको साथ र सहयोग भएमात्रै यो एजेण्डाले सार्थकता पाउनसक्ने बताइन् ।

‘यो शुरुवात हो, यो गर्नुपर्ने काम छ । यो काम गर्न सबैले सहयोग गर्नुभयो भने चाँडै हुन्छ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यो सरकारको मात्रै हो भन्यो भने गाह्रो हुन्छ ।’

शिक्षामा दलीय राजनीतीकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीको शिक्षण पेसामा मर्का पुर्‍याइरहने उनको भनाइ छ ।

मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर