जारी टी-२० विश्वकपका ५ `थ्रिलर´, जाे लामाे समय यादगार रहनेछन् – Nepal Press

जारी टी-२० विश्वकपका ५ `थ्रिलर´, जाे लामाे समय यादगार रहनेछन्

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा समूह चरणका खेल सकिएका छन् । २० राष्ट्र सहभागी विश्वकपमा १२ टीम समूह चरणबाट बाहिरिँदा ८ टीमले सुपर–८ मा आफ्नो स्थान पक्का गरेका छन् । समूह चरणका खेल सकिँदा ४ टीम अपराजित छन् भने ४ टीम जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

विश्वकपको समूह चरणमा केही खेल यस्ता भए, जुन क्रिकेट समर्थकले छिट्टै बिर्सन सक्दैनन् । ती खेलमध्ये केही खेललाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

नामिबियाविरुद्ध ओमान

टी–२० विश्वकप क्रिकेटमा नामिबिया र ओमनबिचको खेल सुपर ओभरमा जाने पहिलो खेल हो । विश्वकपको तेस्रो खेलमा सुपर ओभरमा नामिबियाले ओमनलाई पराजित गरेको थियो ।

ओमनले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएको नामिबियाविरुद्ध ओमनका मेहरान खानले महत्त्वपूर्ण २ विकेट लिएसँगै खेल सुपर ओभरमा धकेलिएको हो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको नामिबियाले २१ रन जोड्यो । जवाफी ब्याटिङ गरेको ओमन १० रनमा समेटिँदै हार बेहोर्यो । यी दुवै टोली समूह चरणबाट बाहिरिइसकेका छन् ।

पाकिस्तानविरुद्ध अमेरिका

जारी विश्वकपमा दोस्रो सुपर ओभरमा गएको खेल पाकिस्तान र अमेरिकाबिचको खेल हो । उक्त सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई स्तब्ध पारेको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजमको ४४ र शादाब खानको ४० रनको मद्दतमा १ सय ६० रन जोड्यो ।

जवाफी ब्याटिङमा मोनक पटेलले ५० र आरोन जोन्सले ३६ रनको योगदान दिँदा अमेरिकाले खेल बराबरीमा पुर्याएपछि खेल सुपर ओभरमा धकेलिन पुग्यो । अमेरिकाले १९औँ ओभरमा १४ र अन्तिम ओभरमा १८ रन जोडेको थियो ।

सुपर ओभरमा अमेरिकाले १८ रन बनायो र त्यसपछि अमेरिकाका सौरभ नेत्राभाल्करले शानदार बलिङ प्रदर्शन गर्दै पाकिस्तानलाई ५ रनले पछाडि पार्न सफल भए ।

पाकिस्तानविरुद्ध भारत

भारतविरुद्ध पहिलो इनिङमा पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन ग¥यो । पाकिस्तानको असाधारण बलिङ आक्रमणले भारतीय ब्याटरलाई १ सय १९ रनमा समेट्यो । नसिम शाह र हरिस रउफले ३–३ विकेट लिए । भारतका लागि ऋषभ पन्तले ३१ बलमा ४२ रन बनाए । जवाफमा भारतले पाकिस्तानविरुद्ध झनै घातक बलिङ गर्यो ।

मोहम्मद रिजवानले पाकिस्तानलाई जिततर्फ दोहोराउन कोसिस गरे पनि सफल हुन सकेनन् । ८० रन जोड्दा रिजवानलाई गुमाएसँगै भारतका बलरसामु पाकिस्तान निरीह बन्न पुग्यो । पाकिस्तानका लागि जसप्रित बमराह घातक बने । अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा ११ रन जोड्दै पाकिस्तान ६ रनले पराजित हुन पुग्यो ।

बंगलादेशविरुद्ध दक्षिण अफ्रिका

जुन १० मा भएको दक्षिण अफ्रिका र बङ्गलादेशबिचको खेल पनि क्रिकेट समर्थकका लागि यादगार रह्यो । एक समय जित नजिक पुगेको बंगलादेशविरुद्ध पुनरागमन गर्दै दक्षिण अफ्रिकाले ४ रनको रोमाञ्चक जित निकालेको हो ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले १७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९४ रन जोडेको थियो ।

जितका लागि बङ्गलादेशलाई १८ बलमा २० रन आवश्यक थियो । जुन टी–२० क्रिकेटमा नर्मल मानिन्छ । बङ्गलादेशसँग ६ विकेट हातमा थियो । बङ्गलादेशलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । अन्तिम ओभरमा महत्त्वपूर्ण २ विकेट लिँदै दक्षिण अफ्रिकाले ४ रनको रोमाञ्चक जित दर्ता गर्यो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपाल

दक्षिण अफ्रिका र नेपालबिचको खेल नेपाली मात्र होइन विश्वकै क्रिकेट समर्थकका लागि यादगार बनेको छ । बलियो राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध नेपालले जुन किसिमको प्रदर्शन गर्यो । जुन, अविश्वसनीय छ ।

बलियो ब्याटिङ रहेको दक्षिण अफ्रिका नेपाली बलरसामु टिकेर खेल्न सकेनन् । उपाधि दाबेदार दक्षिण अफ्रिकालाई नेपालले १ सय १५ रनमा रोक्न सफल भयो । दक्षिण अफ्रिकासामु नेपाली स्पिनर हाबी भए । नेपालका कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

१ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुआत गर्यो । १३ ओभर ३ बलमा नेपालले २ विकेट गुमाएर ८५ रन जोडेको थियो । तर, त्यसपछि क्रमशः विकेट जान थालेपछि खेल अन्तिम ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रनको आवश्यक थियो ।

क्रिजमा गुल्सन झा र सोमपाल कामी थिए । अन्तिम ओभरको सुरुआत दुई बल डट खेलेका गुल्सनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन लिँदै नेपाललाई जिततर्फ अग्रसर गराए । तर, अन्तिम दुई बलमा गुल्सनले दुई बल डट खेलेपछि नेपाल दक्षिण अफ्रिकामाथिको ऐतिहासिक जितबाट केबल एक रन टाढा हुन पुग्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर