श्री केशका प्रवन्ध निर्देशक टीकाराम भन्छन्- कन्ट्रोभर्सीपछि व्यापार झन् बढ्यो (भिडिओ) – Nepal Press
नेपाल टक

श्री केशका प्रवन्ध निर्देशक टीकाराम भन्छन्- कन्ट्रोभर्सीपछि व्यापार झन् बढ्यो (भिडिओ)

'नेपालमै केही गर्छु भन्दा मलाई किन पेलेको पेलेयै गर्नुहुन्छ ?'

काठमाडौं । छोटो समयमा अप्रत्याशित चर्चा बटुल्न सफल तेल हो, श्री केश । हालसम्म बजारमा यस्ता थुप्रै तेल र प्रोडक्ट्स आइसकेका छन्, तर उद्यमी टीकाराम बुढाथोकीले बजारमा ल्याएको श्री केश हेयर आयलले भने छोटो समयमै अविश्वसनीय चर्चा कमायो । टीकाराम गायक टंक बुढाथोकीका जेठा दाजु हुन् ।

व्यवस्थापन संकाय पढेका टीकारामले यसअघि थुप्रै क्षेत्रमा काम गरे । उनी पढाइमा अब्बल थिए, तर परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनले सोचे जति सफलता पाउन सकेनन् । तीन दाजुभाइमध्ये जेठा टीकारामले एसएलसी र प्लस टु विराटनगरबाट गरे । बिजनेसमा रुचि भएकाले स्नातक गर्न उनी सन् २००२ मा काठमाडौं आए । नेपाल कर्मस क्याम्पसमा बीबीए ज्वाइन गरे, जुन त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याच थियो । दुईतीन सेमेस्टरमा टप गरेका उनले सन् २००६ मा स्नातकमा डिस्टिन्क्सन ल्याएर उत्तीर्ण गरे ।
स्नातकपछि उनलाई मास्टर गर्न मन थियो, तर, शिक्षक भएका बुवाको मात्र कमाइले तीन वटै छोराको खर्च धान्न मुस्किल पर्‍यो ।

टीकारामले काम गर्दै पढ्छु भन्ने सोचे, लगत्तै एक एडभर्टाइजिङ कम्पनीमा काम सुरु गरे । त्यहाँ केही समय काम गरेपछि उनी बैंकतर्फ मोडिए । त्यति बेला दमकमा भर्खरै सानिमा बैंकको शाखा खोलिएको थियो । शाखा खोल्नासाथ उनले सन् २००७ मा सानिमा बैंकमा काम थाले । उनी उक्त शाखाको पहिलो र अर्वाड जित्न सफल स्टाफ हुन् ।

बैंकमा तीन वर्ष काम गर्दा पनि टीकारामलाई आफूले सोचे जस्तो नभएको र केही नपुगे जस्तो भइरह्यो । हातमा काम थियो, तर न उनले राम्रो कमाउन सके न त आफ्नो सपना पूरा गर्नै सके । नेपालमा सोचे जस्तो गर्न नसकेपछि अन्ततः पैसा कमाउन उनले विदेश जाने निधो गरे । सन् २०१० मा उनी यूएई गए, तर उनलाई विदेशी जीवन पनि फापेन । कामदारप्रतिको हेपाहा प्रवृत्तिले उनलाई त्यहाँ पनि बस्न मन लागेन । सन् २०१२ मा उनी नेपाल फर्किए, प्लान्टको काम थाले । तर, २०७२ सालको भूइचालोले उनको त्यो काम पनि सफल हुन दिएन ।

विगत सम्झिँदै उनी भन्छन्, ‘केही गर्दा पनि सोचे जस्तो भएन । भूकम्पपछि त झन साढे सातको दशा सुरु भयो । अहिले मान्छेहरु राम्रो भएको मात्र देख्नुहुन्छ, यो हुनुअघिको पीडा कसैले देख्नुहुन्न । मैले पेट पाल्नै भनेर राष्ट्रपति भवनदेखि लेडिज ट्वाइलेटसम्म काम गरेको छु ।’

एउटा सामान बेच्न राष्ट्रपति भवनको गेटमा डेढ घण्टा उभिएको उनी बताउँछन् ।

‘अहिले २० वर्षको एउटा बच्चाले ‘हेर्नुस् टीकारामको कर्तुत, टीकारामले यति कमायो’ भनेर भिडियो बनाउनुहुन्छ । ४३ वर्षको एउटा बुढोले अहिलेसम्म के के गर्‍यो भनेर कसैले खोज्नुहुन्छ ? २ वर्षको काम र विवाद देख्नुहुन्छ । मेरो ४१ वर्षको मेहनत कहाँ गयो ?’, उनको प्रश्न छ ।

भूइचालोले थलिएका टीकारामलाई अशोक दर्जीको गीत आएपछि सामाजिक काममा जुट्ने मौका मिल्यो । त्यसपछि ट्रायलका लागि उनले पहिलो पटक एक जनालाई सम्पूर्ण सामान हालेर कपालमा तेल लगाउन दिए । त्यो तेलले सो व्यक्तिलाई राम्रो गर्‍यो । राम्रो भएपछि उनले एक टीम बनाए र आफ्ना गुरुहरुसँग सल्लाह गरेर यो तेल बनाए । ‘तेल बनाएपछि पनि एक वर्ष ट्रायल भयो । सुरुमा यो तेलको नाम रिजेन (रिजेनेरेट) थियो । एक वर्षको ट्रायल र अर्को एक वर्ष रिजेन नामबाट तेल बेचे’, उनले भने, ‘पछि मलाई यो नाम ब्रान्ड लागेन । १५ दिन सोचेर श्री केश नाम फाइनल गरें ।’

अहिले श्री केश तेलको चर्चा व्यापक छ । चर्चासँगै पछिल्लो समय यो तेल विवादमा तानिएको छ । तेलको स्लोगनमा ‘कपाल उमार्ने’ भने तापनि कपाल नआएको भन्दै धेरैले यो तेलको आलोचना गर्न थालेका छन् । टीकारामले जसलाई श्री केशको विज्ञापन दिएका थिए, उनैले कपाल ट्रान्सप्लान्ट गरेपछि यो विवादले झन उग्र रुप लिएको हो । उनले चलेका कार्यक्रमहरुमा आफ्नो तेलको विज्ञापन दिएका थिए । आफूले विज्ञापन दिएका कार्यक्रमहरुमा आउने पाहुनाहरुलाई टीकारामले उपहारस्वरुप श्री केश तेल दिँदै आएका छन्, तर पछिल्लो समय यो तेललाई लिएर चौतर्फी टीकाटिप्प्णी हुन थालेको छ ।

विवाद आएपछि उनले श्री केशको स्लोगनमा पनि केही परिवर्तन गरे, जसले आममानिसमा झनै दुविधा सिर्जना गरेको छ । पहिला श्री केशको स्लोगन ‘नयाँ केश उमार्ने’ थियो । अहिले यसको स्लोगन ‘कपाल उमार्न सहयोग गर्ने’ छ । विवाद धेरै बढेपछि टीकारामले केही दिनअघि आफ्ना आयुर्वेद डाक्टरसहित पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिए ।

यिनै विवाद र श्री केशका बारेमा प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीसँग गरिएको कुराकानी नेपाल टकमाः

– आफैंले राखेको स्लोगनका कारण यत्रो विवादमा पर्नुभयो, हैन ?

हैन नि ! ‘कपाल झर्न रोक्ने, नयाँ कपाल उमार्ने, कपाल कालो बनाउने र चायाँ हटाउने’, यो हाम्रो तेलको विशेषता हो, दाबी हैन । दाबी हुनलाई १०० प्रतिशत ग्यारेन्टी लेखेको हुनुपर्छ । १०० प्रतिशत कपाल उमार्छ नत्र हामी पैसा फिर्ता गर्छौं भनेको हुनुपर्छ । यो त मात्र तेलको विशेषता हो । बजारमा हेर्नु त, अनुहारको दाग हटाउने भनेर कति कस्मेटिक्स प्रोडक्ट्स आउँछन् । त्यो उनीहरुको प्रोडक्टको विशेषता हो । त्यो क्रिम लगाएर पनि दाग हटेन भने के गर्ने ? राम्रो डाक्टरकोमा छाला देखाउन जाने हो । बजारमा आएका प्रोडक्ट्स सहयोगी माध्यममात्र हुन् । स्लोगन त के के छन् छन् बजारमा ।

‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’, ‘५ सेकेन्डमा इनर्जी दिन्छ’, ‘एक घुटमा प्यास मेट्छ’ आदि आदि । अब हेर्नुस् त, हात्ती कति वर्ष बाँच्छ ? तर, चप्पल ५ महिनामा च्यातिन्छ । एक घुटमा प्यास मेटेन भने के गर्ने ?

– श्री केशको स्लोगनलाई चाहिँ अब के गर्ने त ? यसलाई मान्ने कि ५० प्रतिशत ठीक सोच्ने कि यो नभए अर्को विकल्प खोज्ने ?

एकदम ठीक प्रश्न । हामी एक दिन लाइभ गरौं । जसको कपाल झर्दैन, त्यस्तो एक जना व्यक्तिलाई ल्याएर उहाँलाई केही महिना श्री केस लगाइदिऔं । यदि यो तेल लगाएपछि उहाँको कपाल झरेर तालु भयो भने श्री केशले नै झर्‍यो भन्ने हुन्छ । अनि त्यस्तो सबै क्षतिपूर्ति श्री केशले व्यहोर्नुपर्छ, तर त्यस्तो एक जना पनि भेट्नुहुन्न । कपाल झर्न थाल्यो भने समस्या तपाईंको हो । तपाई आफ्नो जीवनशैली सही तरिकाले अगाडि बढाइरहनु भएको छैन । तपाईंको शरीरमा चाहिने भिटामिनहरुको कमी भयो । धेरैलाई फाइदा मिलेको छ, तर १०० मा १०० को काम त के कुराले चाहिँ गर्छ र ? तेलले कपाल आउँछ भन्दैमा शरीरलाई वास्तै नगरी जे पनि खाने, चाहिने कुरा नखाने गरेर हुन्छ ? यो त एउटा सहयोग गर्ने साधन हो ।

म आज यहाँ के भन्छु भने कपाल उमार्नमात्र मैले यो तेल बनाएको हैन । कपाल झर्नु भनेको पोर्स बन्द हुनु हो । पोर्स बन्द भएपछि हामी रचनात्मक हुन सक्दैनौं । हाम्रो कपाल हाम्रो पोर्स हो । यो हाम्रो दिमागको लागि भेन्टिलेसन हो । यो पोर्स नै बन्द भयो भने मान्छे झनक्क रिसाउन थाल्छ, रचनात्मक र सकारात्मक हुन सक्दैन, आरिस बढी गर्छ, अर्काको कुरा काट्न थाल्छ । कपाल झर्नु अहिले त ग्लोबल इस्यु हो । त्यही भएर कपालको लागि केही रचनात्मक कुरा गरौं भन्ने भएर मैले श्री केश बनाएको हो ।

– कपाल आएन भने चाहिँ के गर्ने ? अनि रिसर्च कति गर्नुभएको थियो तपाईंहरुले ?

आएन भने हामी भएको ठाउँमा आउनुस् फेरि । स्काल्प टेस्ट गर्ने कि के गर्ने हामी गर्छौं । कहिलेकाहीँ आफ्नो शरीरमा भित्री कमी-कमजोरी पनि हुन सक्छन् । पूरै तेलमा मात्र भर परेर बस्ने कुरा पनि हुँदैन । बोतल काटेर देखाउनु भन्दा गुनासो लिएर हामी भएको ठाउँमा आउनुहोस् न ! हामीसमक्ष आउँदा पनि हामीले वास्ता गरेनौं भने अलग कुरा हो । नत्र विनाकारण किन यसरी पोखिनुहुन्छ ? अहिलेसम्म हामी भएको ठाउँमा गुनासो लिएर एक जना पनि आउनु भएको छैन ।

कुरा रह्यो रिसर्चको । हामीसँग तेल बनाउने सरकारले दिएको लाइसेन्स छ । ट्रेडमार्क छ । रिसर्च छ । अनि एउटा दक्ष र विज्ञ टीम छ । अर्को कुरा ५ हजार वर्ष पुरानो आयुर्वेद ग्रन्थहरुको चिज हो । ग्रन्थमै भएको कुरा, रिर्सचबाटै आएका कुराहरु हुन् । कपालको लागि मात्र होइन, सप्तऋषि आयुर्वेदबाट शीरदेखि पाउसम्मका विभिन्न उपचारहरु हुन्छन् । हामीसँग प्रमाणित डाक्टरहरु हुनुहुन्छ । औषधि विभागबाट दर्ता भएको औषधि फार्मेसी छ र महानगरपालिकामा रजिष्टर गरिएको क्लिनिक छ ।

– श्री केश तेल नै बनाउँछु भन्ने तपाईंको दिमागमा कसरी आयो ?

क्यान्सरका बिरामीहरुको धेरे कपाल झर्छ । एक जना क्यान्सर बिरामीले मलाई कपाल झरेर झनै बिरामी भए जस्तो लाग्छ भनेर गुनासो पोख्नुभएको थियो । त्यो सुनेपछि मलाई साह्रै नरमाइलो लाग्यो । त्यसपछि मैले रिर्सच सुरु गरें । रिसर्चपछि आयुर्वेद नै सबै कुराको हल हो भन्ने छर्लंग भयो ।

आयुर्वेद एउटा त्यस्तो विज्ञान हो, जसले हामीलाई वातावरणसँग नजिक हुन सिकाउँछ । हामी जन्मिएर न्वारन गर्दादेखि मर्दासम्म आयुर्वेद चाहिन्छ । म त एक उद्यमी हो । हरेक देशको केही न केही प्राकृतिक स्रोत र साधन हुन्छ । गल्फ देशहरुमा तेल छ, उसले त्यही बेच्छ । अहिले ऊ सम्पन्न छ अनि हामी उनीहरुको देशमा काम गर्न जान्छौं । हाम्रो देश पर्यटन, पानी र जडीबुटीमा धनी छ । नेपाल जडीबुटीको खानी हो । विश्वका महँगो महँगो जडीबुटी यही छन् । यही कुरालाई उपयोग गरेर नेपालकै ३२ जडीबुटी प्रयोग गरी विश्वव्यापी रुपमा चिनाऔं भन्ने सोचले यो प्रोडक्ट निकालेको हो ।

– महँगो भयो भन्ने कुरा पनि आइरहेका छन् । मध्यम वर्गीय परिवारको लागि ३ हजार रुपैयाँ साँच्चै महँगो भएन र ?

पैसामात्र हैन, मात्रा र सामानको भाउ पनि हेर्नहोस् न ! बजारमा अचेल ५-६ सय त जे तेललाई पनि पर्छ । राजमेरी तेल १०० एमएलको १ हजार रुपैयाँ पर्छ । आर्गान तेल ३० एमएलको ६०० रुपैयाँ पर्छ । टिटिरी तेल ३० एमएलको कम्तीमा १ हजार २०० रुपैयाँ पर्छ । यस्ता सबै वैज्ञानिक आधारमा पु्रफ भएका तेल मिसाउँदा त्यति त पर्छ नि ! हामीसँग १०० एमएलको ६०० पर्ने श्री केश पनि छ । हामी निकाल्दैछौं । २५ रुपैयाँको सानो पाउच बनाउँदैछौं । अब त्यो महँगो कि सस्तो ? यस्तो महँगो जडीबुटी हालेर बेच्दा यदि मैले साँच्चै फाइदा लिने हो भने ६ हजार रुपैयाँ लिनुपर्थ्यो । एक बोतल तेलकै ट्याक्स ३९० रुपैयाँ तिर्छु । सजिलो होस् भनेर एकै चोटि ठूलो मात्रामा बनाउँदा पनि मलाई सुख छैन । श्री केशको एउटा तेल लगेर दिन बिराएर लगाउँदा पनि एक जनालाई ६ महिना पुग्छ ।

यहाँ नेपालमै केही गर्छु भन्दा पनि गर्ने माहोल छैन । पढ्न कति रहर थियो, तर सकिनँ । विदेश गएर फर्केर आउनुपर्‍यो, फर्केपछि पनि गरेको व्यवसाय सबै डामाडोल भयो । कति रात रोएर बसेको छु । त्यो कसैले सोध्दैन । सँगै भएका सबै साथीहरु अहिले अमेरिका र अस्ट्रेलिया छन्, तर म यहाँ केही गर्छु भन्दा पनि मलाई पेलेको पेलेयै गर्नुहुन्छ ।

– श्री केश तेल लिन आउनेका समस्या पनि सुन्नुहुन्छ कि ?

सप्तऋषिबाट उत्पादित यो तेल पर्सनल केयरमा पर्ने प्रोडक्टस् हो । बजारमा गएर स्याम्पु, लिपिस्टिक किने जस्तै । यो औषधि होइन । कोही आउनुहुन्छ र लिएर जानुहुन्छ । कोही म डाक्टरलाई नै देखाएर लान्छु भन्नुहुन्छ । जसलाई जसरी सजिलो लाग्छ, हामी त्यसरी नै दिन्छौं ।

– विवाद आएपछि स्लोगन चाहिँ किन परिवर्तन गर्नुभयो ?

परिवर्तन हैन, अपग्रेड गरेको हो । अब झनै प्रिमियम क्वालिटीको श्री केश आउँदैछ । अब मान्छेलाई लाग्न सक्ला, प्रिमियम झनै महँगो होला । कुनै पनि सामानको मूल्य मैले तोक्ने हैन । त्यो प्रोडक्टमा लाग्ने सामान र त्यसको गुणस्तरले निर्धारण गर्ने हो । म त अझै सस्तो होस्, अनि सबैको घरमा पुगोस् भन्छु, तर त्यसमा प्रयोग गर्ने सामान नै महँगो भयो भने मैले के गर्ने ?

– विवाद आएपछि व्यापारमा कतिको असर पर्‍यो ?

कति पनि छैन, झन बढेको छ । आज अरबी शेखले श्री केश लगाउँछन् । चाइनामा डिमान्ड छ । चारैतिर डिलर खुलेको छ । हरेक व्यापारीको लोयल ग्राहकहरु हुन्छन् । तपाईंले लगाएर, तपाईंलाई फाइदा भइरहेको छ भने तपाईंले अरुको कुरा सुन्नुहुन्छ र ? मैले अगाडि पनि भनेको छु कि एउटा प्रोडक्टले सबैलाई फाइदा नहुन सक्छ । कसैलाई भएन होला, तर त्यो फाइदा हुने मान्छे फर्कीफर्की आउँछ । मेरा लोयल ग्राहकहरु त श्री केश तेल भोलि केही हुने हो कि या भनौं बन्दै हुने हो कि भनेर ५ वटाको ठाउँमा १० वटा लिएर गइरहनु भएको छ । व्यापार त उल्टै ह्वात्तै बढेको छ ।

– तपाईं आफै पनि बाहिर गएर फर्किएर आउनु भएको मान्छे । बाहिर जान तयार हुनुभएका वा बाहिर जाने रहर भएकालाई के सुझाव दिनुहुन्छ ?

यो विषयमा भने म केही भन्दिनँ । मान्छेको दुइटा पाटो हुन्छन् । एउटा भौतिकवादी हुन्छ । उसलाई भौतिक कुराहरुमा मात्र आनन्द लाग्नसक्छ । पैसा नै सबथोक हो भन्ने लाग्नसक्छ । त्यस्तो परिस्थितिमा बाहिर जानुमात्रै अन्तिम विकल्प लाग्नसक्छ, तर भौतिकवादी मान्छेमा आध्यात्मिक गुण पनि केही मात्रामा छ भने ऊ पैसामा बिक्दैन । त्यसैले म के भन्न चाहन्छु भने तपाईंको जिन्दगी नै पैसा हो भने तुरुन्त विदेश जानुस् । तुरुन्त गएर कमाइहाल्नुस्, यही हो उमेर, तर होइन मेरो जीवनको कुनै अर्थ छ र मैले केही गर्नुपर्छ भन्ने लाग्छ भने यही बसेर केही गर्नुस् ।

हामीसँग दुइटा कर्म हुन्छन् । एउटा कर्म र अर्को सत्कर्म । कर्म गर्‍यो भने आफैंलाई मात्र फाइदा हुन्छ, तर सत्कर्म गर्‍यो भने जगको फाइदा हुन्छ । लडेको मान्छेलाई तपाईंले उठाउनु हुनेछ । भौतिकवादीभन्दा ठूलो राष्ट्रवादी हुनुहुन्छ भने यही बस्नुस् र काम सुरु गर्नुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर