बुवाको नाम लिएर गाली दिने समर्थकलाई ह्यारिस रफले चप्पल खोलेर लखेटे, श्रीमतीले रोकिन् – Nepal Press

बुवाको नाम लिएर गाली दिने समर्थकलाई ह्यारिस रफले चप्पल खोलेर लखेटे, श्रीमतीले रोकिन्

काठमाडौं । पाकिस्तानी क्रिकेटर ह्यारिस रफको एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ उनी रिसले चुर भएर एक समर्थकलाई लेखटिइरहेको देखिन्छन् । भारतीय मिडियाले भिडियोलाई बढाइचढाई र तोडमोड गर्दै भ्रम फैलाइरहेका छन् ।

फ्लोरिडामा पाकिस्तानी टीम बसेको होटलबाहिर यो घटना भएको थियो । ह्यारिस आफ्नी पत्नीसँग ‘सी बीच’ घुमेर फर्किएका थिए । होटल परिसरमा केही क्रिकेट समर्थकहरुको झुण्ड थिए । ह्यारिसलाई श्रीमतीसँग देखेपछि एक फ्यानले बोलाए । ह्यारिसले वास्ता गरेनन् । अरुबेला फ्यानसँग कुराकानी गर्ने अटोग्राफ दिने ह्यारिस श्रीमतीसँग हिँड्दा भने फ्यानहरुलाई उपेक्षा गर्ने गर्छन् ।

पटक–पटक बोलाउँदा पनि ह्यारिसले जवाफ नदिएपछि ती फ्यानले गालीगलौज गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ह्यारिसका अनुसार ती फ्यानले आफ्नो बुवाको नाम लिएर गाली दिएका थिए । त्यो सुन्नासाथ ह्यारिस उत्तेजित हुँदै आफ्नो चप्पल फुकालेर फ्यानलाई झम्टिन कुदेको भिडियोमा देख्न सकिन्छ । ह्यारिसकी पत्नी र अन्य समर्थकहरुले उनलाई रोकेका थिए ।

ती फ्यान पाकिस्तानी थिए कि भारतीय भन्ने खुलेको छैन । भारतीय मिडियाले अटोग्राफ दिन बोलाउने पाकिस्तानी फ्यानलाई नै ह्यारिसले हमला गरेको भन्दै अतिरञ्जित समाचारहरु बनाइरहेका छन् । ह्यारिसले भने भारतीय सम्झेर उनलाई लखेटेका थिए ।

भिडियोमा ह्यारिसले ‘इन्डियन है ये’ भनेर हकारेको सुनिन्छ । त्यसपछि ती फ्यानले आफू पाकिस्तानी भएको बताउँछन् । त्यसपछि ह्यारिस भन्छन्, ‘तिमीलाई बाउआमाले यही सिकाएका छन् ?’

भिडिओ भाइरल भएपछि ह्यारिसले ट्विट गर्दै आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

‘मैले यो विषयलाई सामाजिक सञ्जालमा नल्याउने निर्णय गरेको थिएँ, तर अब भिडियो भाइरल भइसकेपछि मैले परिस्थितिलाई सम्वोधन गर्नुपर्छ भन्ने सोचेँ । एउटा पब्लिक फिगरको रुपमा हामी जनताबाट सबै प्रकारका फिडब्याक हरु प्राप्त गर्नका लागि खुला छौं । उनहिरुसँग हामीलाई समर्थन गर्ने वा आलोचना गर्ने हक हुन्छ । यद्यपि, जब मेरो बुवाआमा र परिवारमा कुरा जोडिन्छ, त्यसमा आवश्यकता अनुसार प्रतिक्रिया जनाउन म हिच्किचाउँदिन । कुनै पनि पेशाका मानिसहरु र तिनीहरुका परिवारप्रति सम्मान देखाउनु महत्वपूर्ण छ ।’

ह्यारिसको भिडिओ अहिले भारतीय मिडिया र युट्यूव च्यानलका लागि गज्जब मसला भइरहेको छ । उनीहरु सनसनी हेडलाइन हाल्दै ह्यारिसमाथि गालीगलौज गरिरहेका छन् ।

पाकिस्तानले यो विश्वकपमा खराब प्रदर्शन गरेको थियो । अमेरिका र भारतसँग पराजित भएपछि विश्वकपबाट बाहिरिएको पाकिस्तान हिजो अमेरिकाबाट फिर्ता भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर