विद्युतीय गाडीको किलोवाट छलीको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गर्‍यो – Nepal Press

विद्युतीय गाडीको किलोवाट छलीको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गर्‍यो

नेपालमा धेरै विद्युतीय गाडी विक्री गर्ने साइमेक्स इंकसँग कागजपत्र माग्यो

काठमाडौं । विद्युतीय गाडीको किलोवाट छलीको विषयमा राजस्व अनुसन्धान विभागले पनि अध्ययन सुरु गरेको छ ।नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी विक्री गर्ने साइमेक्स इंकका कागजपत्र विभागले माग गरेको छ ।

साइमेक्स इंकले नेपालमा बीवाइडी गाडी विक्री गर्दै आएको छ । नेपालमा पछिल्लो समय सबैभन्दा धेरै विद्युतीय गाडी बीवाइडी नै विक्री भइरहेको छ ।

हिजो राजस्व अनुसन्धान विभागले साइमेक्स इंकको कार्यालयमा नै गएर केही कागजपत्र ल्याएको छ । भने केही कागजपत्र मागेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले साइमेक्स इंकको केही कागजपत्र विभागले ल्याएको र केही माग गरेको बताए ।

उनले भने, ‘सूचनामाथि राम्रो अध्ययन गरेर नै साइमेक्स इंकको अनुसन्धान सुरु गरेका हौँ । अन्य विद्युतीय गाडी आयात गरी विक्री गर्ने कम्पनीको पनि हामीले अध्ययन गरिरहेका छौँ । अध्ययनपछि ती कम्पनीले पनि गाडीको किलोवाट छली गरेको देखियो भने अनुसन्धान सुरु गर्ने छौँ । हामीसँग नेपालमा आयात हुने धेरै विद्युतीय गाडीले थोरै किलोवाट देखाएर गाडी आयात गरेको भन्ने सूचना आएको छ । त्यो सूचना माथि पनि हामीले काम गरिरहेका छौँ ।’

भन्सार विभागले पनि केही समय पहिले विद्युतीय गाडी पास हुने भन्सार नाकालाई विद्युतीय गाडी आयात कर्ताले कम किलोवाट देखाएर गाडी आयात गरेको भए तत्काल नै राजस्व उठाउन निर्देशन दिएको थियो । भने, २ वटा अध्ययन समिति पनि बनाइसकेको छ ।

विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले नेपालमा १०० भन्दा माथि क्षमता भएका गाडीको १ सयभन्दा कम क्षमता देखाएर आयात गरेका थिए ।

विश्वका अन्य देशमा १०० किलोवाटभन्दा धेरै क्षमता भएका र उही मोडलको गाडी नेपालमा भने १०० किलोवाटभन्दा थोरै क्षमता भनेर व्यापारीले ल्याएका थिए ।

पहिले १५० किलोवाट भनेर आयात भएको एउटा कम्पनीको विद्युतीय गाडी पछिल्लो समय १०० किलोवाटभन्दा कम क्षमताको देखाएर आयात भइरहेको भन्सार विभागका कर्मचारीहरू नै बताउँछन् ।

भन्सार विभागका अनुसार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्ने व्यवस्था छ । त्यसैले धेरै किलोवाटको गाडीको पनि १०० किलोवाटभन्दा कम देखाएर भन्सार जाँच पास भइरहेको भन्सार विभाग नै स्वीकार गर्छ ।

नेपालमा कसरी परीक्षण गरिन्छ विद्युतीय गाडीको किलोवाट ?

सवारी परीक्षण कार्यालय टेकुका प्रमुख मणिराम भुसाल विद्युतीय गाडीको मोटर क्षमता नाप्ने २ वटा विधि रहेको बताउँछन् । चेसिस डाइनामो मिटर र इन्जिन डाइनामो मिटरबाट विद्युतीय गाडीको क्षमता मापन गर्न सकिन्छ ।

सवारी परीक्षण कार्यालय टेकुसँग चेसिस डाइनामो मिटर मात्रै छ । चेसिस डाइनामो मिटरले गाडीको टायर घुमेको आधारमा मात्रै क्षमता मापन गर्छ ।

अहिले नेपालमा टायरबाट मात्रै गाडीको क्षमता चेक भइरहेको छ । यसरी टायरबाट मात्रै गाडीको क्षमता चेक गर्दा यथार्थ क्षमता नदेखाउने भुसाल बताउँछन् ।

विद्युतीय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) प्रणाली जडान गरिएको हुन्छ । यो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन पनि सक्छ । यसो गर्दा सजिलै क्षमता कम देखाउने बताइन्छ । बीएमएसमा सेट गरेअनुसार नै गाडीको किलोवाट क्षमता देखाइने हुन्छ ।

इन्जिन डाइनामो मिटरले विद्युतीय गाडीको यथार्थ क्षमता चेक गर्न सकिन्छ । यो प्रविधिबाट क्षमता चेक गर्न ब्याट्री र मोटरलाई छुट्याउनुपर्छ । यो प्रविधि जडान गर्न करिब ६ करोड पर्ने बताइन्छ ।

अहिलेसम्म भन्सार कार्यालयले आयातकर्ताले स्वघोषणा गरेअनुसार नै गाडीको क्षमता तोक्दै आएको छ । गाडीको किलोवाट कम गरेर भन्सार जाँच पास गराउने बीवाइडी, ओमोडा, एमजी र डीपललगायतका ब्राण्डका गाडीहरूमाथि अध्ययन भन्सार विभागले पनि गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर