राजनीतिक भागबन्डा नमिलेपछि धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार अनुपस्थित, अब के हुन्छ ? – Nepal Press

राजनीतिक भागबन्डा नमिलेपछि धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार अनुपस्थित, अब के हुन्छ ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया जटिल बन्दै गएको छ । राजनीतिक स्वार्थ नमिल्दा उम्मेदवारहरु   नै कार्य योजना प्रस्तुतिमा लगातार अनुपस्थित भएका छन् ।

अनुपस्थित हुने सबै उम्मेदवार माओवादी निकट हुन् । माओवादीले सेबोनको अध्यक्ष नपाउने अवस्था आएपछि उम्मेदवार हरु अनुपस्थित भएको बुझिएको छ ।

आइतबार (२ गते) अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई कार्य योजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको थियो ।

आइतबार २ जना मात्रै उपस्थिति भएर बाँकी ३ जना अनुपस्थित भएपछि बुधवार (५ गते) ९ बजेका लागि फेरि बोलाएको थियो । यसमा पनि ती उम्मेदवारहरु नगएपछि अब के गर्ने भन्ने विषयमा सिफारिस समिति बिच छलफल हुने बताइएको छ ।

सर्ट लिस्टमा परेका मध्ये नेपाल धितो पत्र बोर्डकै कार्यकारी निर्देशक डा। नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि गएनन् ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता भने पहिलो चरणमा नै सकिएको छ ।

धितो पत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नु पर्ने व्यवस्था गरेको छ ।

यस कारण पनि तिन जना नपुगेपछि अब के गर्ने भन्ने विषयमा छलफल शुरु भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा परेका पाँच जना मध्येबाट एक जना लिएर अन्तर्वार्ता दिएका २ जना सहित तीन जना सिफारिस गर्ने कि भन्ने छलफल पनि भएको छ । अब के गर्ने भन्ने विषयमा बैठक बसेर निष्कर्ष निकालिने स्रोतले बताएको छ ।

बोर्डको अध्यक्ष लामो समयदेखि रिक्त भएपछि अर्थ मन्त्रालयले सहसचिव नगेन्द्र कुमार रानालाई केहीदिन अघि अध्यक्षको भूमिकामा पठाएको थियो ।

बोर्डमा रमेश कुमार हमाल पुस २२ गते २२ महिने कार्यकाल पुरा गरेर बाहिरिए पछि करिब ५ महिना देखि बोर्ड नेतृत्वविहीन थियो । उनको कार्यकालमा नयाँ स्टकले लाइसेन्स पाउने विषय निकै चर्चामा रहेको थियो । लाइसेन्स भने कसैले पाउन सकेनन् ।

अहिले नयाँ अध्यक्ष नियुक्ति भए आफू अनुकूलका पात्रलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सकिने भएपछि अध्यक्ष नियुक्ति प्रक्रियामा चलखेल शुरु भएको छ ।

माओवादीको पोल्टामा सेवोनको अध्यक्ष नपर्नेजस्तो देखिएपछि अध्यक्षको अन्तर्वार्तामै खेलो शुरु भएको स्रोत बताउँछ । विशेष गरी सेवोनको अध्यक्षमा एमालेले अडान लिएको छ । तर माओवादी आफै राख्ने पक्षमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर