‘छक्का पञ्जा ३’ बन्यो युट्युबमा सर्वाधिक हेरिने नेपाली चलचित्र – Nepal Press

‘छक्का पञ्जा ३’ बन्यो युट्युबमा सर्वाधिक हेरिने नेपाली चलचित्र

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ युट्युबमा सर्वाधिक हेरिने नेपाली चलचित्र बनेको छ । यो चलचित्रलाई दर्शकले अहिलेसम्म ३.५ करोड अर्थात ३५० लाख पटक हेरेका छन् । योभन्दा अघि कुनै पनि नेपाली चलचित्रलाई यति धेरै पटक हेरिएको थिएन ।

‘छक्का पञ्जा ३’ सन् २०१६ मा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेल हो । पहिलो भाग नै ब्लकबस्टर भएपछि निर्माण टीमले सन् २०१७ मा ‘छक्का पञ्जा २’ र २०१८ मा ‘छक्का पञ्जा ३’ रिलिज गरेका थिए ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको चलचित्र ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा निर्देशन सँगसँगै दीपाले लगानी पनि गरेकी थिइन् । दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे र जीतु नेपालले चलचित्रमा लगानी गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा ३’को कथा, पटकथा, सामाजिक सन्देश, कमेडी र कलाकारको अभिनय विशेषगरी केदार घिमिरेको अभिनयलाई समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । रिलिजको केही समयमै चलचित्रले सबै रेकर्ड तोड्दै बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टर नेपाली चलचित्र बन्यो ।

‘छक्का पञ्जा ३’ को जति ग्रस कलेक्सन नेपाली बक्स अफिसमा कुनै बाहिरका चलेका चलचित्रले पनि गरेको थिएन । बलिउड र हलिउडका चलचित्रले मात्र रेकर्ड ब्रेक कलेक्सन गर्न सक्छन् भन्ने धारणाबीच दीपक-दीपाको यो चलचित्रले नयाँ रेकर्ड कायम गरेको थियो ।

‘छक्का पञ्जा ३’ ले बनाएको रेकर्ड त्यसपछि पनि तोडिन गाह्रै पर्‍यो । यो रेकर्ड सन् २०२२ मा ‘केजीएफ च्याप्टर २’ ले नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गरेर तोड्यो । ‘केजीएफ च्याप्टर २’ले रेर्कड तोडेसँगै ‘छक्का पञ्जा ३’ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मबाट सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो ।

यो रेकर्डलाई पनि सन् २०२२ मा रिलिज भएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४- द फाइनल म्याच’ले तोडिदियो । अहिलेसम्म नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने नेपाली चलचित्रको कीर्तिमान ‘कबड्डी ४- द फाइनल म्याच’ को नाममा रहेको छ ।

सन् २०२२ मा ‘छक्का पञ्जा ४’ रिलिज गरेका दीपक- दीपा यतिबेला ‘छक्का पञ्जा ५’ को रिलिजको तयारीमा छन् । चलचित्र आउँदो असोज २४ गते देशव्यापी रुपमा लाग्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर