एमाले सांसद आचार्यकाे असन्तुष्टी- सरकारले राष्ट्रिय खेलाडीलाई मासिक तलब दिन सकेकाे छैन – Nepal Press

एमाले सांसद आचार्यकाे असन्तुष्टी- सरकारले राष्ट्रिय खेलाडीलाई मासिक तलब दिन सकेकाे छैन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलब, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सचिव आचार्यले सबै प्रदेशमा रंगशाला निर्माण गर्न पनि सरकारलाई सुझाव दिए ।

उनले पालिकामा एउटा रंगशाला हुनुपर्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने प्रस्ताव पनि गरे । आचार्यले सबै माध्यामिक तहको अध्ययनमा खेलकुदलाई अतिरिक्त विषयको रुपमा अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

‘सात वटै प्रदेशमा रंगशाला निर्माण गर्नुपर्छ । त्यसको निश्चित समयसीमा मेरो चाहिँ ३ वर्षको छ । जिल्ला सदरमुकाममा त्यस्तै खालको रंगशाला निर्माण गर्नुपर्छ । र पालिकामा एउटा रंगशालाको निर्माण प्रदेश सरकारले गर्नुपर्छ । ठूला शहरमा निर्माणाधीन रंगशालाहरु निश्चित अवधि तोकेर निर्माण कार्य सम्पन्न गर्नुपर्दछ । क्रिकेट खेलले जुन प्रगति गरिरहेको छ’, उनले भने, ‘त्यसलाई ध्यान दिएर थप फुटबल, कराँते, यो धेरै मास इन्भल्व भएको खेल हो । लाखौँलाख मानिस यसमा इन्भल्व छन् । फुटबल पनि इन्टरनेशनल स्तरको खेल हो । जेजति खेलमा नेपालले दख्खल हासिल गर्दै गएको छ । ती सबै खेलका राष्ट्रिय स्तरका खेलाडीहरुलाई मासिक तलब भत्ता, जीविकोपार्जनको व्यवस्था यो बजेटले गर्न सक्नु पर्दथ्यो । र प्रत्येक स्कुलमा खेलकुदको अतिरिक्त पढाई हुनुपर्छ । प्रत्येक प्रदेशमा मा १/१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ ।’

उनले सबै प्रदेशमा १/१ वटा खेलकुद कलेजको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर