साढे तीन वर्षदेखि गोप्य राखेको सम्बन्ध बुर्ज खलिफाबाट ‘एक्सपोज’, महेश-अस्मिताले यसै साल बिहे गर्ने – Nepal Press

साढे तीन वर्षदेखि गोप्य राखेको सम्बन्ध बुर्ज खलिफाबाट ‘एक्सपोज’, महेश-अस्मिताले यसै साल बिहे गर्ने

ईंगेजमेन्टपछि के भन्छन् महेश र अस्मिता ?

दुबई । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अब औपचारिकरूपमा ‘कपल’ बनेका छन् । लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चल्दै आएतापनि दुवैले सार्वजनिक स्वीकारोक्ति गरेका थिएनन् ।

अस्मिता र महेशले दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गरेका हुन् । अन्तर्राष्ट्रिय कलाकार समाज (र्ईनास) आबुधावी क्षेत्रीय समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका लागि उनीहरु केही दिनअघि दुबई आएका थिए । यहाँ आएर ईंगेजमेन्ट गर्ने पूर्वतयारी थियो । दुवैले ईंगेजमेन्टका लागि कपडाहरु नेपालबाट लिएरै आएका थिए । औंठी भने दुबईमा नै सोमबार खरिद गरेका हुन् ।

गत १३ जूनमा महेश र अस्मिता दुबई उडेका थिए । जुन १५ उनीहरु इनास आवुधावीले गरेको कार्यक्रममा सहभागी भए । त्यसपछि आइतबार इदको कार्यक्रममा प्रस्तुति दिए । सोमबार ईंगेजमेन्टको तयारी र डेजर्ट सफारी गरे । मंगलबार ईंगेजमेन्ट र फोटोसुट गरेका उनीहरुले आज सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि ‘कपल’ का रुपमा खुलेर दुबई घुम्दैछन् ।

ईंगेजमेन्टमा नेपालबाट सँगै आएका कलाकार विश्व दोङ, सुनिता कार्की तथा इनास यूएईका केही पदाधिकारी थिए । गायक प्रमोद खरेल भने सांगीतिक कार्यक्रम सकाएर कतार हुँदै क्यानडा गएकाले सहभागी हुन पाएनन् । पारिवारिक सदस्यहरु पनि कोही थिएनन् । ईंगेजमेन्टका क्रममा उनीहरुले परिवारसँग भिडिओ कलमा कुराकानी गरेका थिए ।

परिवारिक सल्लाहमा नै दुबईमा ईंगेजमेन्ट गरेको अस्मिताले नेपाल प्रेससँग बताइन् । संसारको प्रख्यात शहर भएकाले र सकेसम्म छिटो–छरितो होस् भनेर यहाँ गरेको उनको भनाइ छ । आफूहरु यसै वर्षभित्र बिहेको तयारीमा रहेको पनि उनले जानकारी दिइन् । अस्मिताका अनुसार बिहे पनि तडकभडक बेगर नेपाली परम्पराअनुसार हुनेछ ।

याे पनि पढ्नुस्: अफेयर चर्चा नकार्दै महेश र अस्मिता सँगै उडे अष्ट्रेलिया

महेश र अस्मिता करिब साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुझिएअनुसार प्रेमको प्रस्ताव महेशले राखेका हुन् । उनीहरुको अफेयरबारे केही गसिपहरु बने पनि दुवैले सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन् । आफूहरु आत्मीय साथी मात्र भएको बताउने गर्थे । निकटस्थहरुलाई भने थाहा भइसकेको थियो । गोप्य राख्न गाह्रो हुँदै गएपछि उनीहरु सम्बन्धलाई औपचारिकता दिने निर्णयमा पुगेका हुन् ।

सिन्धुलीका महेश र झापाली चेली अस्मिता दुवै अहिलेका सफल गायक–गायिकामा पर्छन् । देश तथा विदेशका कार्यक्रममा उनीहरुको उच्च डिमान्ड छ । महेशले गाएका थुप्रै गीतहरुले युट्यूबमा करोड भ्यूज पाएका छन् ।

बाल्यकालमै गाएको ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा…’ बोलको गीतबाट महेश संगीत क्षेत्रमा आफूलार्ई चिनाएका थिए । उनले गाएकामध्ये ‘हावा चल्यो सिरिरि, नाच फिरिरि…’, ‘माया बिरानी..’ सर्वाधिक हिट छन् ।

यसैगरि, अस्मिता पनि अहिलेकी जल्दिबल्दी गायिका हुन् । उनी टीभी रियालिटी शो नेपाल आइडलबाट उदाएकी हुन् । नेपाल आइडलको दोस्रो संस्करणमा उनी टप ४ सम्म पुगेकी थिइन् । नेपाल आइडलपछि उनको सांगीतिक करिअर चम्कियो ।

अहिलेसम्म दर्जनौं सुपरहिट गीत दिइसकेकी छन् । जसमध्ये ‘टाढा भए पनि…’ बोलको गीत सर्वाधिक हिट छ । उनी एक रजिस्टर्ड नर्स समेत हुन् । महेश र अस्मिताले एकसाथ पनि थुप्रै गीत गाएका छन् । जसमध्ये ‘लजावती झारजस्तै लजाउँछौं’ बोलको गीत लोकप्रिय छ ।

नेपाल प्रेससँग कुराकानी गर्दै महेशले यो वर्षभित्र अनुकुल समय पारेर बिहे गर्ने बताए । बिहेपछि पनि एक अर्काको सांगीतिक करिअरलाई असर नपर्ने गरी यसरी नै निरन्तरता दिने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर