राप्ती प्रतिष्ठानमा सेवा विस्तार- फार्मेसी र नाम दर्तासहीत बिलिङ काउन्टर थप – Nepal Press

राप्ती प्रतिष्ठानमा सेवा विस्तार- फार्मेसी र नाम दर्तासहीत बिलिङ काउन्टर थप

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी र नाम दर्तासहित बिलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीको संख्य बढ्दै जाँदा नाम लेखाउने, बिलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिँदै काउन्टर थप गरिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

अस्पतालमा भिडभाड हुँदा सेवा प्रवाहमा असहजता थपिएको बिरामीबाट गुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने प्रयासस्वरुप अहिले नयाँ फार्मेसी भवनमा ६ वटा काउन्टर थप गरिएको प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले बताए । यसअघि प्रतिष्ठानले ५ वटा काउन्टरबाट औषधि किन्न आउने बिरामीहरुलाई सेवा प्रवाह गर्दै आइरहेकोमा त्यसलाई बढाएर लगिएको उनले बताए ।

प्रतिष्ठानका फार्मेसी इञ्चार्ज अशोक सुवेदीले नयाँ फार्मेसी भवनमा जनशक्तिसहित काउन्टर थप भएपछि बिरामीको सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरे । त्यस्तै, प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको नाम दर्ता र बिलिङमा थप २ वटा काउन्टर थपिएको छ ।

नाम दर्ता र बिलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहजतामा पुर्याउन थप २ वटा काउन्टर थप गरीएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले बताए । फार्मेसीसहित नाम र बिलिङमा अस्पताल प्रशासनले काउन्टर थपेपछि उपचार सेवा लिन आएका बिरामीले सेवा अब थप प्रभावकारी हुने बताएका छन् ।

हाल प्रतिष्ठानमा दैनिक ७ सय बढी बिरामीले विभिन्न विभागबाट विशेषज्ञ सेवा पाइरहेका छन् । पछिल्लो पटक अस्पतालमा नयाँ–नयाँ विशेषज्ञहरु आएर सेवा दिन थालेपछि प्रतिष्ठानमा बिरामीकोे चाप ह्रवात्तै बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर