‘चुनावी गठबन्धन रणनीतिक हुन्छन्, अहिल्यै कसैसँग मिल्ने नमिल्ने माओवादीले घोषणा गर्दैन’ – Nepal Press
नेपाल टक

‘चुनावी गठबन्धन रणनीतिक हुन्छन्, अहिल्यै कसैसँग मिल्ने नमिल्ने माओवादीले घोषणा गर्दैन’

माओवादी महासचिव देव गुरुङ भन्छन्- फरक पार्टी भएपछि दलगत धारणा नमिले पनि समीकरणलाई असर गर्दैन

काठमाडौं । कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको शक्ति निरन्तर ओरालो यात्रामा छ । प्रतिनिधिसभामा ३२ सीट भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।

तीन महिनाअघि मात्रै कांग्रेसको साथ छाडेर एमालेसँग मिल्न आइपुगेका प्रचण्डलाई अहिले यो समीकरण पनि कम्फर्टेबल बनेको छैन । पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा छन् । टप दुई लिडर सत्ता केन्द्रित भएपछि पार्टीका गतिविधि प्रभावित बनेका छन् ।

पार्टी नेतृत्व सत्ता केन्द्रित भएकै कारणले महाधिवेशनपछि ६ महिनाभित्र गर्ने भनिएको विशेष महाधिवेशन अनिश्चित छ । २०७८ पुस तेस्रो साता काठमाडौंमा भएको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि मिति तय गर्न सकेको छैन ।

पार्टी सरकारमा भए पनि शक्ति घट्दै गएर एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ माओवादी केन्द्र । अर्को निर्वाचन आउन अझै तीन वर्ष बाँकी छ, तर नेताहरुले पार्टीको शक्ति परीक्षण गर्न भए पनि एक्लै चुनावमा जानुपर्ने भन्दै प्रचण्डमाथि दबाब बढाउँदै लगेका छन् ।

प्रचण्डले अघिल्लो निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट भोट ट्रान्सफरमा समस्या भएको भन्दै आगामी निर्वाचनसम्म सहकार्य गर्ने रणनीतिका साथ अहिले एमालेसँग सहकार्य गरेको बताइन्छ । यीलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे माओवादी केन्द्रका महासचिव देव गुरुङसँग गरिएको कुराकानीः

– माओवादीले विशेष महाधिवेशन गर्ने निर्णय गरेको दुई वर्ष बितिसक्यो । त्यसको तयारी के हुँदैछ ?

गत महाधिवेशनमा समय सयममा विशेष महाधिवेशन पनि गरिराख्नुपर्छ भनेर सैद्धान्तिक र नीतिगत रुपले चर्चा भएको विषय हो । पाँचपाँच वर्षभित्र महाधिवेशन गर्दा बीचमा आवश्यकअनुसार गर्ने भनिएको हो, मिति तय भएको थिएन । सैद्धान्तिक रुपले उठेको कुरा हो । मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई छ । केन्द्रीय समितिको बैठकबाट अहिलेसम्म यसबारे निर्णय गरेको छैन ।

– विशेष महाधिवेशनको मिति तय गर्न पार्टीको बैठक बस्ने तयारी हुँदै हो ?

यो विषयमा अहिले पार्टीभित्र ठोस छलफल भएको छैन । तत्काल अहिले छैन ।

– माओवादीले सत्ताको नेतृत्व गरिरहेको छ, तर नयाँ समीकरणमा पनि तीन महिनामै असन्तुष्टि चुलियो नि ?

सत्ता गठबन्धनमा हामी असन्तुष्ट छौं भनेर अहिलेसम्म कुनै दलले भनेको छैन । असन्तुष्ट भएर कुनै पनि दलले समर्थन नै दायाँबायाँ गर्नेगरी केही भनेको छैन । राजनीतिक दलहरुबीचको सहकार्य हुँदा नेताहरुको आआफ्नो धारणा त आइराख्छन् ।

– बजेटको विषयलाई लिएर एमालेले त चर्को असन्तुष्टि पोखिरहेको छ नि ?

पार्टी फरक भएपछि दलहरुको आआफ्नो धारणा फरक फरक त भइहाल्छ, तर सरकारकै समर्थनमा दायाँबायाँ गर्ने प्रकारको कुनै कुरा उठाएको छैन ।

– खेलकुदमन्त्रीले त रास्वपाले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्दैछ भन्नुभयो नि ?

त्यो उहाँले कसरी अभिव्यक्ति दिनुभयो, उहाँलाई नै थाहा होला, तर हामीसँग त्यो ढंगले अहिलेसम्म कुनै कुरा गर्नुभएको छैन ।

– आगामी चुनाव आउन समय त बाँकी छ । कांग्रेसले एक्लै लड्ने भन्दैछ, एमालेको आफ्नै तयारी छ । माओवादीको तयारी के छ ?

चुनाव हुने भनेको २०८४ सालमा हो । अहिले बल्ल २०८१ त भएको छ । चुनाव त कार्यनीतिक विषय हो, २४ घण्टाभित्र उल्टापाल्टी जे पनि हुनसक्ने विषय हो । त्यसैले चुनावको बारेमा रणनीतिक ढंगले निर्णय हुन्छन् । सिद्धान्त, उद्देश्यसहित मेजर विषयमा चाहिँ दीर्घकालीन ढंगले कुराकानी हुन्छन् । त्यहीअनुसार पार्टीले कार्यदिशा तयार गरेर अगाडि बढ्छ ।

चुनाव, सरकार र सदनलगायतको विषयमा त २४ घण्टाभित्रै निर्णय फेरिनसक्छ । चुनाव कार्यनीतिक विषय हुने भएकाले यस्ता विषयमा रणनीतिक ढंगले अहिले योसँग गठबन्धन गर्ने, योसँग नगर्ने भन्ने हुँदैन । त्यो त के हुन्छ, त्यही बेलामा नै निर्णय गर्ने हो नि !

– सरकारमै भएका दलहरु मिसन ८४ भन्दैछन् । त्यसलाई सरकारको नेतृत्व गरिरहेको माओवादीले कसरी हेरेको छ ?

त्यो त उहाँहरुको त्योभन्दा बढी कुनै उद्देश्य नभएकाले त्यसैमा केन्द्रित हुने कुरा एउटा पाटो भयो । कम्युनिष्ट पार्टीहरुको विषयमा त्यस्तो हुँदैन । रणनीतिक विषयमा छलफल र बहस हुन्छ । राजनीतिक र कार्यनीतिक विषयमा त्यहीअनुसार छलफल हुन्छ।

– त्यो भनेको माओवादी एक्लै चुनाव लड्न तयार छ भन्न खोज्नुभएको हो ?

चुनाव त कार्यनीतिक विषय भएकाले कहिले एक्लै हुन्छ, कहिले संयुक्त हुन्छ, कहिले भाग नै लिइँदैन । त्यो त चलिरहने प्रक्रिया हो ।

– विप्लव, नेसपा (महेन्द्र पक्ष)सहित माओवादी घटकहरुबीचको एकताको चर्चा थियो, त्यो कहाँ रोकियो ?

अहिलेसम्म केही परिणाममुखी छलफल भएका छैनन् । भयो भने आइहाल्छन् । अहिले नै निर्णय नभएको विषयमा केही टीकाटिप्पणी गर्नुको अर्थ हुँदैन । अहिलेसम्म खास निर्णय केही भएको छैन ।

अहिलेसम्म हामीले समाजवादी मोर्चाको विषयलाई अगाडि बढाउँदैछौं । त्यसलाई कार्यदल बनाएर एकता संयोजक समिति बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ । त्यसमा ककसलाई समेटेर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।

– तर जसपा नेपाल विभाजनपछि मोर्चाको भविष्य संकटमा पर्‍यो भनिन्छ नि ?

जसपा नेपाल मोर्चामा रहने नरहने भन्ने उहाँहरुको कुरा भयो । त्यसबारेमा छलफल गर्न बाँकी नै छ । जसपाको एउटा हिंसा (अशोक राई पक्ष) मोर्चामा सहभागी हुन तयार नै छ । अर्को हिस्सा के गर्ने भन्ने टुंगो लगाउन बाँकी छ । अरु घटकहरुसँग विस्तार गर्दै लैजाने भन्ने विषयमा कुरा भइरहेका छन् । उपेन्द्रजीहरुलाई पनि मोर्चामा सँगै अघि बढौं भनेर आग्रह गर्ने कुरा भएको छ । त्यसबारेमा पनि छलफल हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर