विपद् जोखिम न्यूनीकरणका लागि समयमै सही सूचनाको व्यवस्था मिलाउन सञ्चारमन्त्री शर्माको निर्देशन – Nepal Press

विपद् जोखिम न्यूनीकरणका लागि समयमै सही सूचनाको व्यवस्था मिलाउन सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद् जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।

इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटीसी)को बैठक आह्वान गर्दै मन्त्री शर्माले बाढी, पहिरोलगायत विपद् जोखिम न्यूनीकरणका लागि मन्त्रालय माताहतका निकाय तथा सरोकारवालाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी हुन् ।

उनले सरोकारवालाहरुलाई समेत आफ्ना सबै संरचना तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्न आग्रह गरेकी छन् ।

‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ, अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ । विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’

विपद्का घटना हुनुअघि पूर्वसूचना दिने र स्वयं सञ्चार सम्बद्ध निकाय तथा संस्थाहरुले आफूलाई विपद्बाट बचाएर सेवा प्रवाह गर्ने दुबै तरिकाले सोच्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

उनले हरेक निकायले आपतकालीन उद्धार समूहहरु बनाएर अघि बढ्नुपर्ने बताइन् । टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरुलाई सम्भावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्नसमेत आग्रह गरिन् ।

नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपद्बाट बच्ने तयारी गरिरहँदा अर्को आउनसक्ने भएकाले दीर्घकालीन रुपमै विपद्बाट बच्न सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन् ।

उनले भनिन्, ‘विपदको अवस्थामा आमसञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरुले क्षणक्षणमा सही सूचना दिनुपर्ने हुन्छ । यसका लागि सरकारले के गर्नुपर्ने, सरकार मातहतका सञ्चार क्षेत्रले के गर्नुपर्ने, निजी क्षेत्रका सेवा प्रदायक र सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यहरुले के गर्नुपर्ने भन्ने विषयमा छलफल गरेर ठोस तयारीका लागि इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टरको बैठक बोलाइएको छ । सबै क्षेत्रले आ-आफ्नो तर्फबाट राम्रै तयारी गरेको भए पनि यसलाई एकीकृत र समन्वयकारी रुपमा अघि बढाउन आवश्यक छ । संकटको बेलामा सरकार, समुदाय, गैरसरकारी र निजी क्षेत्रको बीचमा कुनै भिन्नता हुँदैन । सबै एकीकृत रुपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्छ ।’

बैठकमा दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरुले बाढी पहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विपद्जन्य जोखिमबाट बच्न सचेतनाका कार्यक्रम र सूचनाहरु नियमित रुपमा प्रवाह गरिरहेको बैठकमा जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर