पश्चिमाबाट एक्लिएको रुसलाई प्रत्यक्ष साथ दिँदै उत्तर कोरिया, चतुर्याइँपूर्वक यसरी लिँदैछ हाताहाती फाइदा
काठमाडौं । उत्तर कोरियासमेत हेर्ने अख्तियारी पाएका चीनको लागि नेपाली आवासीय राजदूत राजेश्वर आचार्य आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन उत्तर कोरियाली राजधानी प्योङयाङ पुगे । सन् २००० नोभेम्बर २० देखि २५ सम्मको यात्रामा उत्तर कोरिया पुगेका उनलाई विमानस्थलमा स्वागत गरियो । स्वागत गर्ने भाषा नेपाली थियो । मान्छे चैँ उत्तर कोरियाली नै । नेपालस्थित उत्तर कोरियाली दूतावासमा दुई वर्ष काम गरेका र त्यही समयमा त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा पढेर नेपाली भाषामा पोख्त बोक नाममा युवक थिए उनी ।
२०७९ सालमा प्रकाशन भएको पूर्वराजदूत आचार्यको किताब ‘कूटनीतिक डायरीमा’ जोडिएको यो मुद्दा हेर्दा उत्तर कोरियाको कूटनीतिक चातुर्यता राम्रो छ भन्ने देखिन्छ । नेपाल जस्तो सानो अर्थतन्त्र, कम जनसंख्या र विश्व मानचित्रमा खासै धेरै नभएको देशको लागि उत्तर कोरियाले तयार गरेको जनशक्ति हेर्दा उसले शक्ति राष्ट्रसँग कस्तो तरिकाले तयारी गर्छ भन्ने झलक दिन्छ ।
उत्तर कोरिया आफ्नो कूटनीतिक चाल चाल्न कति माहिर छ भन्ने कुरा उसले हालसालै रुससँग गरेको सम्झौता र त्यसका बाछिटाहरु काफी छन् । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया ओर्लिए । उनी २४ वर्षपछि पुनः उत्तर कोरिया पुगे । पूर्वराजदूत राजेश्वर आचार्य उत्तर कोरिया पुगेको ठीक चार महिना अगाडि पुटिन उत्तर कोरिया पुग्दाका सर्वोच्च नेता थिए अहिलेका नेता किम जोङ उनका पिता किम जोङ इल ।
२४ वर्षपछिको पुटिनको यो भ्रमण किन अर्थपूर्ण ?
सन् २००० जुलाईमा उत्तर कोरिया पुग्दा पुटिनको हेडलाइन विश्वभर त्यति चर्चा भएको थिएन, जति अहिले भएको छ । यसो हुनुको गुह्य कारण युक्रेनमा रुसी हमला हो । त्यो हमलालाई जोडेर अमेरिकी नेतृत्वको विश्व मोर्चाको चौतर्फी राजनीतिक, कूटनीतिक, सामरिक, आर्थिक तथा सामाजिक बहिष्करण तथा बन्देजमा परेको छ रुस । युक्रेनलाई विश्वभरबाट हतियार दिने, तालिम दिने, आर्थिक सहयोग दिने, हुँदाहुँदा रुसको रोक्का भएको अर्बौं रकमको व्याज पनि युक्रेनलाई युद्धमै दिने काममा अमेरिकी नेतृत्वको जी-७ देश सक्रिय छन् । यसले रुसलाई अमेरिकी नेतृत्वको पश्चिमा विश्वको प्रतिबन्ध गरेको छ ।
यद्यपि रुसका कूटनीतिक, आर्थिक तथा सैन्य मोर्चामा रुसले घुँडा टेकेन । कूटनीतिक मोर्चामा बहुसंख्यक विश्वका देशहरुले रुसमा नाकाबन्दी लगाएनन् । हालसालै स्वीट्जरल्याण्डमा भएको युक्रेनको शान्ति सम्मेलनमा चीन गयल भयो । भारत, साउदी अरब तथा दक्षिण अफ्रिका जस्ता देशहरु रुसलाई आलोचना गरिएको कुरामा सहमति जनाउन तयार भएनन् । यसो हुनु रुसको कूटनीतिक जीत हो । आर्थिक रुपमा पनि चीन र भारतले रुसी इन्धन किनिरिहेका छन् । त्यसले रुसको युद्ध अर्थतन्त्र चल्न सकेकै छ । पर्चेजिङ पावर प्यारिटी (पीपीपी)को कोणमा त रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । अर्थात् आर्थिक नाकाबन्दीले रुसलाई सोचे जस्तो प्रभाव पार्न सकेन ।
अब रह्यो युद्ध मोर्चा । युद्ध मोर्चामा समेत रुसले नयाँ नयाँ ठाउँहरु कब्जा गरिरहेको छ । युद्धका नयाँ नयाँ फ्रन्टहरु खोलिरहेको छ । रुसलाई सैन्य जनशक्ति अभाव भएको छैन । युक्रेनले जबरजस्ती युवाहरुलाई तानेर लानुपर्ने बिजोग अवस्था आएको छ ।
फेरि पनि रुसलाई भारत र चीनले हातहतियारजन्य कुरा नदेओस् भन्ने पश्चिमा विश्वको अडान छ । त्यसमा भारत र चीन सकारात्मक छन् । चीनले हतियार दिएको आरोप लाग्दै आएको छ, तर उसले रुसलाई हतियार नदिएको बताउँदै आएको छ । उत्तर कोरियाले रुसलाई हतियार, गोलीगठ्ठा दिँदै आएको आरोप लागेको छ ।
बीबीसीको अनुमानअनुसार उत्तर कोरियाबाट पचास लाख गोलाबारुद रुस पुगेको थियो । यसै समयमा दुई देशका राष्ट्र प्रमुखको सुरक्षा क्षेत्रको साझेदारीका खबर आएका छन् । यसैकारण पश्चिमा विश्व तरंगित भएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले भ्रमणमा विदेशमन्त्री सेर्गी लेभ्रोभ, प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभ, रक्षामन्त्री आन्द्रो बेलौसोभ, स्वास्थ्यमन्त्री मिखाइल मुरास्को, यातायातमन्त्री रोमन स्तारोभोएत, रुसी रेलवे प्रमुख ओलेग बेलोसयोरोभ र रुसी अन्तरिक्ष कार्यक्रम प्रमुख युरी बोरिसोभ छन् ।
यो तहका मन्त्रीहरु तथा अधिकारीहरु पुटिनको दुई दिने राजकीय भ्रमणमा हुनुले भ्रमण देखाउने कूटनीतिक कर्मभन्दा धेरै गम्भीर भएको अनुमान गर्न सकिन्छ । रुसी तथा उत्तर कोरियाली मिडियाहरुको प्रचारबाजी र त्यसमा पश्चिमा विश्वले राखेको व्यापक चासोले अनुमानमा थप बल पुर्याएका छन् ।
पुटिनले उत्तर कोरिया पुगेर दुई देशको भावुकता जोड्ने प्रयास गरेका छन् । उनी उत्तर कोरिया पुग्नु अगाडि उनको आलेख पुगेको थियो । उत्तर कोरियाली अखबार रोदोङ सिनमुनमा लेख लेख्दै पुटिनले सन् १९४५ मा कोरियालाई जापानी उपनिवेशबाट मस्कोले मुक्त गरेको मात्रै भनेनन्, सन् १९५० देखि १९५३ को कोरियाली युद्धमा सहयोग गरेर उत्तर कोरियाको स्वतन्त्र देशको अस्तित्व बनाउन र बनेपछि मान्यता दिने पहिलो देश भएको कुरा इतिहासबाट उत्खनन् गरेका छन् । यही कथा जोडेर पुटिनले पश्चिमा नाकाबन्दीले प्रभाव नपार्ने खालको व्यापार र सुरक्षा प्रबन्ध बनाउने खालको तयारी गर्न भ्रमणमा वार्ता हुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘विश्वमा अझ उन्नत लोकतन्त्र र स्थायित्व बनाउन रुस र उत्तर कोरियाले वैकल्पिक व्यापार र आपसी साझेदारीका संयन्त्रहरु बनाउनेछन्, जसमा पश्चिमा देशहरुको नियन्त्रण हुनेछैन ।’
पुटिनले अमेरिकाको नामै लिएर उत्तर कोरियाको आफ्नो प्रतिरक्षा गर्ने अधिकार भएको भन्दै त्यसमा रुसी साथ हुने मन्तव्य उत्तर कोरिया पुगेर दिएका छन् ।
एक्लिएको रुससँग घाटारहित सहकार्यमा उत्तर कोरिया, यसरी लिँदैछ हाताहाती फाइदा
अहिले रुस र उत्तर कोरिया विश्वमा सबैभन्दा धेरै नाकाबन्दी, प्रतिबन्ध र बहिष्कारमा परेका देशहरु हुन् । रुसको त युरोप तथा अमेरिकी महादेशसँगको व्यापार तथा पूँजीको कुरामा अझै पनि सम्बन्ध छ । रुसी व्यवसायी ती देशमा छन् । तिनको के होला, कसो होला भन्ने चिन्ता रुसलाई छ । रुसी नागरिक त्यहाँ छन् । तिनको पनि चिन्ता रुसलाई हुनसक्छ, तर उत्तर कोरिया यी कुनै तनावमा छैन ।
उसको अमेरिका तथा अमेरिकी पक्षधर युरोपेली देशहरुसँग खासै ठूलो लिनुदिनु केही छैन । त्यही भएर उत्तर कोरिया रुसको पक्षमा उभिने थोरैमात्र देशमध्ये एक हो । संयुक्त राष्ट्रसंघमा रुसको पक्षमा भोट गर्ने देशहरुमा सदाबहार सदस्य देश हो उत्तर कोरिया ।
उत्तर कोरियाले रुसलाई सहयोग दिनुमा केही घाटा छैन, नाफामात्रै छ । जस्तैः उत्तर कोरियामा बलियो हतियार भण्डारण छ । उसले ती हतियार रुसलाई बेच्न पाएको छ । अन्नबाली वा इन्धनसँग साट्न पाएको छ । यसले उत्तर कोरियाली अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा छ । बुधबार पुटिन र किम जोङ उनले एकअर्कालाई गरिने आक्रमणमा सहयोग गर्ने भनेका छन् । यसो भन्नुको दीर्घकालीन अर्थ रुसको युक्रेनी युद्धको अग्रमोर्चामा उत्तर कोरियालीहरु पुग्ने वातावरणको जरा तयार हुनु हो ।
अहिले रुसको पक्षबाट लड्ने नेपाली, भारतीय, श्रीलंकाली, अफ्रिकीलगायतका धेरै स्वयंसेवकहरु छन् । ती सबै निजी रोजाइमा पुगेका हुन् । उत्तर कोरियासँगको सुरक्षा सम्झौताले उत्तर कोरियाले राज्यबाटै प्रोत्साहन वा दबाब दिएर नागरिकहरुलाई युद्धमा पठाउने वा लाने वातावरण बन्नसक्छ । उत्तर कोरियाको प्रतिव्यक्ति आयभन्दा धेरै मासिक तनखा पाउने युद्धमा पुग्दा उत्तर कोरियालीहरुलाई पनि फाइदै हुनसक्छ ।
रणनीतिक रुपमा उत्तर कोरियाले एक्लिएको रुसलाई खुलेर साथ दिँदा पाउने सैन्य फाइदा ताकिरहेको छ । त्यो फाइदा हो- उत्तर कोरियाली रकेट प्रक्षेपण । उत्तर कोरियाले गुप्तचरी रकेट परीक्षणमा धेरै हन्डर खाएको छ । त्यसमा उसले रुसी साथ खोजेको छ । त्यो कुरामा पुटिन प्रतिबद्ध देखिएका छन् । नौ महिना अगाडि रुसको सुदूर पूर्वी क्षेत्र भोस्तोच्नी नामक अन्तरिक्ष बन्दरगाहमा भेट्दा अन्तरिक्ष सहकार्य गर्ने पुटिनले बताएका थिए ।
अहिले पुटिनले भ्रमण दलका सदस्यको रुपमा रुसी अन्तरिक्ष कार्यक्रमका प्रमुख युरी बोरिसोभ समेटिनुले अन्तरिक्ष सहकार्यको पाटो अगाडि बढेको देखिन्छ । अन्तरिक्ष सहकार्यले उत्तर कोरियालाई अमेरिकासम्म मार हान्नसक्ने क्षेप्यास्त्र बनाउने प्रविधि पनि प्राप्त हुन्छ ।
उसो त उत्तर कोरिया जस्ता देशहरुलाई रुसले सहयोग गर्ने कुरा खुलेरै आएको छ । केही दिन अगाडि पुटिन अध्यक्ष रहेको रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले रुसले पश्चिमा देशहरुका दुश्मनहरुलाई आणविकबाहेक सबै हतियार दिने बताएका थिए । उत्तर कोरियालाई आणविक हतियार चाहिँदैन पनि । किनभने उत्तर कोरयासँगै छ आणविक हतियार ।
रुससँगको सामिप्यताले उत्तर कोरियाको विदेश नीतिमा आउने अर्को फाइदा चीनसँगको बढ्दो परनिर्भरता हट्नु हो । धेरैले उत्तर कोरियालाई चिनियाँ आँखाले हेर्ने गरेका छन् । उत्तर कोरियाको रुससँगको सम्झौता र त्यसबापत् पाउने उसको हाताहाती फाइदाले त्यो नजरियामा परिवर्तन आउनेछ । उत्तर कोरियाली आन्तरिक राजनीतिमा पनि यसको फाइदा छ ।
जर्मनीको विश्व च्यानल डीडब्लूसँग कुरा गर्दै दक्षिण कोरियाली प्राध्यापक लिफ इरिक एस्लेले भनेका छन्, ‘पुटिन र किमको भेटले अमेरिकी नेतृत्वको विश्वविरुद्ध उभिने देशहरुको दाँजोमा उत्तर कोरियाली ओहोदा बढ्नेमात्र होइन, यसले उत्तर कोरियाको आन्तरिक राजनीतिक वैधानिकता पनि बढाउनेछ ।’
क्या मूख मिठ्याइ मिठ्याइ लेख लेखेको । दुइ शैतानको गठबन्धनले मानव जातिको अस्तित्वमा कति खतरा पैदा गरेको छ ? ख्वै त्यस कोणबाट त एक शब्द पनि उच्चारण भएन नि ? एक्सिस अफ इभिल ( शैतानी ध्रुव ) कै न्यारेटीभ दोहोर्याएर,तेहेर्याएर कति पटक लेख्न सक्ने हुन नेपाली लेखकहरूले ? वाक्कै लाग्ने ।
अर्कालाई गाली गर्नुपूर्व किन यसो भैरहेछ भन्ने कुरा राम्रोसँग बुझ । लाखौं प्यालेष्टाईनी मार्ने अमेरिकी हतियार हुन् । खाडीमा अहिले पनि सयौ मानिसहरू मरिरहेका छन् ।