एमाले लुम्बिनी प्रदेशमा यस्तो आयो नयाँ नेतृत्व – Nepal Press

एमाले लुम्बिनी प्रदेशमा यस्तो आयो नयाँ नेतृत्व

६ जिल्लामा सर्वसम्मत ६ जिल्लामा निर्वाचन

रुपन्देही । नेकपा एमाले लुम्बिनीले पार्टी केन्द्रले दिएको समयभित्रै १२ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । एमाले केन्द्रीय पदाधिकारीमा ७ जना लुम्बिनीबाट रहेकाले यहाँका सबै जिल्ला अधिवेशनमा ती नेताहरुको विशेष चासो रहेको थियो ।

एमाले उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी (निलम्बित) लुम्बिनी प्रदेशबाट पार्टी केन्द्रमा रहेका छन् । उनीहरुसँगै पोलिटब्यूरो, केन्द्रीय कमिटीमा यहाँबाट ६० जना रहेका छन् ।

अधिवेशनमा केही शीर्ष नेताहरुको गृहजिल्लामा सर्वसम्मत नेतृत्व छानिएको छ भने जिल्लामा नेताहरुकै बढी चासो रहेकाले निर्वाचन भएको छ । केही जिल्लामा प्रदेश कमिटी नै छाडेर जिल्ला नेतृत्वमा आउने नेताहरुको चासो र केही जिल्लामा निवर्तमान अध्यक्षहरु नै पराजित भएकाले यी अधिवेशन बढी चासोका रुपमा हेरिएको थियो । अधिवेशनबाट अध्यक्षसहितका मुख्य पदाधिकारीमा महिला पुग्नसकेनन् तर समावेशी उपसचिवमा भने महिला अटाएका छन् ।

फागुन ३० मा रोल्पाबाट सुरु भएको जिल्ला अधिवेशन जेठ ३१ मा गुल्मीमा गरेर सबै जिल्लामा सकिएको हो । जिल्ला नेतृत्वका लागि रुकुमपूर्व, पश्चिमनवलपरासी, दाङ, पाल्पा, रुपन्देही, अर्घाखाँचीमा सर्वसम्मत भयो भने रोल्पा, बर्दिया, कपिलवस्तु, बाँके, प्यूठान र गुल्मीमा निर्वाचनबाट नेतृत्व छनौट भएको हो ।

अधिवेशनबाट पश्चिमनवलपरासी, अर्घाखाँची, प्यूठान, गुल्मीमा पुरानै अध्यक्ष दोहोरिएका छन् भने अन्य जिल्लामा नयाँ अनुहार आएका छन् । १ हिमाली, ५ पहाडी र ६ तराईका जिल्ला रहेको लुम्बिनीका सबै जिल्लामा पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल पुगेका थिए । सबै जिल्लामा एमाले अध्यक्ष केपी ओली आउने प्रचार गरिएपनि नवलपरासी र कपिलवस्तुबाहेक अन्य जिल्लामा उनी जान सकेनन् ।

बाँके, बर्दिया, दाङ, प्यूठान, पाल्पामा महासचिव शंकर पोखरेल प्रमुख अतिथि बने भने रुपन्देहीमा मात्रै उपाध्यक्ष विष्णु पौडेल पुगेका थिए । रोल्पा र गुल्मीमा उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि बने रुकुमपूर्व र अर्घाखाँचीमा सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल नै प्रमुख अतिथि बनेकी थिइन् ।

केही जिल्लामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटको प्रचार गरिएपनि नेताहरु आफैले त्यो अभ्यास नगरेको र केहीले त्यसरी प्रचार गरेपनि सफल नभएको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे बताउँछन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी केन्द्रले दिएको समयसीमा भित्रै प्रदेशका सबै जिल्ला अधिवेशन सर्वसम्मत भएको जानकारी दिए । जिल्ला अधिवेशन सकिएपछि पालिका र वडा तहमा बाँकी रहेका सबै कमिटीको अधिवेशन र सदस्यता नवीकरणलाई प्राथमिकतासाथ अघि बढाइने उनले बताए ।

कुन जिल्लामा को–को आए नेतृत्वमा ?
नयाँ नेतृत्वको लागि रुकुमपूर्व, पश्चिमनवलपरासी, दाङ, पाल्पा, रुपन्देही, अर्घाखाँचीमा सर्वसम्मत भयो भने रोल्पा, बर्दिया, कपिलवस्तु, बाँके, प्यूठान र गुल्मीमा निर्वाचनबाट नेतृत्व छनौट भएको हो । अधिवेशनबाट पश्चिमनवलपरासी, अर्घाखाँची, प्यूठान, गुल्मीमा पुरानै अध्यक्ष दोहोरिएका छन् भने अन्य जिल्लामा नयाँ अनुहार आएका छन् ।

रोल्पामा अमृत बुढामगर निर्वाचित
नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि फागुन ३० भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । अध्यक्ष पदमा अमृत बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले १९५ मत ल्याएका थिए भने घनश्यामले ११२ मत ल्याएका थिए । उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएका थिए ।

सचिवमा नेपबहादुर थापा विजयी भए । थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याएका छन् । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरु पुगेका थिए ।

रुकुमपूर्वमा लिलामणि सर्वसम्मत

नेकपा एमाले रुकुमपूर्वको नवौं अधिवेशनले लिलामणी गौतमको अध्यक्षतामा ७१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । चैत २९ र ३० गते भएको अधिवेशनमा प्रदेश कमिटी सदस्य रहेका गौतम अध्यक्ष बनेका हुन् । कमिटीको उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा, उपसचिवमा पशुपति खड्का र तेजकुमारी तुलाचनसहित ७१ सदस्यीय कमिटी सर्वसम्मत छानिएको थियो ।

बर्दियामा निवर्तमान अध्यक्षलाई हराउँदै अधिकारी निर्वाचित
नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भए । उनले निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष थिए । बैशाख २० भएको निर्वाचनबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा लहनु थारु, संगीता थारु निर्वाचित भएका हुन् । अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो ।

पश्चिमनवलपरासीमा सबै पदाधिकारी दोहोरिए
बैशाख २२ एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र अधिकारी निर्विरोध भएका छन् । अधिकारी निवर्तमान अध्यक्ष थिए । ४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्यालले अध्यक्ष मा उम्मेदवारी दिएका थिए ।

तर नेताहरूको सहमतिमा उनीहरूलाई सहमति बनाएर उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा, उपसचिवमा राजन आचार्य र रिंगला यादवले जिम्मेवारी पाएका हुन् । उनीहरू निवर्तमान कार्यकालमा पनि सोही जिम्मेवारीमा रहेका थिए ।

सहमतिका लागि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारी, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, नेताहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, वैजनाथ चौधरीले सहमति बनाएका हुन् ।
कपिलवस्तुमा निवर्तमान अध्यक्षलाई हराउँदै खनाल निर्वाचित
नेकपा एमाले कपिलवस्तु १० औं जिला अधिवेशनबाट बाबुराम खनाल विजयी भएका छन् । बैखाख २७ गते भएको मतदानबाट उनले निवर्तमान अध्यक्ष रहेका डम्बर शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । यसैगरी उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज उपसचिव खुलामा देवीप्रसाद पोखरेल र महिला उपसचिवमा शुशीला दर्लामी विजयी भएका छन् । खनाल र शर्मा ९ औं अधिवेशनका पनि प्रत्यासी हुन् ।

बाँकेमा निरक गुरुङ
नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्षमा निर्वाचित भए । जेठ ७ गते सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । सचिव पदमा बलराम भट्टराई, उपसचिवमा किशोर थापा र निर्मला सुनार, बिजयी भएका छन् ।

दाङमा आचार्य सर्वसम्मत

एमाले दाङको जेठ ७ गते सम्पन्न १४ औँ अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भए् । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको हो । निवर्तमान अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकी दुवैले अध्यक्षमा दावेदार गरेपछि सर्वसम्मत नेतृत्व चयन गर्दा आचार्यलाई अध्यक्ष बनाइएको हो ।

पाल्पामा घर्ती निर्विरोध

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । जेठ १२ गते सम्पन्न १० औं जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको हो । घर्ती पार्टीका पूर्वसचिव तथा तिनाऊ गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल र उपसचिवमा दीपक विश्वकर्मा र मीना जीसी कार्की निर्विरोध निर्वाचित भए । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटी चयन भएका छन् ।

प्यूठानमा निर्वाचनबाट दोहोरिए विष्ट

जेठ २२ मा सम्पन्न एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी भएका छन् । अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको थियो । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनोट भएका ५३९ मध्ये ५२३ जनाले मतदान गरेका थिए । जसमध्ये अध्यक्षमा विष्टले २९९ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेगनसिंह कवरले २५१ मत ल्याएका छन् । सचिवमा इन्द्रमणि पौडेल निर्विरोध भएका थिए । यसअघि उनले अध्यक्षमा दाबी गरेका थिए । खुला उपसचिवमा हिरामणि भण्डारी र महिला उपसचिवमा ईश्वरा आचार्य निर्विरोध भए । ८९ सदस्य रहने जिल्ला कमिटीमा अन्य सबै सदस्य निर्विरोध भएका थिए ।

रुपन्देही अध्यक्षमा यज्ञ गैरेसहित सबै सर्वसम्मत

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । जेट २५ गते सम्पन्न १० औँ अधिवेशनबाट गैरेसहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका हुन् ।

अर्घाखाँचीमा पिताम्बर भुसाल दुई पटक सर्वसम्मत

सन्धिखर्कमा जेठ २८ भएको नवौँ जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल सर्वसम्मत अध्यक्ष बनेका हुन् । उनको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित भएका छन्।

अध्यक्ष र सचिव निर्विरोध भएपनि उपाध्यक्ष र उपसचिवमा निर्वाचन भएको थियो । केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

गुल्मीमा बालसिंह काउछा निर्वाचनबाट दोहोरिए

एमाले गुल्मीको १२ औं जिल्ला अधिबेशनबाट बालसिंह काउछा निर्वाचित भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् । जेठ ३२ सम्पन्न अधिवेशनबाट नतिजामा काउछा निर्वाचित भएका हुन् । ५९५ प्रतिनिधिले गरेको मतदानमा काउछाले ३८४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा जीवन खरेल विजयी भएका छन् । उनले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएका छन् । त्यसैगरी सचिवमा धर्म बिश्वकर्मा ३७१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी पदम अर्याल १९० मत ल्याएका छन् । खुला उपसचिवमा चक्रबन्धु भुसाल विजयी भएका छन् । भुसालले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याएका छन् । महिला उपसचिवमा लक्ष्मी पन्त निर्विरोध भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर