किन घट्दै गयो क्यान्सर अस्पतालको बजेट ? – Nepal Press

किन घट्दै गयो क्यान्सर अस्पतालको बजेट ?

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा संघीय सरकारले बजेट घटाउँदै लगेकोले सञ्चालन समस्या परेको अस्पताल सञ्चालक समितिले गुनासो गरेका छन् ।

अस्पतालको एक सय शैया क्षमता हुँदा र बढेर ४ सय ५० शैया हुँदा पनि संघीय सरकारको बजेट नथपिएको भन्दै स्वास्थ्य मन्त्री प्रदिप यादवसँग नै कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले गुनासो गरे ।

अस्पतालको आर्थिक वर्ष २०७९/०८० मा वार्षिक सञ्चालन खर्च ९२ करोड ९२ लाख भन्दा बढि रहेकोमा आन्तरिक आय र नेपाल सरकारको स्वास्थ्य सेवा कर गरि ७२ करोडको हाराहारीमा मात्रै आम्दानी रहेको पनि उनले बताए ।

एक सय शैया हुँदा आर्थिक वर्ष २०६९/०७० मा संघीय सरकारले स्वास्थ्य कर कोषबाट विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई २९ करोड ३२ लाख रुपियाँ विनियोजित गरिएको थियो ।

सोही वर्षदेखि सरकारले सय शैयाबाट बढाएर अस्पतालको उपचार क्षमता ४ सय ५० शैयाको पुर्‍याएको छ । तर, वार्षिक बजेटमा भने स्वास्थ्य सेवा करको बजेट घट्दै गएर अघिल्लो आर्थिक वर्षमा २३ करोड मात्रै अस्पतालले स्वास्थ्य सेवा करबाट बजेट प्राप्त गरेको हो ।

उपचारमा आउने बिरामी संख्या हरेक वर्ष डेढ लाख बढी हुने गरेको र नयाँ बिरामीको संख्या पनि थपिदै गएको अवस्थामा अस्पतालले नियमित उपचार बाहेकको अन्य क्यान्सर प्रवद्र्धन गर्ने कार्यक्रम गर्न नसकेको पनि डाक्टर पौडेलले बताए ।

उनका अनुसार विद्यालय र समुदायमा क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत ७ वटै प्रदेशका ४५ जिल्लामा जिल्ला समन्वय समिति गठन गरी सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएकोमा अहिले उक्त कार्यक्रम स्थगित भएको छ । ५० वटा विद्यालयमा सञ्चालन भएपनि बजेट अभावले उक्त कार्यक्रम विस्तार गर्न सकिएको छैन ।

अस्पतालले न्यूक्लियर मेडिसिन तर्फ राष्ट्रिय गौरवको रूपमा रहेको साईक्लोट्रोन सहितको पेट सी.टी. स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्ने योजना बनाएपनि नेपाल सरकारबाट बजेट सुनिश्चिता प्राप्त हुन नसक्दा उक्त कार्यक्रम पनि अघि बढ्न सकेको छैन ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २०५७ सालदेखि औपचारिक रुपमा सेवा दिन थालेको हो । त्यसयता क्यान्सर रोगको पहिचान, उपचार, निदान तथा अनुसन्धानमा काम गरिरहेको छ । हाल अस्पतालमा स्थायी, करार, ज्यालादारी र ठेक्का गरि ८ सय २१ जना कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ । भने, हरेक वर्ष करिब ७ हजार हाराहारीमा नयाँ क्यान्सरका बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर