बैंक तथा वित्तीय संस्थाको ऋण असुलीमा समस्या, १० वर्ष यताकै उच्च खराब कर्जा – Nepal Press

बैंक तथा वित्तीय संस्थाको ऋण असुलीमा समस्या, १० वर्ष यताकै उच्च खराब कर्जा

काठमाडौँ । बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी) को कर्जा असुलीमा निकै समस्या देखिएको छ । यसको पुष्टि केन्द्रीय बैंकको तथ्यांकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको हालको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । जुन १० वर्षकै उच्च हो । २०७१ असारमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.७६ प्रतिशत थियो ।

त्यसपछि कहिले बढ्ने कहिले घट्ने भए पनि अहिलेको जति खराब कर्जा नपुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७१ असार यताको सबैभन्दा कम खराब कर्जा २०७९ असारमा थियो ।

त्यतिबेला औसत खराब कर्जा १.३१ प्रतिशत थियो । कोरोना महामारीको असर अहिले देखा परेको छ । आर्थिक गतिविधि सुस्त छ जसका कारण व्यापार व्यवसायले गति लिन सकेका छैनन् ।

आर्थिक शिथिलता कायम रहेसँगै बैंकहरुको ऋण उठ्तीमा समस्या परेको छ । विशेष गरी कोरोना महामारीले प्रभावित व्यापार व्यवसायका लागि केन्द्रीय बैंकले लचक नीति लिँदा खराब कर्जा झनै बढेको विश्लेषकहरू बताउँछन् ।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्था विरुद्ध फैलिएको ऋण नतिर्ने ह्विमका कारण कतिपय तिर्न सक्ने क्षमता भएकाहरू पनि पर्ख र हेरको अवस्थामा बसे । जसका कारण बैंक तथा वित्तीय संस्था खराब कर्जाको भुमरीमा परे ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८० चैतसम्म समग्रमा वाणिज्य बैंकको एनपीएल ३.८९, विकास बैंकको ३.६३ र फाइनान्सको १०.४० प्रतिशत पुगेको छ । बैंकहरुले गरेको लगानी समयमै नउठ्दा खराब कर्जाको दर उकालो लागिरहेको छ । पछिल्लो समय बैंकहरु अधिक तरलताको समस्याबाट गुज्रिरहेका छन् ।

साथसाथै खराब कर्जा पनि बैंक तथा वित्तीय संस्थाको लागि टाउको दुखाइ बनेको छ । खराब कर्जा बढेपछि आम्दानीको मोटो रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । तर बैङ्किङ विज्ञहरू नै देखाउने खराब कर्जा यो भए पनि वास्तविक खराब कर्जा यो भन्दा निकै बढी रहेको बताउँदै आएका छन् ।

तर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको हालको खराब कर्जामा आत्तिनुपर्ने अवस्था नरहेको तर बैंकहरु संयमित हुनुपर्ने बेला भने भएको बताउँदै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाले कुनै निश्चित समय तोकेर ऋणीलाई दिएको कर्जा समयमै उठेन भने त्यस्तो कर्जा खराब कर्जामा दर्ज हुन्छ । यसलाई नन परफर्मिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ । ऋणीले तोकिएको मितिले ३ महिनासम्म पनि ऋण भुक्तान नगरे त्यस्तो ऋण खराब कर्जा हुन्छ ।

कतिपय अवस्थामा बैंकहरुले धितो लिलाम गरेर पनि ऋण उठाउने गरेका छन् । सामान्यतया बैङ्किङ क्षेत्रमा ५ प्रतिशत भन्दा बढी खराब कर्जा हुनुलाई वित्तीय अवस्था ठिक नभएको मानिन्छ ।

वास्तवमा खराब कर्जा बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्त्वपूर्ण औजार पनि हो । खराब कर्जाले बैंकको वित्तीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले लगानीकर्ताका लागि पनि यो सूचक झनै महत्त्वपूर्ण र चासोको विषय हुन जान्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *