सुशासन र विद्युतीय शासन प्रवर्द्धन र सदाचार परिपालनामा सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री शर्मा (भिडिओ) – Nepal Press

सुशासन र विद्युतीय शासन प्रवर्द्धन र सदाचार परिपालनामा सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री शर्मा (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवम् सदाचारको परिपालनामा प्रतिबद्ध रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटका सन्दर्भमा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालयसम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिको लागि एकीकृत कार्ययोजना तयार कार्यान्वयनमा ल्याउने समेत बताइन् ।

उनले प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्ने गरी मिडिया काउन्सिल विधयेक र सार्वजनिक सेवा प्रसारण विधेयक सम्मानित संसदमा छलफलको क्रममा रहेको र राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको जानकारी दिइन् ।

त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लैजान विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको उनले बताइन् । उनले नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउन आगामी आ.व.लाई प्रारम्भ बर्षको रूपमा लिई आवश्यक तयारी थालनी गर्ने जिकिर गरिन् ।

सूचना प्रविधि क्षेत्रमा आगामी दश वर्षमा ३० खर्बको निर्यात र १० लाखको रोजगारी सिर्जना हुनेमा विश्वस्त रहेको उनले बताइन् । उनले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाई प्रभावकारी सेवा प्रवाहको लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा सबै संघीय मन्त्रालय र लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरू आबद्ध भएको उल्लेख गरिन् ।

साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताइन् । त्यस्तै, उनले साइबर सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भैरहेको जानकारी दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर