विदेशिएका श्रीमानलाई फर्काएर यसरी बनाइन् नमुना उद्योग – Nepal Press
महिला उद्यमी अन्जु थापाको सफलताको कथाः

विदेशिएका श्रीमानलाई फर्काएर यसरी बनाइन् नमुना उद्योग

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ सरस्वती टोलीकी अञ्जु थापा अहिले नाम चलेकी महिला उद्यमी हुन् । महिनाबारी हुँदा पुनःप्रयोग गर्ने प्याड बनाएर चर्चामा आएकी थापा उत्कृष्ट उद्यमी बनेर पुरस्कृत भएकी छन् । आफ्नै समस्या समाधानका लागि काम सिक्दै जाँदा उद्यमी भएकी हुन् उनी ।

‘महिला भएपछि महिनावारी सामान्य कुरा हो । महिनावारी भएको बेलामा बजारमा रहेका विभिन्न प्लाष्टिकजन्य प्याडको प्रयोगबाट मलाई एलर्जी भयो । बजारका प्लाष्टिकजन्य प्याड प्रयोग गर्न नसक्ने भएपछि मैले आफ्नो लागि नै विकल्प खोजेँ, अव आफ्नो लागि कपडाको प्याड बनाउँछु भनेर थालेकी हुँ । ’ थापाले भनिन् ।

सोही सोचअनुसार पहिला आफ्नो लागि बनाएको अन्जु थापाको उद्यम अहिले सबैको रोजाई बनेको छ । ‘आफ्नैबाट सुरुवात भएको मेरो प्याड अहिले उद्योगको रुपमा रहेको छ, यसैमा खुसी लागेको छ’ उनले भनिन् । प्याडको लागि सामान्य कटन कपडा नभई विशेष खालको कपडा प्रयोग गरिन्छ । जसले मासिक श्राव सोस्ने र बाहिर चुहिनबाट रोक्छ भने भित्रपट्टी राखिने माइक्रो फाइबरले रगत सोस्ने मात्र नभएर छिटो सुकाउने काम पनि गर्छ ।

प्याडका लागि भारत र चीनबाट विशेष खालको कपडा ल्याउने र प्याड बनाउने गरेको अन्जुको भनाइ छ । आफैँले कपडा काट्ने र सिलाउने गरे पनि बजारीकरणका लागि भने उनलाई श्रीमान् प्रकाशले सघाउँछन् ।

बजारमा किनेको प्याड प्रयोग गर्दा थापालाई सधै एलर्जी भयो । यसबाट बच्न बजारमा पाइने अनेक ब्राण्डका प्याडको प्रयोग गरेपनि केही समाधान भएन । समस्या बढ्दै गएपछि प्याडमाथि सुतीको कपडा प्रयोग गर्न थालिन् । तर कपडाबाट आउने भुवाले उल्टै असर गर्यो । यो विषय डक्टरलाई सुनाउँदा कपडाको प्याड प्रयोग सुझाव आएपछि यो समस्या श्रीमान् प्रकाश जिसीलाई बताइन् ।

त्यो बेला प्रकाश वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा थिए । श्रीमानले पठाएका कटन प्याडको प्रयोगले उनलाई सहज भयो । यो विषय अन्जुले अरुलाई पनि हुनसक्ने भन्दै सेनिटरी प्याड बनाउने योजना सोचेकी हुन् । उद्योगबारे कुनै ज्ञान नभएकी थापालाई सबै काम सिक्दै जानुपर्ने थियो ।

साउदी रहेका श्रीमानले यसको लागि आवश्यक वस्तुहरु उताबाट पठाउन थाले उनले यहाँ बनाउँदै गइन् । करिब १३ हजारको लगानीमा ०७६ बैशाख ८ गतेदेखि थापाले पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउन थालेकी हुन् । व्यवस्थापन पढेर पहिले बैंकमा जागिर गर्ने अन्जुले बच्चा जन्मेपछि छाडेर बसेकी थिइन् ।

१४ वर्ष रोजगारीको लागि साउदी बसेका प्रकाश, अन्जुले प्याड उत्पादन शुरु गरेपछि यतै बस्न थालेका हुन् ।

‘२०७६ साल बैशाख ८ गते मैले उद्योग सुरुवात गरेकी हुँ । आफ्नो घरमा रहेको सानो जग्गामा उद्योग स्थापना गरेर सुरुवात भएको उद्योगको सुरुवात लागत जम्मा १३ हजार रुपैयाँबाट गरेकी हुँ’ थापाले भनिन् ।

अहिले उनैले सुरुवात गरेको ‘अन्जु रि युजेबल’ प्याडले बजार लिएको छ । सुरुवातमा हातले चलाउने मेसिनबाट प्याडमा प्रयोग हुने कपडा ल्याएर सुरुवात भएकोका अहिले उद्योगको रुप लिएको हो । अहिले विद्युत्बाट चल्ने मेसिनबाट पूर्णरुपमा हाइजिन मेन्टेन गरी पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गरी बिक्री वितरण गर्दै आएको उनको भनाइ छ ।

श्रीमान् र अन्जु मिलेर यो उद्योग चलाइरहेका छन् । खासगरी बजारमा पाइने विभिन्न प्रकृतिका प्याडहरुको प्लाष्टिकजन्य वस्तुबाट बनेको कारण वातावरणसमेत प्रदूषण हुने, प्रयोगकर्ता महिलाहरुको लागि लागत समेत बढी हुने भएको कारण यो मोडलको प्याड बजारमा ल्याइएको हो । यो एकपटक किनेपछि पुनः धोएर ३ वर्षसम्म प्रयोग गर्न मिल्ने गरी बजारमा ल्याएको उनको भनाइ छ ।

बजारमा आएको पुनः प्रयोग गर्न मिल्ने प्याड जम्मा २ सय ५० रुपैयाँ पर्दछ । अहिले नेपालभर बिक्री भैरहेको यसमा प्याडमा प्रयोग हुने पूर्ण हाइजेनिक कपडाको प्रयोग हुँदै आएको उनले बताइन् ।

‘महिलाको स्वास्थ्य बढी संवेदनशील भएको कारण हामीले यसमा कुनै पनि प्रकृतिको त्रुटि गरेका हुँदैनौं । हाम्रो उत्पादन एक पटकमा २ सय ५० रुपैयाँमा किनेपछि ३ वर्षसम्म किन्नुपरेन, अन्य बजारमा भएको भन्दा यो पूर्ण सुरक्षित र प्लाष्टिकरहित पनि छ ।’ अन्जुले भनिन्–‘हाम्रो उद्योगबाट अहिले दैनिक ३०० पिस प्याड उत्पादन हुँदै आएको छ । २ जना हामी श्रीमान् श्रीमती, ३ जना अन्य कमदार र एक जना कटिङ्गको बेलामा आउनुहुन्छ ।’

अन्जुले आगामी दिनमा प्याडसमेत एट्याज भएको पेन्टी बजारमा ल्याउन लागेको बताइन् । यसमा महिला महिनावारी भएको बेलामा प्याड र पेन्टी अलग, अलग लाउनुपर्ने हुँदैन । यसलाई उनले महिनावारी पेन्टी नामकारण गरेकी छन् जुन निकट भविश्यमा उत्पादन हुँदैछ ।
उनको उद्योगमा अहिले २५ देखि ३० लाख जति लगानी भएको छ । केही दिनअघि तिलोत्तमा नगरपालिकाले दिने उत्कृष्ट उद्यमीको १ लाख पुरस्कार जितेकी थिइन् उनले ।

तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम द्रुतिकरण कार्यक्रममा उनलाई उत्कृष्ट उद्यमकीको रूपमा सम्मान गरिएको हो । दायित्वले तिलोत्तमा नगरपालिका संगको सहकार्यमा चौथो संस्करणमा ८० महिलाहरूबाट २०–२० महिला उद्यमीबाट सबल १० महिला उद्यमी चयन गरेको थियो ।

अन्तर्गत महिला उद्यमीहरूलाई विभिन्न विधामा सक्षमिकरण गर्दै व्यवसायिक योजना, वित्तीय पहुँच, बजारीकरण, प्राविधिक साझेदारी र उद्यम बृद्धिका लागि महत्वपूर्ण आयामहरूमा काम गर्दै छनोट भएका ९ महिला उद्यमीले उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम प्रस्तुत गरेका थिए । जसबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको हो ।

प्याड उत्पादन सुरु गर्दाका सुरुवाती समयमा प्याड बिक्रीका लागि अन्जुलाई गाह्रो भएपनि अहिले बजारको कुनै समस्या छैन । उनले उत्पादन गरेको प्याड अहिले अनलाइन र विभिन्न पसलहरूबाट बिक्री हुने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर