माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब – Nepal Press

माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सत्ता केन्द्रित हुँदा युवा नेताहरूले आगामी निर्वाचनमा एक्लै लड्ने योजनाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा युवा नेताहरूले पार्टीलाई एक्लै चुनाव लड्नेगरी तयार गर्नुपर्ने दबाब बढाएका हुन् ।

कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको शक्ति निरन्तर ओरालो यात्रामा छ । प्रतिनिधिसभामा अहिले माओवादीका ३२ जनामात्रै सांसद छन् । ०६४ सालको निर्वाचनमा एक्लै लडेर माओवादीले ६०१ मध्ये २२९ सीट जितेर पहिलो दल बनेको थियो । त्यसयता माओवादीको निरन्तर ओरालो यात्रा छ । ०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी पहिलोबाट तेस्रोमा हुत्तिएर ८० सीटमा रोकियो । त्यसपछि माओवादी एक्लै चुनाव लडेको छैन ।

जनमत ओरालो लागेपछि प्रचण्डले आगामी निर्वाचनमा पनि एक्लै चुनावमा नजाने संकेत देखाइरहेको बेला आन्तरिकरूपमा एक्लै चुनाव लड्ने घोषणा गरेर जानुपर्ने दबाब बढ्न थालेको छ ।

०७४ सालमा एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुगेको माओवादी ०७९ को निर्वाचनमा आइपुग्दा कांग्रेससँग मिल्न पुगेको थियो । तर, माओवादीले कांग्रेससँगको चुनावी गठबन्धन कम्फर्टेबल नभएको निष्कर्ष निकालेको छ । नेकपाको अभ्यास विफल भएपछि एमालेसँग पुन: सत्ता सहकार्य भएपनि यो लामो टिक्नेमा आशंका बढ्दो छ ।

पार्टी सरकारमा भए पनि जनमत खुम्चदै गएको र एक्लै चुनाव लड्न नसक्ने अवस्थमा पुगिसकेको नेताहरू नै स्वीकार्छन् । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने महासमिति बैठकबाट पारित गरेपछि माओवादीले एमालेसँग सहकार्य थालेको थियो ।

चुनाव आउन अझै तीन वर्ष बाँकी भएपनि शक्ति परीक्षण गर्न भए पनि एक्लै चुनावमा जानुपर्ने मत अहिलेदेखि माओवादीमा धेरै छ । प्रचण्ड र नारायणकाजी सत्तामै लुटपुदिँदा एमाले, रवि लामिछाने नेतृत्वको रास्वपासहित अधिकांश दलहरू मिसन ०८४ को अभियानमा होमिएका छन् । तर, माओवादीलाई मिसन ०८४ को अभियानले छोएको छैन ।

माओवादी चुनाव केन्द्रित मात्रै काम गर्ने पार्टी नभएकाले कुनै अभियान नथालेको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद युवराज चौलागाईं बताउँछन् ।

उनले भने, ‘चुनावबाहेक वैचारिक, राजनीतिक र समाज सेवाका कामहरू नियमित रुपमा हुने गरेका छन्। चुनाव नियमित प्रक्रिया भएकाले अरुले जस्तो मिसन ०८४ भनेर छुट्टै कार्यक्रम बनाएका छैनौं। बनाउँदैनौं पनि। हामी काम गरेर जनताको मन जित्ने हो ।’

माओवादी आफ्नै खुट्टामा उभिएर यहाँसम्म आएको जिकिर गर्दै एक्लै चुनाव लड्नुपर्नेमा उनले जोड दिए ।

नेता चौलागाईंले थपे, ‘परिस्थितिले कहिलेकाहीँ गठबन्धन बन्ने परिस्थिति पनि बन्यो । कुनै पनि दलहरूले गठबन्धन गर्दा एउटा दलले मात्रै निर्णय गर्ने होइन । यसअघिको गठबन्धन चुनावीमात्रै थिएन, आन्दोलनको मोर्चाबाट बनेको भएकाले चुनावपछि पनि केही समय रह्यो । गठबन्धनको मात्रै भरोसामा छैन । आफ्नै खुट्टामा टेकेर जानुपर्छ भन्नेमा छौं । तर, त्यतिबेलाको परिस्थितीले के माग गर्छ ? त्यही अनुसार पार्टी अगाडि बढ्छ ।’

यो पनि पढ्नुहोस् : चुनावी गठबन्धन रणनीतिक हुन्छन्, अहिल्यै कसैसँग मिल्ने नमिल्ने माओवादीले घोषणा गर्दैन : देव गुरुङ

केन्द्रदेखि सबै प्रदेशको सरकारमा माओवादी भएकाले जनसरोकारका काम गरेर निर्वाचनको आधार तयार पार्ने उनको भनाई छ ।

उनले थपे, ‘सरकारमा बसेर काम गरेपछि जनताले स्वत हामीलाई अगाडि बढाउँछन् भन्ने हाम्रो विश्वास हो । निर्वाचन केन्द्रित गतिविधि गर्नु भनेको चाहिँ राजनीतिक फण्डामात्रै हो । पार्टीहरूले आफूले भनेको कामहरू इमान्दारीपूर्वक गर्‍यो भने निर्वाचन कुनैपनि बेला हुनसक्छ । कुनै पनि बेला पार्टीले उत्कृष्ट साविक गर्नेगरी तयार हुनुपर्छ ।’

उनले आगामी निर्वाचनअघि माओवादी र एमाले बीच पार्टी एकता पनि हुनसक्ने औंल्याए ।

नेता चौलागाईँले भने, ‘चुनावअघि पार्टी एकता हुनसक्छ । नभए हामी एक्लाएक्लै लड्छौं । तर, चुनावी गठबन्धन मात्रै हुने सम्भावना छैन । त्यसैले के हुन्छ अहिले भन्न सकिँदैन । एकता नभए एक्लै लड्नुपर्छ चुनाव जित्न सकिएन भने फेरि धुलो टकटक्याएर उठेर आउनुपर्छ ।’

अर्का केन्द्रीय सदस्य रञ्जित तामाङले पनि विधान अधिवेशनपछि सबै आधारभूत कमिटीहरूको बैठक भेला र सम्मेलनको काम भइरहेको बताए ।

उनले भने, ‘वडा र पालिका सम्मेलन गरिरहेका छौं । अहिले आ-आफ्नो क्षेत्रमा खटिएका छौं । संगठन सुदृढीकरण अभियान भनेर चलाइरहेका छौं । पार्टी पुनर्गठनको काम चलिरहेको छ ।’

माओवादी कहिले एउटा चुनावमा एउटासँग अर्कोमा अर्कोसँग सहकार्य गर्दा आम जनता र कार्यकर्तामा पनि राम्रो छाप नभएको उनको बुझाइ छ ।

नेता तामाङले थपे, ‘लोकतन्त्रमा पनि सुन्दर अभ्यास हुन सकेको छैन । माओवादी आफ्नै शक्तिमा उभिनुपर्छ भनेर लागेको छौं। त्यसको लागि विचार, एजेण्डा र मुद्दा मिल्नेहरूसँग सहकार्यको वातावरण बनानुपर्छ भनेर लागेका छौं ।’

समाजवादी मोर्चालाई चुनावसम्म लगेर त्रिपक्षी प्रतिस्पर्धा हुनसक्ने उनको विश्लेषण छ ।

तामाङ भन्छन्, ‘केही कार्यकर्ताले वाम गठबन्धन बनाएर पुरानै नेकपा ब्यूँताउनुपर्छ भनिराख्नुभएको छ । तर, धेरैले चाहिँ आफ्नै तयारी गर्नुपर्छ भनिराख्नुभएको छ । त्यो तयारी गर्नको लागि पार्टी जसरी लागेको छ त्यो पर्याप्त छैन भन्ने गुनासो आएको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलाउने ट्रायल असफल भयो । एजेण्डा र मुद्दा, नेतृत्वको कार्यशैली नमिल्दा, त्यसैले समाजवाद नै भन्नेहरूको सहकार्य कामकाजी हुन्छ कि भन्ने छ ।’

नेकपा व्यूँतिने सम्भावना नरहेको भन्दै उनले भने, ‘दुवै नेतृत्वले समीक्षा गरेर चुनावी तालमेल हुनसक्छ । वाम गठबन्धन भएर भने समाजवादी मोर्चाको एउटा, प्रतिनिधिसभाको पहिलो र दोस्रो गरेर त्रिपक्षीय प्रतिस्पर्धा हुनसक्छ ।’

युवाहरूले चुनावमा एक्लै जाने निर्णय गरेर जानुपर्ने पार्टी नेतृत्वमा दबाब बढाएपछि महासचिव देव गुरुङ त्यो घोषणा गर्न अहिले हतारो हुने बताउँछन् ।

उनी भन्छन्, ‘चुनाव हुने भनेको २०८४ सालमा हो । अहिले बल्ल २०८१ त भएको छ । चुनाव त कार्यनीतिक विषय हो, २४ घण्टाभित्र उल्टापाल्टी जे पनि हुनसक्ने विषय हो । त्यसैले चुनावको बारेमा रणनीतिक ढंगले निर्णय हुन्छन् । सिद्धान्त, उद्देश्यसहित मेजर विषयमा चाहिँ दीर्घकालीन ढंगले कुराकानी हुन्छन् । त्यहीअनुसार पार्टीले कार्यदिशा तयार गरेर अगाडि बढ्छ ।’

चुनाव, सरकार र सदनलगायतको विषयमा त २४ घण्टाभित्रै निर्णय फेरिनसक्ने उनको भनाइ छ ।

गुरुङ थप्छन्, ‘चुनाव कार्यनीतिक विषय हुने भएकाले यस्ता विषयमा रणनीतिक ढंगले अहिले योसँग गठबन्धन गर्ने, योसँग नगर्ने भन्ने हुँदैन । त्यो त के हुन्छ, त्यही बेलामा नै निर्णय गर्ने हो नि ! कुनै उद्देश्य नहुनेहरूले मिसन ०८४ भनेका हुन्। कम्युनिष्ट पार्टीमा त्यस्तो हुँदैन ।’

चुनाव कार्यनीतिक विषय भएकाले कहिले एक्लै कहिले संयुक्त लड्नुपर्ने परिस्थिति आउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर