बुटवलको डेल्टा कम्प्लेक्समा आगलागीबाट ५० करोडको क्षति भएको संचालकको दावी – Nepal Press

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागीबाट ५० करोडको क्षति भएको संचालकको दावी

रूपन्देही । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स विहीबार राति भएको आगलागीबाट ५० करोड बराबरको क्षति भएको संचालकले दावी गरेका छन् ।

बिहीवार साँझ साढे ५ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर निभाउन सफल भए पनि सबै सामान तथा भवन भने जलेर नष्ट भएका छन् ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागी भएको करिब ८ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट संचालनमा थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पूर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन् । पण्डितका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स भने पुर्ण रुपमा ध्वस्त भएको छ ।

आगलागीपछि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १५ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए ।

फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडान गरी निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तिनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुई वर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको थियो ।

कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सयभन्दा बढीले रोजगारी पाएका थिए । आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसकेपनि ५० करोडभन्दा बढीको क्षति भएको डेल्टा कमप्लेक्सका संचालक चोलाप्रसाद पाठकले दावी गरेका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलनका लागि शुक्रबार विहान सञ्चालक समितिहरुको बैठक बसेको पाठकले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर